‘ह्रस्व दीर्घ’ असफल बनाउन निताले देखेको षड्यन्त्रका सूत्रहरू
काठमाडौँ : नेपालमा फिल्म चल्न सबै कोणमा ‘बलियै’ हुनुपर्छ भन्ने छैन। यसको सबैभन्दा बलियो उदाहरण ‘१२ गाउँ’ नै हो। अनि फिल्म सबै पक्षमा बलियो हुँदैमा चल्छ भन्ने नि हुन्न। यसको उदाहरण चैँ ‘सानो संसार’ बन्यो।
‘१२ गाउँ’को बलियो पक्ष द्वन्द्व थियो। यो फिल्मको एक तिहाइ भाग न हो। तर कथा, पटकथा, सङ्गीत चौपट। अधिकांश कलाकारको अभिनय मध्यम।
तर समीर भट्टको लडाकु लुक्स अनि द्वन्द्वका दृश्यको बलमा फिल्मले २५ करोड ग्रस कलेक्सन गर्यो। फिल्मको हाइप बढाउन सामाजिक सञ्जालको ट्रोलले पनि साथ दियो।
निर्माताको दबाबमा बक्स अफिसले व्यापार गोप्य राख्न थाल्यो। अब कुन फिल्मले कति व्यापार गरेको हो त्यसमा निर्माताकै दाबीको भर पर्नुको विकल्प छैन अहिले।
निर्माण पक्षले गरेको दाबी अनुसार ‘१२ गाउँ’ले २५ करोड वास्तविक ग्रस कलेक्सन गरेको हो भने निर्माताको हातमा सिधासिधा १० करोड बढी ल्याइदियो।
फिल्मको गुणस्तरका हिसाबले ‘सानो संसार’ बलियो फिल्म थियो। नेपाली फिल्मका अधिकांश दर्शक मध्यम वर्गकै हुन्। यसले यही वर्गको कथा बोकेको थियो।
तर कहिले प्राकृतिक बाढी त कहिले हलमा नयाँ फिल्मको बाढीले यसको व्यापार बगायो। जब फिल्मको माउथ पब्लिसिटी बढ्दै थियो त्यो बेलामा फिल्म हलबाट उत्रिसकेको थियो। बलियो फिल्म हुँदाहुँदै निर्माताको खातामा घाटा चढ्यो।
यी दुई उदाहरणलाई अब दक्षिण भारतीय अब्बल कलाकारहरूको अभिनयसहितको फिल्म ‘ह्रस्व दीर्घ’सँग जोडेर हेरौँ।
‘ह्रस्व दीर्घ’ ‘सानो संसार’ जतिको बलियो हैन तर ‘१२ गाउँ’ जत्तिको फितलो पनि हैन। ‘ह्रस्व दीर्घ’ र ‘१२ गाउँ’ बिचको समानता भनेको यी दुवै फिल्मको मेकिङ थ्यौरी दक्षिण भारतीय फिल्मको प्रभाव नै हो।
‘ह्रस्व दीर्घ’ मा त दक्षिण भारतीय फिल्म नगरीका चर्चित कलाकारहरू नै मुख्य भूमिकामा छन्। ’१२ गाउँ’ मा नेपाली कलाकारै थिए।
तर अभिनय, कथा, पटकथा, सङ्गीत अनि अभिनयका हिसाबले यो ‘१२ गाउँ’ जतिको कमजोर भने हैन। प्रारम्भिक व्यापारमा ‘ह्रस्व दीर्घ’ पनि ‘१२ गाउँ’ हाराहारीमै देखिएको थियो। समस्या निरन्तरतामा देखियो।
नेपालमा दक्षिण भारतीय कलाकारहरूको क्रेज छ। ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका दक्षिण भारतीय कलाकारहरू फिल्मका नियमित नेपाली दर्शकका लागि नयाँ पनि हैनन्।
तर दर्शकले हेर्ने उनीहरूको मुहार मात्र त हैन, अभिनयलाई हो। अभिनय कथामा फिट हुनुपर्छ भन्ने यति महँगो फिल्म निर्माण गर्ने अनि लामो समयदेखि कला क्षेत्रमै सक्रिय निता जत्तिको कलाकार जानकार नहुने कुरै भएन।
