घरबाट निस्किँदा पुरूष, अफिस पुगेपछि महिलाको पहिरन
काठमाडौं : कुनै बेलाका ‘अनुज’ अर्थात् ‘अशोक राई’ ‘पीटर’ मा रूपान्तरित हुँदाको कथा निकै रोचक छ। उनको नागरिकतामा नाम अनुज थियो, घरमा बोलाउने नाम अशोक। तर, हिजोआज उनी पीटर राईबाट चर्चित छन्। पहिचानको लडाईका क्रममा उनको नाम बदलिएको छ। उनी हुन् ट्रान्सजेन्डर महिला। जन्म पुरूष तर, अहिले महिलाको स्वरूप, घर परिवार र समाजसँग नभएर सुरुदेखि आफैंसँग जुधेर आफ्नो पहिचान बदलेका छन्।
छोराको अंग लिएर जन्मिए पनि स्वभाव र हाउभाउ छोरीको जस्तो भएकाले उनी सानैबाट परिवारमा फरक नै थिए। खोटाङमा जन्मिएर काठमाडौंमा उच्च शिक्षा अध्ययनका क्रममा उनले लैङ्गिक पहिचान बदल्न निकै ठूलो संघर्ष गर्नुपर्यो।
‘म परिवारको जेठो सन्तान, जन्मिँदा छोराको अंग लिएर जन्मिए पनि आफूलाई सानैदेखि छोरीको स्वभावमा उतार्थें, फुटबल भन्दा भाँडाकुटी खेल्ने रहर, छोरीकै पहिरन मन पराउने, बाल्यकाल अलिअलि याद छ,’ ३७ वर्षअघिको आफ्नो बाल्यावस्था सम्झँदै अहिले आफूलाई पीटर भन्न रुचाउने उनले सुनाइन्, ‘टीनएज हुँदै गएपछि फुपूहरू मलाई अशोक धेरै केटीसँग संगत गरेर केटी जस्तै भयो भन्नुहुन्थ्यो।’
उनले अघि भनिन्, ‘जब बाल्यकालबाट म टीनएजमा लागें, सायद ११ वर्ष जतिको थिएँ होला, अरू केटाहरू देख्दा जिउ सिरिङ्ग हुन्थ्यो, त्यसरी नै बाल्यकाल बित्यो।’
काठमाडौंको धुम्बाराहीमा रहेको नीलहिरा समाजको केन्द्रीय कार्यालयमा भेटिएका उनले २०२१ मा मात्रै आफूले आफू के हुँ भन्ने जानकारी पाएको बताइन्।
‘अहिले म यो स्वरुपमा छु, यसै आज पीटर बनेको होइन, अंग एउटा तर चाहना अर्को हुँदा पहिले त आफैंसँग लडें। त्यसपछि समाज र परिवारसँग। धेरै समय म को हुँ भन्ने मलाई नै थाहा भएन, यहाँ (नीलहिरा समाज २०१२ तिर) आएपछि मात्रै म को हुँ भन्ने थाहा पाएँ, आफ्नो अंग र चाहनाको वास्तविकता बुझेँ,’ उनले सुनाइन्।
शिक्षित परिवारमा जन्मिएका त्यसबेलाका अनुजको स्कूले नाम अनुज राई र घरको नाम अशोक थियो। घरमा अशोक भनेर बोलाउने, स्कूलमा उनका साथीहरू पनि उनलाई कहिले अनुज त कहिले अशोक भन्ने गर्थे। फुपू र बहिनीहरूका बीचमा हुर्किएका उनलाई स्कूलमा आफ्नै बाबा ममीसमेत पढाउने भएकाले असहज भएन।
‘स्कूलमा बाबा प्रिन्सिपल र ममी पनि स्कुल पढाउने भएकाले मलाई सानोमा त असहज भएन, साथीभाइहरूले मलाई हेप्नै सक्दैनथे, हेड सरको छोरा म,’ उनले भनिन्।
प्लसटु सकेपछि त्यतिबेलाका अनुजलाई परिवारले काठमाडौंमा पढाउने निधो गर्यो। आफू भन्दा कान्छी बहिनी र भाइहरूकोसमेत रेखदेख उनको काँधमा आयो। काठमाडौंमा उनी अभिभावकीय जिम्मेवारीमा बाँधिए।
‘मलाई घरमा पनि विभेद थिएन, हामी एकदमै नियममा हुर्किएका थियौं, स्कुल जानेदेखि, खाना खाने र बेलुकी टीभी हेर्नसम्म रुल्स थियो’ उनले भनिन्, ‘बाबा शिक्षक भएकाले एउटै मात्रै कन्सेप्ट थियो पढ्नु पर्छ, मलाई स्कूल सकिएपछि बाबा ममीले स्नातक पढाउन काठमाडौं राख्नुभयो, मेरो जिम्मेवारी त्यसपछि थपियो।’
त्यतिबेलासम्म अहिलेकी पीटर अनुज नै थिए । काठमाडौंमा कलेज जीवन थियो। त्यसबेलाका अनुज कलेज र बानेश्वरको डेरा आउजाउ गर्न थाले। कलेजमा साथी बने। साथीका साथीहरूसँग पनि चिनजान भयो।
