डा. शिवनारायणको उपचार अनुभव : युवाको खुट्टा छ पटक जुकालाई चुसाएपछि छालाको समस्या चैट
डा. शिवनारायण गुप्ता आयुर्वेद चिकित्सक हुन्। उनी विशेषगरी आयुर्वेद चिकित्सा विधिसँग सम्बन्धित अध्ययन अनुसन्धानमा समेत रुची राख्छन्। आयुर्वेदिक उपचारात्मक विधि अपनाई बिरामीको औषधि उपचार गरी रोग ठिक बनाउने उनको दैनिकी हो। उनै डा. शिवनारायणले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।
युवाको खुट्टा ६ पटक जुकालाई चुसाएपछि छालाको समस्या चैट
सिरहामा एक जना युवाको छालामा जुकाले टोकाएर उपचार गरेको प्रसङ्ग डा. शिवनारायण कहिल्यै भुल्दैनन्। केही वर्षअघि उनी सिरहाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत थिए।
करिब १८ वर्षका युवा उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगे। ती युवाको दुवै खुट्टाको घुँडाभन्दा तलको भागको छाला चिलाउने, पोल्ने, रातो दाग हुने, छाला फुस्रो हुने जस्ता समस्या थियो। यस्तो छालाजन्य समस्यालाई चिकित्सकीय भाषामा ‘सोरियासिस’ भनिन्छ।
खुट्टाको छालाको समस्या भएका ती युवा विभिन्न अस्पताल धाउँदा-धाउँदा समस्या ठिक नभएर हैरान थिए। डा. शिवनारायणले ती युवाको छालामा भएको त्यो समस्या जुकाको प्रयोग गरी उपचार गरेको खण्डमा ठिक हुनसक्ने सम्भावना देखे। त्यसैले आयुर्वेदिक उपचार विधिमा प्रयोग गर्न मिल्ने (मेडिकेटेड) किसिमको जुकाको प्रयोग गरी ती युवाको छालाको त्यो समस्या ठिक गर्ने उपचार विधि शुरू गर्ने निर्णय गरे।
ती १८ वर्षे युवाको छालाजन्य समस्याको उपचारका लागि डा. शिवनारायणले सबैभन्दा पहिले जुकालाई बेसार पानीमा डुबाएर करिब पाँच मिनेट राखी शुद्धीकरण गरे। शुद्धीकरणपछि ती युवाको घुँडाभन्दा तल छालामा समस्या भएको ठाउँमा जुकालाई राखिदिए। जुकाले ती युवाको छालाको समस्या भएको ठाउँको खराब रगत चुस्न थाल्यो।
करिब ४५ मिनेट रगत चुसेपछि रगत चुसिरहेको जुकाको मुखमा डा. शिवनारायणले बेसार राखिदिए। जुकाको मुखमा बेसार राखिदिएपछि जुकाले रगत चुस्न छाड्यो। त्यसपछि उनले ती युवाको जुकाले रगत चुसेको छालाको भाग सफा गरेर रक्तश्राव हुन नदिन औषधि गरेर ‘ब्यान्डेज’ लगाइदिए।
आयुर्वेदिक उपचार विधिमा प्रयोग गरिने ‘मेडिकेटेड’ जुकाले खराब रगत मात्रै चुस्ने डा. शिवनारायणले बताए। त्यसैले यस्तो जुकाले ती युवाको छालाको समस्या भएको ठाउँको खराब रगत मात्रै चुस्यो। तर, खराब रगत चुसेको जुकाले शरीरमा त्यही रगत राखिरह्यो भने त्यो जुकाको मृत्यु हुन्छ।
त्यसैले ती युवाको छालामा भएको खराब रगत चुसेको जुकालाई उनले पाँच मिनेट बेसार पानीमा डुबाएर राखिदिए। बेसार पानीमा राखेपछि जुकाले ती युवाको छालामा चुसेको सबै खराब रगत बान्ता गरेर शरीरबाट निकाल्यो।
सबै खराब रगत बान्ता गरिसकेपछि डा. शिवनारायणले जुकालाई सिसाको बट्टामा सफा पानीमा डुबाएर राखिदिए। यसरी बट्टामा राखिएको जुकाको प्रत्येक दिन पानी फेर्नुपर्ने र एक हप्तामा बट्टा फेर्नु पर्ने उनले सुनाए।
