भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यसका लागि म आफैं महिनामा २ पटक आउँछु : मन्त्री पाण्डे
लुम्बिनी : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सिद्धार्थ उद्योग बाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धतासमेत जनाए।
उनले नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने पनि बताए।
उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने समेत प्रतिबद्धता जनाए।
उनले भने, ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु, संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔं भन्नेमा लागेको छ। मेचीमहाकालीकोबीचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौं।’
उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरू स्थापनाका लागि साउनमै निर्णय भएको बताए। मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसि कार्यान्वयन गरिने उद्घोष पनि गरे।
उनले विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रुपमा गर्नुपर्ने कामहरूलाई सूचीबद्ध गर्ने बताए।
मंसिर ८, २०८१ शनिबार १६:४९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।