चार महिनामा साढे चार खर्ब व्यापार घाटा, भारतसँग मात्रै दुई खर्ब ८१ अर्ब घाटा

चार महिनामा साढे चार खर्ब व्यापार घाटा, भारतसँग मात्रै दुई खर्ब ८१ अर्ब घाटा

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा ब्यहोरेको छ।
    
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख रूपैयाँ बराबरको आयात र ५२ अर्ब ६७ करोड रूपैयाँ बराबरको निर्यात भएको हो। कूल पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाखको वैदेशिक व्यापारमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ। 

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख घाटा ब्यहोरेको छ। कात्तिक मसान्तसम्ममा भारतबाट तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाख बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख बराबरको निर्यात भएको छ। 

त्यस्तै, नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग  एक खर्ब तीन अर्ब १८ करोड २५ लाखको आयात र ६८ करोड २३ लाख ७७ हजारको निर्यात हुँदा एक खर्ब दुई अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ।  

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ। कात्तिक मसान्तसम्ममा २९ अर्ब चार करोड २० लाख बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख बराबरको एलपी ग्यास आयात भएको छ। १५ अर्ब ९६ करोड ९२ लाख बराबरको फलामजन्य वस्तु, १३ अर्ब ४० करोड ४८ लाख बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कबाट देखिन्छ।
    
बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ। चार महिनामा तीन अर्ब ६० करोड आठ लाख बराबरको कार्पेट निर्यात भएको छ। सोयाबिन तेल तीन अर्ब ४१ करोड, चिया दुई अर्ब २१ करोड र अलैंची एक अर्ब ९० करोड बराबरको निर्यात भएको छ। 

मंसिर ८, २०८१ शनिबार १७:४८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।