एनपीएल टिम परिचय : बेन कटिङसहित पाँच विदेशी खेलाडी अनुबन्ध गरेको रोहितको लुम्बिनी

एनपीएल टिम परिचय : बेन कटिङसहित पाँच विदेशी खेलाडी अनुबन्ध गरेको रोहितको लुम्बिनी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ हुने मिति नजिकिँदै छ। मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीहरूबारे उकेराले नियमित रूपमा जानकारी गराइरहेको छ।

यसअघि सबैभन्दा कम मूल्यमा बिक्री भएको कर्णाली याक्ससँगै विराटनगर किंग्स, सुदूरपश्चिम रोयल्स र चितवन राइजोबारे हामीले जानकारी गराइसकेका छौं। आज हामी सबैभन्दा लुम्बिनी लाइन्सको बारेमा यहाँहरूलाई जानकारी दिनेछौँ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका टिमहरूमध्ये कर्णाली, विराटनगर, सदूरपश्चिम र चितवनपछिको बढी मूल्य तिर्ने टिम हो लुम्बिनी लाइन्स। फर्च्युन हेल्थ केयर प्रालिका ईश्वर जिसीले टिमलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेका हुन्।

मार्की खेलाडीको रूपमा राष्ट्रिय टोली कप्तान रोहित पौडेल पाएको टोलीले मुख्य प्रशिक्षकमा नन्दन फडनिस र मेन्टरमा शक्ति गौचनलाई नियुक्त गरिसकेको छ। फडनिस नेपाली राष्ट्रिय टोलीका ब्याटिङ कन्सल्टेन्ट हुन भने गौचन १९ वर्षमुनिको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक हुन्।

टोलीका लागि शक्ति, रोहित र नन्दन भएर अक्सनमार्फत खेलाडी छनोट गरेका थिए। अक्सनबाट टोलीले स्पिनर सूर्य तामाङ, विकेटकिपर ब्याट्सम्यान सन्दीप जोरा र अलराउन्डर विवेक यादवलाई समान १५-१५ लाख रुपैयाँमा खरिद गर्यो।

यसका अलावा टोलीले बागमती प्रदेशबाट खेलिरहेका ओपनर आशुतोष गिराहिया र तिलकराज भण्डारीलाई समान १०–१० लाख रुपैयाँमा टोलीमा अनुबन्ध गर्यो। त्यसैगरी टोलीमा आठ लाख रुपैयाँमा दुर्गेश गुप्ता, पाँच लाख रुपैयाँमा अर्जुन साउद अनुबन्ध भए।

यसका अलावा टोलीले कर्णाली प्रदेशबाट खेलिरहेका दिनेश अधिकारीलाई दुई लाख ७५ हजार, अभिशेष गौतमलाई दुई लाख र विकास आगरीलाई दुई लाख रुपैयाँमा टोलीमा अनुबन्ध गर्यो।

टिमले विदेशी खेलाडीहरूमा अष्ट्रेलियाका अलराउन्डर बेन कटिङ, अमेरिकाका विकेटकिपर ब्याटर उन्मुक्त चन्द, इंग्ल्यान्डका विकेटकिपर ब्याटर टम मोरेस, वेस्ट इन्डिजका बलर रोमन सिमोन्ड्स र क्यानडाका अलराउन्डर साद बिन जफरलाई पनि टिममा अनुबन्ध गरेका छन्। बेन कटिङ टोलीका सबैभन्दा चर्चित विदेशी खेलाडी हुन्।

राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको टोलीले बुद्ध जन्मस्थल लुम्बिनीमा पुगेर आफ्नो जर्सी सार्वजनिक गरेको थियो। निलो रङको जर्सीको अगाडिपट्टी सिंह गर्र्जिएको तस्बिर छ भने दुवैतर्फ साइडमा सुनौलो रङ छ।

भैरहवामा ट्यालेन्ट हन्ट गरेको टोलीले त्यसमार्फत पाँच जना खेलाडी छनोट गरेको छ। टोलीले करन केवट, रमेश कुर्मी, दुर्गेश थापा, मोहम्मद हुसेन र आरिफ खानलाई लोकट ट्यालेन्टको रुपमा छनोट गरेको छ। जसमध्ये आरिफ खानले एनपीएलबाट खेल्नेछन्।

‘हाम्रो बुद्धभूमी, हाम्रो लुम्बिनी’ बोलको एन्थेम सार्वजनिक गरेको टोली अहिले रुपन्देहीको तिलोत्तमामा रहेको एक्ट्रोटक ओभल क्रिकेट रंगशालामा अभ्यास गरिरहेको छ। ट्यालेन्ट हन्ट छनोटपछि नै टोलीले रुपन्देहीमै बसेर आफ्नो अभ्यासलाई निरन्तरता दिएको छ।

टोलीले आफ्नो फ्लाइङ पार्टनरको रूपमा बुद्ध एयरसँग सम्झौता गरेको छ।

सामाजिक सञ्जालमा पछ्याउनेहरूको कुरा गर्ने हो भने चितवन राइनोज मध्यम टिममा पर्छ। टोलीको फेसबुकमा ८६ हजार, एक्समा चार सय, इस्टाग्राममा चार हजार चार सय र टिकटकमा पाँच हजार आठ सय फलोअर्स छन्।

एनपीएलका लागि नेपाल क्रिकेट संघ(क्यान)ले सिद्धार्थ बैंकलाई मुख्य प्रायोजकको रूपमा अनुबन्ध गरिसकेको छ भने एनसेल यसको ‘पावर्ड बाइ’ साझेदारको रूपमा अगाडि आइसकेको छ। साथै यसको टिकेटिङ पार्टनरको रूपमा खल्तीसँग क्यानले सम्झौता गरेको छ।

प्रतियोगिताकै लागि भनेर त्रिवि क्रिकेट मैदानलाई स्तरोन्नति गरिएको छ। यसको बाउन्ड्री बढाइएको छ भने दर्शकलाई जोन अनुसार बस्ने व्यवस्था मिलाएर अस्थायी रूपमा खानेपानी र शौचालयको व्यवस्था मिलाएको छ।

यसको अलावा क्यानले बढी मूल्य तिरेर राम्रैसँग खेल हेर्छु भन्ने दर्शकका लागि भीआईपी र भीभीआईपी सिटको समेत व्यवस्था गरेको छ। जसका लागि त्रिवि क्रिकेट मैदानमा अस्थायी प्याराफिट बनाएर त्यहाँ कुर्सीहरू राख्ने क्रम जारी छ।

प्रतियोगिताका सबै खेलहरू भारतीय चर्चित च्यानल स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुने क्यानले जनाएको छ।

एनपीएल टिम परिचय:-

मंसिर ८, २०८१ शनिबार १२:००:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।