रुस-युक्रेन युद्ध : हाइपरसोनिक ब्यालेस्टिक मिसाइल परीक्षण जारी राख्न पुटिनको निर्देशन, परिवारलाई राजधानी बाहिर सार्न सांसदहरूलाई जेलेन्स्कीको आग्रह

रुस-युक्रेन युद्ध : हाइपरसोनिक ब्यालेस्टिक मिसाइल परीक्षण जारी राख्न पुटिनको निर्देशन, परिवारलाई राजधानी बाहिर सार्न सांसदहरूलाई जेलेन्स्कीको आग्रह

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाइपरसोनिक ओरेश्निक ब्यालेस्टिक मिसाइलको परीक्षणलाई जारी राख्ने बताएका छन्।

युक्रेनको डिनिप्रो सहरमा मिसाइल आक्रमणको भोलिपल्ट शुक्रबार पुटिनले रुसी सेना प्रमुखहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

उनले रुसको सुरक्षाका लागि खतराको स्थिति र क्षमताका आधारमा यी क्षेप्यास्त्रहरूको परीक्षण जारी राख्ने बताए। आवश्यक परे युद्ध परिस्थिति अनुसार पनि परीक्षण गर्ने उनको भनाइ छ।

उता, रूसी क्षेप्यास्त्रहरूको धम्कीको बीचमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मित्र राष्ट्रहरूबाट अद्यावधिक वायु-रक्षा प्रणालीहरू प्राप्त गर्ने प्रयास गरिरहेको बताएका छन्।

युक्रेन सरकारले सुरक्षा कारण देखाउँदै संसदीय बैठक स्थगित गरी संसद बन्द गरेको छ। सांसदहरूलाई उनीहरूको परिवारलाई कीभको सरकारी जिल्लाबाट बाहिर राख्न निर्देशन दिइएको छ।

युक्रेनको अनुरोधमा २६ नोभेम्बरको आपतकालीन नाटो बैठक हुनेछ, जसमा नयाँ मिसाइल खतराबारे छलफल हुने बताइएको छ।

मंसिर ८, २०८१ शनिबार ०८:५६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।