हलमा आउँदा धेरै मिहेनत गरेर बनाए पनि फिल्म मध्यमस्तरको देखियो। तर निर्माणपक्षले स्विकार्नै सकेनन्। यस्ता खतरा कलाकारले अभिनय गरेको फिल्म कसरी कमजोर भन्ने मानसिकताले बढी काम गरेको सङ्केत देखियो। नेपालमा छाडौँ, भारतमा पनि ती कलाकारले अभिनय गरेका सबै फिल्म हिट छैनन्।
नकारात्मक भूमिकामा दक्षिण भारतीय अजङका बाघ समानका कलाकारलाई अभिनय गराउँदा ज्यान अनि लुक्सले प्रतिस्पर्धामा म्याच हुने कलाकार छान्न सकेको भए नतिजा अलि फरक हुन सक्थ्यो।
कास्टिङ मार्फत कलाकार चयन गरेको भए कलाकार भेटिन पनि सक्थे। तर हरिहर अधिकारी नै अभिनेता बने। लभर ब्वाय मात्र हैन, खतरनाक भिलियनहरुसँग टक्कर लिने चरित्र चित्रण गरियो। चरित्रमा उनको लुक्स र अभिनय म्याच भएन।
हरिहरको हिरो बन्ने रहर पुरा गर्न ६ करोड दाउमा पक्कै लगाएको हैन नै होला। तर श्रीमती निर्माता अनि श्रीमानले अभिनय गरेको मुख्य भुमिका यति कमजोर हुँदा हिरो हुने रहर पुरा गर्न फिल्म बनाए जस्तै गलत सन्देश त गयो नै।
निर्मातालाई आफ्नो फिल्म बबाल बनेको लाग्नु स्वाभाविक हो। त्यसमा निर्देशक नि थपिन्छन् बेलाबखत। आफ्नो सन्तानको कमजोरी अभिभावकले कमै देख्छन्। वा देखे पनि सार्वजनिक रूपमा मेरो सन्तानमा यो कमजोरी छ भनेर कमै स्विकार्छन्।
निता ढुंगाना अनि हरिहर अधिकारीको हकमा पनि यो फिल्म सन्तान समान बनिदियो।
फिल्म कुन कुन पक्षमा कमजोर भयो, उनीहरू जानकार नहुने त कुरै भएन। कथ्य शैली, मुख्य कलाकारको चयन, कथा अनि पटकथामा भएको कमजोरीले फिल्मलाई मध्यमस्तरको बनाइदियो। तर दुवैले कमजोरी स्विकार्न सकेको देखिएन।
यसको कारण केवल फिल्मको गुणस्तर मात्रै देखिन्न। यसमा पूर्ण बहादुरको सारङ्गीको सुनामी पनि मिसियो नै।
अधिकांश हलका शोज्हरु पूर्णबहादुरले लिइरहँदा रिलिजको हिम्मत गरेको ‘ह्रस्व दीर्घ’ को टिमले त्यो अनुसार फिल्मको हाइप बढाउन सकेनन्।
आफ्नो फिल्मको कमजोरी स्विकार्दै बलियो पक्षबारे प्रचारको साटो अरूलाई दोष दिनमै व्यस्त भए निर्माण पक्ष।
अझ विशेष निता ढुंगाना ‘षड्यन्त्र भो’ भन्दै अरूलाई दोष दिनमै बढी व्यस्त भइन्। हलमा फिल्म हेर्न आउने दर्शकमाथि नै शङ्का गर्दै ‘त्यो किन हलहरूमा देखिइरह्यो’ भन्ने तहको शङ्का सार्वजनिक भए।
निता कहिले हललाई त कहिले टिकटकरलाई दोष दिन केन्द्रित भइन्।फेसबुक पेजको ग्रुपदेखि समीक्षकसम्म कोही छुटेनन् यो ‘षड्यन्त्रको सूत्र’मा।
लामो समयदेखि जारी कटुता फिल्म रिलिज हुनु अगाडिको ‘टक शो’ बाटै समाधान गरेका प्रकाश सुवेदीले नितालाई प्रचारमा राम्रै साथ दिए।
