भारतमा चिकित्सकले मृत घोषणा गरेका २५ वर्षीय युवक चिताबाट ब्यूँझिएपछि...
एजेन्सी : बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे। अस्पतालले उनको पोस्टमार्टम गरेन।
तर, मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्यूँझिएको चिकित्सा अधिकारीहरूले बताएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास बिरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए। तर, उनको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो।
त्यसपछि परिवारजनले उनको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे।
भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग (मिर्गी) को समस्या देखिएको रहेछ।
अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, 'एक जना चिकित्सकले पोस्टमार्टम नगरी पोस्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ।'
प्रमुख डी सिंहका अनुसार चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरू भएपछि मलामीका रूपमा गएका मानिसहरूले उनी जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगिएको थियो।
रोहितासलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो।
अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन्।
-(रासस/एएफपी)
मंसिर ८, २०८१ शनिबार १६:३२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।