एउटा जुकालाई एउटा छुट्टै बट्टामा राखिन्छ। तर, प्रजनन गराउने प्रयोजनका लागि भने दुई भन्दा धेरै जुकालाई एउटै बट्टामा राखिन्छ। प्रजनन्का लागि उपयोग गरिने जुकालाई लेउ तथा रगत खान दिनुपर्ने हुन्छ। तर, उपचारको प्रयोजनको लागि प्रयोग गरिने जुकालाई भने केही खान दिन नपर्ने उनले सुनाए।
त्यसैगरी यसरी एक जना व्यक्तिको छालाजन्य समस्याको उपचारका लागि प्रयोग गरिएको जुकालाई एक हप्तापछि मात्रै पुनः प्रयोग गर्न मिल्ने डा. शिवनारायणले अनुभव सुनाए। जुन विषय सुश्रुत संहितामा उल्लेख भएको उनले सुनाए।
यसरी नै ती युवाले ६ पटक जुकालाई टोकाएर उपचार गराए। ६ पटक जुकालाई टोकाएर उपचार गराएपछि ती युवाको छालामा भएको त्यो समस्या पूर्ण रूपमा ठिक भएको डा. शिवनारायणले सुनाए।
जुकाको अध्ययन
त्यसो त एक पटक प्रयोग गरिसकेको जुकालाई किन एक हप्तापछि मात्रै प्रयोग गर्नुपर्ने रहेछ? भन्ने विषयको समेत आफूले अनुसन्धान गरेको डा. शिवनारायणले सुनाए। यस्तो अध्ययनका लागि उनले सबैभन्दा पहिला उपचारको लागि प्रयोग नै नगरिएको एउटा ‘मेडिकेटेड’ जुका लिए। त्यो जुकाको ‘र्याल’ प्रयोगशालामा परीक्षण गरे। परीक्षण गर्दा उपचारका लागि प्रयोग नै नगरिएको जुकामा कुनै किसिमको संक्रमण देखिएन।
त्यसपछि त्यही जुकालाई संक्रमण भएको घाउमा ४५ मिनेट टोकाएर त्यो जुकाको ‘र्याल’ उनले प्रयोगशालामा परीक्षण गरे। उक्त जुकामा भने अधिक संक्रमण भएको पाइयो। अनि त्यो जुकाको र्याल २४ घण्टापछि परीक्षण गर्दा संक्रमणको मात्रा केही कम देखियो भने क्रमशः २४, ७२ घण्टा अनि एक हप्तामा र्याल निकाल्दै परीक्षण गर्दा जुकामा संक्रमण घट्दै गएको पाइयो। एक पटक प्रयोग गरेको सातौं दिनमा जुका संक्रमणरहित भएको उनले सुनाए।
यही अध्ययनको अनुभवबाट समेत उनले उपचारका लागि प्रयोग गरिएको जुका एक हप्ता पनि नपुग्दै पुनः प्रयोग गर्दा अर्को व्यक्तिमा जुकाले संक्रमण सार्ने जोखिम हुने विषयमा थप प्रष्ट भए। त्यसैले एक पटक प्रयोग गरिएको जुका एक हप्तापछि मात्रै पुनः प्रयोग गर्न उनको सुझाव छ।
रौतहटमा जन्म, छात्रवृत्तिमा बीएएमएस अध्ययन
डा. शिवनारायण गुप्ता २०४४ मा रौतहटको हालको बौधिमाई नगरपालिका-२, इनरुवामा जन्मिए। स्थानीय शारदा माविबाट २०६१ मा एसएलसी गरेका उनी वीरगञ्जको वीरगञ्ज कमर्श (बीसीसी) क्याम्पसबाट उनले आईएस्सी गरे।
आईएस्सीपछि शिवनारायण त्रिभुवन विश्वविद्यालय अन्तर्गत कीर्तिपुर आयुर्वेद क्याम्पसमा २०६४ मा आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर्स इन आयुर्वेद मेडिसिन एण्ड सर्जरी’(बीएएमएस) अध्ययनका लागि भर्ना भए। उनले २०६९ मा बीएएमएस अध्ययन पूरा गरे। शिवनारायणले छात्रवृत्ति कोटामा बीएएमएस अध्ययन गरेका रहेछन्।
बीएएमएस अध्ययनपछि उनले सरकारी स्थायी जागिरको लागि परीक्षाको तयारी गरे। सरकारी जागिरका लागि लोकसेवा परीक्षा दिए। उनको सपना साकार पनि भयो।