सुवेदीले आफ्नो कार्यक्रममै ‘अब बहिनीको फिल्मलाई साथ दिने’ बताएकै थिए, एक सातामा दुई पटक अन्तर्वार्ता लिएर साथ पनि दिए। फिल्म त खै, तर उनले बहिनी निताको षड्यन्त्रको थ्यौरीको प्रचारलाई भने राम्रै स्थान दिए आफ्नो कार्यक्रममा।
निर्माण पक्षले सार्वजनिक गरेको फिल्मको ग्रस कलेक्सनको आँकडा अनुसार यो फिल्मले एक सातामा पाँच करोडको व्यापार गर्यो। हलमा पहिलो साता नेपाली फिल्मले गर्ने व्यापारसँग दाँज्ने हो भने यो आँकडा कम हैन।
पूर्णबहादुरको व्यापारको रेसियो हेर्ने हो भने तीन दिन त सुक्खा नै त थियो। बिस्तारै फिल्म हेरेका दर्शकहरूबाट आएको सकारात्मक प्रतिक्रिया अनि निर्माण टिमले चलाखीका साथ हलमा खिचेका रोइरहेको दर्शकको भिडियोको सङ्ख्या सामाजिक सञ्जालमा बढाउँदा फिल्मले नसोचेको रेकर्डहरू बनायो।
फिल्म बलियो थियो। त्यसैले निर्माण टिमले चलाखीका साथ गरेको प्रचारको सकारात्मक प्रभाव पर्यो। फिल्म झुर भएको भए दर्शक रोएको क्लिप राख्दा ‘झुर फिल्म हेर्दा खर्च भएको पैसा सम्झिएर दर्शक रोएको’ ट्रोल पनि बन्न सक्थ्यो।
'पूर्ण बहादुरको सारंगी' रिलिजहुँदा हलमा १२ गाउँ र छक्कापञ्जा ५ को कब्जा थियो। फिल्म रिलिज भएको पाँचौ दिनसम्म पनि निर्माताहरु सामाजिक सञ्जालमा फिल्मको अकुपेन्सी अनुसार शो नपाएको भन्दै गुनासो गरिरहेकै थिए। जव दर्शकको चाप थामि नसक्नु गरी बढ्यो, हल सञ्चालकहरुले रेकर्ड नै ब्रेक हुने तहको शो संख्या दिए।
‘ह्रस्व दीर्घ’ले पिक लिइरहेकै बेलामा एकै सातामै शुक्रवार हलमा दुई नयाँ नेपाली फिल्म थपिनु अनि पूर्ण बहादुरको सारङ्गीले पाएका शोहरुमा दर्शकको चाप नघट्दा फिल्म फिल्मले शो सङ्ख्या गुमायो।ब्यापारमा प्रभाव पर्यो।
फिल्म भनेको दर्शकको रुची पनि हो। त्यसैले त काठमाडौँ लगायतका क्षेत्रमा फिल्म मध्यम चल्दा भारतीय अनि दक्षिण भारतीय फिल्मको क्रेज बढी हुने मधेसमा ‘ह्रस्व दीर्घ’ मजाले चलेको छ। उता शो संख्या घटेका छैनन्।
निर्माण टिमको दाबी अनुसार फिल्ममा ६ करोड लगानी भएकाले पाँच करोडको ग्रस व्यापारले लगानी भने उठ्दैन। तर निताले सार्वजनिक रूपमै भारतीय ओटिटी अनि तेलगु भाषामा रिलिज गर्दा २० करोडको ग्रस नाघ्ने ‘आफ्नै दाइको टक शो’मा भनेकाले लगानी त सुरक्षित देखियो।
लगानी नै सुरक्षित भइसक्दा पनि उनी अझैँ किन यति धेरै आक्रोशित, किन जताततै षड्यन्त्र देखेको होला! सुरक्षित भएको लगानीबाट यसको सिक्वेल बनाउँदा अहिलेको कथा, पटकथा अनि अभिनेताको कास्टिङको कमजोरी सुधारे हुन्न?
मंसिर ८, २०८१ शनिबार १५:१२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।