प्राविधिकको पारिश्रमिक विवादमा परेको फिल्म ‘बलिदान’ टिमको दाबी' फिल्म छायाङ्कनको अन्तिम तालिकामा'

प्राविधिकको पारिश्रमिक विवादमा परेको फिल्म ‘बलिदान’ टिमको दाबी' फिल्म छायाङ्कनको अन्तिम तालिकामा'

काठमाडौं : प्राविधिकहरुलाई पारिश्रमिक नदिएर छायाँकन रोकिएको फिल्म बलिदानले अन्तिम चरणको छायाङ्कन शुरु भएको दाबी गरेको छ। यता प्राविधिकहरु पारिश्रमिकको माग गर्दै बसेका छन्। तर निर्माण टिमले भने शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको सेटमा बाँकी छायाङ्कन सुरू गरिएको दाबी गरेका छन्।

प्राविधिक संघमा प्राविधिकहरुले फिल्मको निर्माण टिमले पहिलो चरणमा गरेको कामको पारिश्रमिक नदिएको भन्दै गुनासो गर्दै छायाँकनमा जान मानेका थिएनन्। 

फिल्म निर्माणको पहिलो सेड्युलमा मेकअपमेनदेखि किचनसम्मको पारिश्रमिक दिएको देखिएन। टेक्निसियन र इकुप्मेन्ट समेत गरेर २० लाख हाराहारी पारिश्रमिक दिन बाँकी रहेको खुलेको छ। निर्देशक सन्तोष सेनले चेक दिए पनि प्राविधिकले चेक नसाटिई नपत्याउने बताएका थिए।

तर निर्माण टिमले भने चाडपर्वका कारण रोकिएको दाबी गरेको छ। गत भदौमा छायाङ्कन सुरू भएको यस चलचित्रको अन्तिम तालिका करिब ४५ दिनको रहेको निर्देशक सन्तोष सेनको दाबी छ।

चलचित्रको रिलिज मितिबारे निर्देशक सेनले छायाङ्कन पूरा भएको भोलिपल्ट टिजरसहित घोषणा गर्ने दाबी गरे।

सुनसरीको इटहरी, मोरङको कानेपोखरीमा भव्य सेट निर्माण गरेको यो फिल्ममा अभिनेत्री ऋचा शर्मादेखि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, र दिव्य देवलगायतका कलाकारहरू अनुबन्ध भएका छन्।

मंसिर ८, २०८१ शनिबार १५:०३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।