उनले अगाडि भनिन्, ‘त्यो बेला कलेजमा सबैका ब्वाइफ्रेण्ड थिए, म चाहिँ केटा भएर केटा नै मन पराउन थालें, मलाई त्यस बेलादेखि केटाहरूप्रति आकर्षण बढ्दै गएको थियो, स्वभाव महिलाको जस्तो भए पनि त्यो बेला म केटै थिएँ, केटा भएर केटा नै मन पराउन थालेछु।’
काठमाडौं आएपछि उनले बयाच्लर्सको पढाइ सकिन्। उनले भन्दै गइन्, ‘त्यसपछि मैले मास्टर्स पढ्न सुरू गरें, त्यो बेलासम्म पनि मैले म आफूलाई के हुँ भनेर चिन्न पाइन, त्यो समय नै मलाई प्राप्त भएन।’
हाल आफूलाई पीटरको नाम दिएकी उनले आफूलाई पुरुषबाट मनदेखि आएको महिलाको आफ्नो पहिचानमा उतार्न पाइला पाइलामा संघर्ष गर्नु परेको सुनाइन्।
‘जब मेरो बहिनीको विवाह भयो, भाइहरू बाहिर गए, त्यसपछि म एक्लो हुन थालें, त्यो एक्लोपनले मलाई को मनपर्छ? मेरो चाहना के हो? भन्ने थाहा पाउन लागें, मेरो पहिलेदेखि नै फुपू र दिदीहरूसँग संगत थियो, केटाहरू दाजुभाइसँग मेरो संगत भएन नै, उनीहरू मसँग साथीजस्तो पहिले देखि नै थिएनन्,’ उनले सुनाइन्।
त्यसपछि उनलाई आफ्नो पहिचान खोज्नुपर्छ भन्ने लाग्न थाल्यो। समाजसँग कसरी खुल्ने भन्ने उनलाई डर पस्यो। रुप एउटा चाहना अर्कै। चाहना अनुसार आफूलाई कसरी उतार्ने? पीटरलाई चिन्ता बढ्यो। त्यस समय भर्खरै फेसबुक आएको थियो। फेसबुकबारे त्यसबेलासम्मका अनुजलाई जानकारी भयो। आफूलाई केटी बनाउन उनले फेसबुकको सहारा लिए। फेसबुकमा फेक आइडी खोले र साथी बनाएर च्याट सुरू गरे।
‘त्यतिबेला फेसबुकमा फेक आइडी बनाउने चलन धेरै थियो, मिग थ्रीमा ब्याइज लभ ब्वाइज भन्ने ग्रुप पनि हुन्थ्यो, त्यहाँ गएर म बोल्थें, फेक फेसबुक बनाएर बोल्न त्यहीबाट सिकें, म त ब्याचलर पास गरिसकेको मान्छे, मास्टर्स पढ्दै थिएँ, एक जनासँग आफन्तमार्फत विवाहको कुरा आयो,’ उनले दंग पर्दै भनिन्।
घरमा जेठो सन्तानका रुपमा जन्मिएको त्यसबखतको अनुजलाई विवाहको कुरा आउनु पनि अचम्म लागेन। तर विवाह गर्ने कुरामा भने उनको मन नै मानेन।
‘बाहिर रहेका आफन्तमार्फत एउटी महिलासँग इन्गेजमेन्ट गरिदिनुभयो, बाबा ममीले नभनी नै मैले आफन्तकै सल्लाहमा इन्गेजमेन्ट त गरें, तर उनी भएको ठाउँसम्म म आफैं जान सकिन, उनी यता नआउने म उता नजाने भएकाले विवाह रोकियो,’ उनले त्यसबखतको प्रसंग सुनाउँदै भनिन्।
समय फेरिँदै थियो, इन्टरनेटले फड्को मार्दै गयो। अनुजले त्यसबेला चाइनाका एक जना व्यक्ति इन्टरनेटमार्फत नै भेटिन्। ‘पीटर’ नामका ती चाइनिजसँग उनको सम्बन्ध झाँगियो। अनुजको नजिकको साथी ती चाइनिज व्यक्ति पीटर भए।
‘मेरो चाइनाको पीटर भन्ने एक जना साथीसँग चिनजान भयो, उसँग म इन्टरनेटमार्फत एकदमै धेरै बोल्थे, उसँग मेरो लभ नै परे जस्तै भयो, म उसलाई एकदमै मन पराउँथे, उसँग बोल्न कुरा गर्न थालेपछि आफैंलाई के हुन्थ्यो के,’ उनले आफ्नो अनुभवबारे खुलाइन्।
उनले ती चाइनिज पीटरलाई गरेको मायाले कुनै सीमा नै बाँकी राखेन। उनले भनिन्, ‘उ नेपाल नआउने म चाइना जान नसक्ने, उसँग इन्टरनेटबाटै लभ पर्यो, भेट्न पाइन, तर आफ्नो फस्टलभको नाम नै मैले आफ्नो नाम राख्दिएँ, त्यसबेलादेखि म अशोक, अनुजहुँदै पीटर भएँ,’ उनले भनिन्।
