विप्लवको प्रश्न 'ओली सरकार कति दिन टिक्ने हो?'

विप्लवको प्रश्न 'ओली सरकार कति दिन टिक्ने हो?'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालमा परिवर्तन भएपनि क्रान्ति अधुरो भएको बताएका छन्। 

शनिबार पार्टीको ११ औं ऐतिहासिक पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले मजदुर, किसान, नेपालका जनजाति, विद्यार्थीहरूको पक्षमा जति नै लडे पनि जनताले चाहेको जस्तो जीवन नपाएको भन्दै क्रान्ति अधुरो भएको बताए। 

उनले भने, ‘हामी कम्युनिष्टहरू, सच्चा लोकतन्त्रवादीहरू र देशभक्तहरू हौं। हामीसँग देशलाई माया गर्ने मान्छेहरू थिए, दिदीबहिनीको लागि बलिदान दिने, मजदुर किसान, जनजाति, विद्यार्थीहरूको पक्षमा लड्ने हामी नै हो। लडेर इतिहास निर्माण गरेका हौं। ०६४ सालपछि नयाँ जीवन चलाइरहेका छौं। तर, ०६४ पछि नेपालमा सम्झौता भयो, केही परिवर्तन भयो तर नेपाली जनताले चाहेको जस्तो जीवन पाएन क्रान्ति अधुरो भयो।’

उनले नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र राज्यको कल्पना गरेको थियो त्यो पनि पूरा नभएको बताए। 

उनले भने, ‘राज्य जनताको बन्न सकेन। नेपाली जनताको व्यवस्था, कानून बन्न सकेन। नेपालका युवाले देशमा आफ्नो भविष्य नदेख्ने अवस्था भयो। त्यसपछि नेकपा पार्टी बनेको हो। राज्य जनताको बनेन दलाल, भ्रष्टहरुको हातमा गयो। यो पार्टी बन्नु नै एउटा नयाँ क्रान्तिको सुरुवात हो।’ 

हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उनले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताए।

‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो। आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ। जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ। वर्षैपिच्छे सरकार बनेका बनेका छन्। वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन्। यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उनले प्रश्न गरे। 

नेपालमा भ्रष्टाचारको आतंक छाएको पनि उनको भनाइ थियो।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार-चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दै आएको बताए।  

तत्कालीन माओवादीबाट अलग भइ विसं २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो।  

मंसिर ८, २०८१ शनिबार १८:५५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।