शो नपाएर गुनासो गरिरहने नेपाली चलचित्रले हलहरूमा जब दबदबा देखाउन थाले

शो नपाएर गुनासो गरिरहने नेपाली चलचित्रले हलहरूमा जब दबदबा देखाउन थाले

काठमाडौं : गत दशैंदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन्। बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दशैंदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाए। अहिले चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा देखिएको छ। 

गत तिहारलाई लक्षित गर्दै कात्तिक १५ देखि प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले कीर्तिमानी व्यापार गरिरहेको छ। निर्माण पक्षले दाबी गरेअनुसार यसले घरेलु बजारमा ४० करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरिसकेको छ। विदेशमा पनि यसले व्यापारमा कीर्तिमान बनाइरहेको छ। 

गत कात्तिक ३० देखि प्रदर्शनरत चलचित्र ‘ह्रस्व दीर्घ’ले पनि आफ्नो लगानी सुरक्षित गरेको निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाको दाबी छ। 

'नेपाल प्रदर्शन, विदेशी प्रदर्शन अधिकार, ओटिटी प्रदर्शन अधिकारबाट लगानी सुरक्षित गर्न सफल भएका छौं। भारतको ओटिटी प्लेटफर्ममा महङ्गो मूल्यमा बिक्री गरेका छौं। तेलुगु भाषामा हामी भारतका चलचित्र भवनमा नै प्रदर्शन गर्दैछौं। यसकारणले हाम्रो लगानी सुरक्षित भएको घोषणा गरेका हौं, उनले भनिन्। 

त्यस्तै, चलचित्र ‘तेल भिसा’ले पनि सुरूआती समयमा राम्रो व्यापार गरिरहेको वितरक करण श्रेष्ठले सुनाए। चलचित्रमा अभिनेता विपिन कार्की, ऋचा घिमिरे, पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरूको अभिनय छ। 

अभिनेता रमेश उप्रेतीले पछिल्लो समय बनिरहेका चलचित्रले नेपाली विषय र कथालाई उठान गरेका कारण दर्शकको रोजाइमा परिरहेको बताए। 

'पछिल्लो समय मैले हेरेका नेपाली चलचित्र निकै राम्रो बनेका छन्। नेपाली माटो सुहाउँदो कथा र प्रस्तुतीकरण भएका कारण दर्शक चलचित्रको विषय र पात्रसँग जोडिएको हुन सक्छन्। यी चलचित्र हेर्दा दर्शक सन्तुष्ट भएकै कारण एकपछि अर्को नेपाली चलचित्रले राम्रो व्यापार समेत गरिरहेको छ, उनले भने। 

आज नेपाली चलचित्र हेर्न दर्शकको उपस्थिति विदेशी चलचित्रको तुलनामा बढी देखिएको छ। दशैंअगाडि पर्याप्त शो नपाएको कारण देखाउँदै चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माण समूहले प्रदर्शन स्थगित गरेका थिए। तर, अहिले चलचित्र भवनमा व्यापारको हिसाबले पनि विदेशीभन्दा नेपाली चलचित्र निकै अगाडि देखिएका छन्।  

मंसिर ८, २०८१ शनिबार २१:३५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।