समयसँगै पीटरको नील हिरा समाजको हालकी अध्यक्ष पिंकी गुरुङ, समाजकै भुमिका श्रेष्ठ तथा सीमरन शेरचनसँग देखादेख भयो। त्यही दौरान पीटरका एक जना साथीको ‘मिस्टर गे’ भाग लिने कुरा चल्यो। आयोजक ब्लुडायमण्ड सोसाइटी नै थियो। नील हीरा समाजमा इन्टर्न गर्दै गएपछि पीटरले आफूले घरमा आफ्नो वास्तविक पहिचान बुझेको र आफूले प्रष्ट रुपमा परिवारसँग खोलेर कुरा गर्न पटकपटक प्रयास गरेको बताइन्।
‘जब मैले आफू ट्रान्सजेन्डर हुँ भन्ने थाहा भयो, त्यसपछि घरमा भन्ने आँट गरें, पटकपटक कोसिस गरे पनि सकिन, मलाई बाबाममीलाई भन्न एकदमै गाह्रो भयो, त्यसअघि फुपूदिदी र बहिनीलाई भनिसकेको थिएँ, उनीहरुले मलाई बाहिरबाट कपडा पठाउँदा केटीकै कपडा पठाउन थालिसकेका थिए, बाबाममीलाई नभने पनि केटीले नै लगाउने लुगा ल्याइदिन थाल्नुभयो,’ उनले सुनाइन्।
पटकपटक प्रयास गर्दासमेत घरमा भन्न नसकेकी पीटरले यस वर्षको तिहार उनका लागि बाबाममीको अगाडि लक्ष्मी बन्न जुर्यो। बाबाममी घर बाहिरबाट फर्किँदा घरका भित्तामा पीटरले राखेका आफ्नो महिला पहिरनको तस्विरले बाबाममीको मन तानिसकेको रहेछ।
‘राम्री देखिएकी छौं, तिम्रो आइडेन्टीटी देखें’ भन्ने बाबाको वचनले पीटरलाई तिहारबाट बाबाममीका अगाडि छोरी स्वरूपमा खुलायो। उनले लक्ष्मी पूजाका दिन आफूलाई महिलाकै पहिरनमा बाबाममीका अगाडि उभ्याइन्।
‘मलाई ठूलो आँट आयो, छोरी बनेर आर्शीवाद मागेँ, पहिले छोरा भएर जन्मिएको अहिले छोरी भयौ, आँटेको सोचेको पुरा होस् भनेर आर्शीवाद दिनुभयो,’ उनले सुनाइन्।
‘त्यो दिन मेरा लागि विशेष दिन बन्यो, म घरमै पीटर भएँ, छोरी भएँ, ट्रान्सजेन्डर भएँ, मैले मेरो पहिचान पाएँ,’ उनले विजयोत्सवको झल्को दिने गरी सुनाइन्।
पीटरले २०२१ देखि नियमित हर्मोनको सेवन गर्दै आइरहेकी छिन्।
‘आफ्नो स्वरूपलाई परिवर्तन गर्न मैले हरेक दिन हर्मोन लिइरहेको छु, यो नखाए नशाहरू देखिने, अनुहार नरम नहुने हुन्छ, रेगुलर नै खाइरहेको छु,’ उनले भनिन्।
आफूले शरीरमा लगाउन एउटा ‘जेल क्रीम’ पनि प्रयोग गर्ने गरेको भन्दै उनले थपिन्, ‘जेलले फिमेल हर्मोन बनाउन सहयोग गर्छ, बडीमा लगाउने गरेको छु, सर्जरी गर्ने मेरो प्लान छैन, रहर छैन।’
पीटरलाई अहिले बेहुली बन्न रहर लागेको छ। पहिले आफ्नो पहिचानको खोजीको लडाइँमा रहेकी उनलाई अहिले विवाह गर्न मन छ।
‘मलाई बाबाले विवाह गर्ने प्लान के छ भनेर सोध्ने गर्नु हुन्छ, लाइफमा एक्लै होलिउ विचार गर भन्दै आउनु भएको छ, कसैलाई ज्वाइँँ बनाएर लगेँ भने स्वीकार्नु हुन्छ, अहिलेसम्म एक्लै छु, ४० वर्षसम्ममा विवाह गर्छु भन्ने छ, बेहुली बन्ने मन छ,’ उनले रहर खोल्दै भनिन्।
आजको आजै यो समूदायका व्यक्तिले आफूलाई समाजमा खुलाउन नसक्ने उनी बताउँछिन्। पहिले आफूले आफूलाई बुझ्नु पर्ने भन्दै उनले त्यसपछि मात्रै समाज र परिवारमा आफ्नो पहिचानका लागि लड्न सकिने आफ्नो अनुभवले सिकाएको बताइन्।
मंसिर ८, २०८१ शनिबार २०:४१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।