डा. शिवनारायण २०७१ मा लोकसेवामार्फत आठौं तहको स्थायी आयुर्वेद चिकित्सकका रूपमा सरकारी जागिरमा प्रवेश गरे। सरकारी जागिरे भएपछि उनी पहिलो पोष्टिङ भएर भोजपुरको तत्कालीन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगे। सरकारी जागिरे भएर भोजपुर पुगेपछि करिब डेढ वर्ष केन्द्रको प्रमुखको भूमिकामा काम गरे।
भोजपुरपछि डा. शिवनारायण सरुवा भएर रौतहटको चन्द्रनिगापुरस्थित तत्कालीन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगे। रौतहटमा उनले करिब डेढ वर्ष काम गरे।
डा. शिवनारायणलाई थप अध्ययनको भोक मरेकै थिएन। त्यसैले उनी आयुर्वेद विषयमा अध्ययन गर्नका लागि २०७४ मा भारत पुगे। उनले भारतको कर्नाटकास्थित ‘केएलई’ विश्वविद्यालयमा पुगेर स्नातकोत्तर तहको आयुर्वेद विषय अध्ययनका लागि भर्ना भए। त्यहाँबाट स्नातकोत्तर तहको आयुर्वेद सर्जरीको ‘शल्यतन्त्र’ विषयमा तीन वर्षे ‘एमएस’ गरेर उनी नेपाल फर्किए।
संघीयता कार्यान्वयनसँगै डा. शिवनारायणको समायोजन मधेश प्रदेशमा भयो। डा. शिवनारायणको सिरहाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पदस्थापन भयो। त्यसैले भारतबाट आयुर्वेदतर्फको सर्जरीको शल्यतन्त्र विषयमा एमएस गरेपछि उनी काम गर्न सिराहा पुगे। सिरहाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुखको भूमिकामा रहेर करिब अढाई वर्ष काम डा. शिवनारायणले गरे।
सिराहामा जुकाले टोकाएर उपचार गर्ने विधिको त्यो अनुसन्धान
सिराहामा हुँदा डा. शिवनारायणले जुकाले टोकाएर उपचार गरिने विधि लगायतको विषयमा वैज्ञानिक खोज तथा अनुसन्धान समेत गरे। उनले सिराहामा कस्तो किसिमको जुका पाइन्छ भनेर वैज्ञानिक अध्ययन (रिसर्च) गरे। जुन प्रभावकारी भएको उनले सुनाए।
जुकालाई आयुर्वेदमा ‘जलौका’ भनिन्छ। आयुर्वेद चिकित्सा विधामा जुकाबाट गरिने उपचार विधि प्रभावकारी भएको उनले सुनाए। तर, चिकित्सकीय रूपमा उपचार गर्न लायक जुका हुनुपर्छ। जथाभावी जुन पायो त्यही जुकाबाट भने उपचार हुँदैन।
आयुर्वेदमा उल्लेख भए अनुसार १२ किसिमका जुका हुने उनले सुनाए। १२ मध्ये ६ प्रकारका जुका विषाक्त हुने र ६ प्रकारका जुका भने आयुर्वेदिक उपचार विधिमा प्रयोग गर्न सकिने (मेडिकेटेड) किसिमका हुने रहेछन्। यसरी आयुर्वेदिक उपचारका लागि प्रयोग गरिने जुकाले खराब रगत मात्रै चुस्ने डा. शिवनारायणले सुनाए।
यस्तो आयुर्वेदिक उपचार विधिका लागि प्रयोग गर्ने किसिमको एउटा जुकाको मूल्य भारतमा तीनदेखि चार सय नेपाली रुपैयाँ पर्ने रहेछ। त्यसैले डा. शिवनारायणले सिराहामा कस्ता किसिमका जुका पाइन्छन् भनेर एउटा वैज्ञानिक अनुसन्धान नै गरे।
अनुसन्धानका क्रममा उनले सिराहाको विभिन्न ठाउँबाट नमुना (स्याम्पल) लिएकामध्ये ९४ प्रतिशत जुका आयुर्वेदिक उपचारात्मक विधिमा प्रयोग गरिने किसिमका जुका भएको पत्ता लगाए।
सिराहामा यति धेरै आयुर्वेदिक उपचारात्मक विधिका लागि प्रयोग गर्न सकिने जुका भएको पत्ता लागेपछि उनी उत्साहित बन्ने नै भए। सिराहामा नै भएका जुका प्रयोग गर्न सकेको खण्डमा भारतबाट जुका किनेर ल्याउनुपर्ने बाध्यता हट्ने उनले पत्ता लगाए।
