दुई दशकपछि अझै बलियो बनेर फिल्ममा फर्किए पूजा र विपना

दुई दशकपछि अझै बलियो बनेर फिल्ममा फर्किए पूजा र विपना

काठमाडौं : सन् १९९२ को फिल्म ‘भूल’बाट अभिनयमा डेब्यु गरेकी पूजा चन्दलाई सफलता हात परेको थियो। पहिलो फिल्मबाट नै दर्शकमाझ चर्चामा आएकी उनी सन् २००४ मा फिल्म ‘मनको टुक्रा’ रिलिज भएपछि अमेरिका पलायन भइन्।

अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी पूजा चन्द यतिबेला फेरि नेपाली फिल्ममा फर्किएकी छन्। उनले अभिनय गरेको फिल्म ‘तेलभिसा’ शुक्रबारबाट हलमा लागेको छ।

फिल्ममा अभिनेता विपिन कार्कीकी आमाको भूमिका निर्वाह गरेकी उनले आफ्नो भूमिकामा न्याय गरेकी छन्। २० वर्षसम्म फिल्ममा अभिनय गर्न नपाएको काम उनले यही फिल्ममा आएर देखाएको झैँ पाइन्छ। उनको अभिनयले दर्शकलाई बेला-बेला भावुक पनि बनाउँछ।

पूजाले अमेरिकामा नै निर्माण भइरहेको अर्को फिल्म ‘भुठान’मा पनि काम गरिरहेकी छन्। विनोद पौडेलको निर्देशनमा निर्माण भइरहेको यो फिल्ममा अमेरिकाको ओहायोमा नै खिचिएको छ। पूजासहित हरिवंश आचार्य, दयाहाङ राई र हलिउड अभिनेता ब्रुस डर्नको समेत यो फिल्ममा अभिनय गरेका छन्।

अर्की अभिनेत्री विपना थापा पनि १७ वर्षपछि नीता ढुङ्गानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’मार्फत अभिनयमा फर्किएकी छन्। लामो समयपछि फिल्ममा काम गर्दा पनि उनले आफ्नो अभिनयलाई कतै पनि धरमराउन दिएकी छैनन्। ‘हस्व दीर्घ’मा अभिनेता हरिहर अधिकारीकी आमाको भूमिकामा देखिएकी उनले त्यसलाई न्याय गरेकी छन्।

‘ह्रस्व दीर्घ’ हलमा प्रदर्शन भइरहँदा विपनालाई अनमोल केसी अभिनित फिल्म ‘जेरी अनटप’मा पनि आमाकै भूमिकामा अफर आएको छ। फिल्ममा उनी भुवन केसीको अपोजिटमा देखिँदैछिन्। २०५१ सालको फिल्म ‘अपहरण’बाट अभिनय करिअर थालेकी विपनाको पछिल्लो रिलिज भएको फिल्म ‘संघर्ष जिन्दगीको’हो, जुन वि.सं. २०६७ सालमा रिलिज भएको थियो।

झण्डै ७० फिल्ममा अभिनय गरिसकेकी विपना १७ वर्षअघि भारतीय नागरिकसँग विवाह गरेपछि उतै बसिन्। नेपालमा हुने अवार्ड तथा विभिन्न कार्यक्रमहरूमा बेला–बेला आइरहन्थिन् उनी। यस पटक भने उनी फिल्म खेल्नका लागि नै नेपाल आएकी हुन्।

पूजा र विपनाको दाजोमा अभिनेत्री करिश्मा मानन्धरको अभिनय फिलतो देखिन्छ। लामो समयपछि अभिनयमा फर्किएकी अर्की अभिनेत्री करिश्मा मानन्धरले सिंगल आमा र छोरीको कथामा निर्माण भएको फिल्म ‘बगान’मा अभिनेत्री प्रमिला कार्कीको आमाको अभिनय गरेकी थिइन्। तर, उनी आमाको अभिनयमै कमजोर देखिइन्।

दुई वर्षअघि प्रदर्शनमा आएको यो फिल्मबाट करिश्माले अर्को फिल्ममा काम गर्ने आँट गरेको देखिँदैन। फिल्म ‘सन्तान’बाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी उनले २७ वर्ष भन्दा लामो समय फिल्म क्षेत्रमा बिताएकी छन्। पहिलो फिल्मबाट नै दर्शकको नजरमा परेकी करिश्माले दर्जनौं हिट फिल्म दिएकी थिइन्।

आफ्नै लगानीमा निर्माण गरेको फिल्म ‘बाबुसाहेब’ नराम्ररी डुबेपछि उनको गन्तव्य अमेरिका भएको थियो। तर, उनी नेपाली फिल्म क्षेत्रमा नै फर्किइन्।

मंसिर ८, २०८१ शनिबार १४:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।