त्यसैले सिराहामा नै बस्दा करिब १६ सय बिरामीलाई सिराहामा नै पाइएका आयुर्वेदिक उपचार विधिमा प्रयोग गर्न मिल्ने जुकाको माध्यमबाट उपचार गरेको डा. शिवनारायणले अनुभव सुनाए।
विशेषगरी छाला चिलाउने तथा पोल्ने (सोरियासिस) र ‘एक्जिमा’ जस्ता छालाको दीर्घकालिन समस्या भएका व्यक्तिको उपचारका लागि जुकाको माध्यमबाट गरिने उपचारविधि प्रभावकारी रहेको उनले सुनाए।
सोरियासिस एक किसिमको छालाजन्य समस्या हो। सोरियासिसको समस्या भएको खण्डमा छालामा सेतो तथा रातो दाग हुने, चिलाउने जस्तो समस्या हुन्छ। छाला पोल्ने, रातो बिमिरा आउने, चिलाउने, साना फोका तथा डल्ला आउने, छालाबाट पीप तथा पानी बग्ने, छाला कडा तथा फुस्रो हुने जस्ता समस्यालाई चिकित्सकीय भाषामा ‘एक्जिमा’ भनिन्छ।
त्यसैगरी युरिक एसिडका कारण शरीरका जोर्नीको दुखाइ हुने समस्यामा समेत जुकाको माध्यमबाट उपचार गर्दा प्रभावकारी भएको डा. शिवनारायणले सुनाए। ‘डिप भेन थ्रोम्बोसिस (डीभीटी)’ जस्तो शरीरको रक्तजन्य समस्या र ‘वर्गर डिजिज’को उपचारको लागि पनि जुकाको प्रयोग गरी उपचार गरिने विधि प्रभावकारी रहेको उनले सुनाए।
आयुर्वेदिक उपचार विधिमा प्रयोग हुने जुका सिराहामा पाइएको र त्यस्ता जुकाको बारेमा थप अध्ययनका लागि उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) लगायत सरकारी निकायमा पहल गर्दा समेत त्यसको सुनुवाइ नहुँदा भने उनलाई अलि चित्त दुखेको रहेछ।
विशेषगरी छालाजन्य समस्या भएका व्यक्तिमा जुकाले टोकाएर गर्ने उपचार विधि प्रभावकारी भएकाले अहिले पनि यस्तो आयुर्वेदिक चिकित्सकीय विधि अपनाइरहेको डा. शिवनारायणले अनुभव सुनाए। उनले हालसम्म आयुर्वेदिक उपचार विधिसँग सम्बन्धित सात वटा अनुसन्धान गरेका रहेछन्।
उपचारको त्यो ‘क्षार कर्म’ विधि
त्यसैगरी मलद्वार नै बाहिर निस्कने ‘रेक्टल प्रोल्याप्स’ समस्याको उपचारका लागि ‘क्षार कर्म’ उपचारात्मक विधिको वैज्ञानिक अनुसन्धान गरेको उनले सुनाए। यस्तो समस्या विशेषगरी बालबालिका र पाको उमेरका व्यक्तिलाई हुन्छ।
‘अपमार्ग’ नामक जडिबुटीको प्रयोग गरी मलद्वार नै बाहिर निस्कने किसिमको समस्याको ‘क्षार कर्म’ विधि अपनाई अनुसन्धानको नमुनाका रुपमा १५ जनाको उपचार गर्दा सबैजनाको समस्या ठिक भएको उनले अनुभव सुनाए।
सिरहामा अढाई वर्षको अवधिमा साढे तीन सय भन्दा बढी व्यक्तिको पायल्स, फिस्टुलाको शल्यक्रिया र सात सय भन्दा बढी व्यक्तिको दुखाइको लागि अग्निकर्मबाट उपचार गरेको अनुभव उनले सुनाए।
सिराहापछि डा. शिवनारायण २०८० मा पर्साको वीरगञ्जको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सरुवा भयो। हाल उनी त्यहाँ कार्यालय प्रमुखको भुमिकामा कार्यरत छन्।
चिकित्सालयमा प्रशासनिक कामका साथै आयुर्वेदिक उपचारात्मक विधि अपनाई बिरामीको औषधि उपचार गर्नु र आयुर्वेद चिकित्सा विधिसम्बन्धी विषयको खोज तथा अनुसन्धान गर्नु उनको मुख्य दैनिकी हो।
मंसिर ८, २०८१ शनिबार १३:००:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।