कर्णाली : आठ पदका लागि एक्ला एक्लै उपनिर्वाचनमा होमिए दलहरू

कर्णाली : आठ पदका लागि एक्ला एक्लै उपनिर्वाचनमा होमिए दलहरू

सुर्खेत : मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि कर्णाली प्रदेशमा दलहरू एक्लाएक्लै चुनावी अभियानमा होमिएका छन्।

केन्द्रदेखि प्रदेश तहसम्म कांग्रेस-एमालेको साझेदारीमा सरकार छ। कतियप ठाउँमा सोही अनुसार गठबन्धन गरिएको छ। तर, कर्णालीमा गठबन्धको प्रभाव परेको देखिँदैन।

कर्णाली प्रदेशमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, एक नगरपालिकाका उपप्रमुख र पाँच जना वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। आठै ठाउँमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्।

स्वच्छ राजनीतिक प्रतिस्पर्धाका लागि निर्वाचनमा एक्लै होमिएको नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले बताए।

‘गठबन्धन गरेर निर्वाचन लड्दा विगतदेखि पार्टीको लागि त्याग गरेका नेताहरूलाई असर पर्छ,’ उनले भने, ‘एक्लै निर्वाचनमा जाँदा स्वच्छ प्रतिस्पर्धा पनि हुन्छ। फेरि उपनिर्वाचन हुन लागेका ठाउँमा हामीले पहिला नै जितेका थियौँ।’

पार्टीको अवस्थाका विषयमा यथार्थ जानकारी हुने भएकोले निर्वाचनमा एक्लै होमिएको एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले बताए। 

‘पार्टीको मुख्य जड भनेकै स्थानीय तह हो। यतिबेला प्रतिस्पर्धा त छँदैछ। पार्टीलाई जनताले हेर्ने अवस्थाका विषयमा समेत टेस्ट हुन्छ’, अध्यक्ष शाहले भने।

माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले पार्टीबाट सक्षम र जनमत भएका उम्मेदवारहरु भएकोले कांग्रेस-एमाले बिरासतलाई भत्काउन एक्लै निर्वाचनमा होमिएको बताइन्।

उपनिर्वाचन हुन लागेका ठाउँमा कांग्रेस आफ्नो बिरासत जोगाउनेगरी मेहनत गरिरहेको छ भने एमाले र माओवादी त्यसलाई तोड्ने रणनीतिमा छन्। 
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको छ।

यस्तै, कालीकोटको तिलागुफा नगरपालिका-४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५, जाजरकोटको कुशे गाउँपालिका-७, दैलेखको दुल्लु नगरपालिका-१३ र रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि उम्मेदवारहरू उपनिर्वाचनमा होमिएका छन्।

यी आठ पदका लागि ४५ जनाको उम्मेदवारी परेको छ। जसमध्ये तीन जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।

अध्यक्ष, उपाध्यक्ष र उपप्रमुख पदका लागि २० जनाको उम्मेदवारी परेको छ। यीमध्ये दुई जना स्वतन्त्र उम्मेदवार छन्। दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारहरु मैदानमा उभिएका छन्।

कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादी केन्द्रबाट जंगबहादुर बराल, एकीकृत समाजवादीबाट जगत हमाल, रास्वपाबाट प्रकाश बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर उम्मेदवार छन्।

एमालेबाट उम्मेदवार बनेका शाही यसअघि २०७४ मा एमालेबाट महाबुको अध्यक्ष बनेका थिए। २०७९ को निर्वाचनमा उनी एकीकृत समाजवादीबाट उम्मेदवार बनेर पराजित भएका थिए। अहिले केही समयअघि मात्र एमालेमा फर्किएर उनी महाबुको अध्यक्षको उम्मेदवार बनेका छन्।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि ६ जना चुनावी मैदानमा छन्। नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, राप्रपा नेपालबाट सुनिता पुन रावल, माओवादी केन्द्रबाट देवका लामिछाने, एकीकृत समाजवादी पार्टीबाट पवित्रा जैसी र रास्वपाबाट पार्वती पुन उम्मेदवार छन्।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि दुई जना स्वतन्त्र उम्मेदवारसहित सात जनाको उम्मेदवार छन्। नेपाली कांग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राप्रपाबाट संगिता शाही र रास्वपाबाट बाँचा शाही चसनावी मैदानमा छन्। नरेश शाही र रामसरा खड्का स्वतन्त्र उम्मेदवारका रुपमा छन्।

यस्तै पाँच जना वडाध्यक्ष पदका लागि २५ जनाको उम्मेदवार छन्। जसमध्ये २४ जना दलबाट र एक जना स्वतन्त्र उम्मेदवार छन्। कालिकोटको तिलागुफा नगरपालिका-४ को वडाध्यक्ष पदका लागि ६ जनाले उम्मेदवार छन्।

एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कबहादुर शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगनबहादुर शाही, माओवादी केन्द्रबाट नैनशोभा शाही र नेपाली कांग्रेसबाट पैलबहादुर शाहीे वडाध्यक्ष पदका उम्मेदवार छन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्ष पदका लागि चार जना उम्मेदवार छन्। एमालेबाट नरबहादुर रोकाया, समाजवादीबाट ज्योति घर्ती, माओवादी केन्द्रबाट नरबहादुर झाँक्री र नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने उम्मेदवार छन्।

यस्तै, दैलेखको दुल्लु नगरपालिका-१३ मा वडाध्यक्ष पदका लागि ६ जना उम्मेदवार छन्। एमालेबाट लालबहादुर शाही, कांग्रेसबाट शेरबहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, राप्रपाबाट रेशम शाही, रास्वपाबाट रामबहादुर शाही र नेमकिपाबाट पूणर्प्रसाद उपाध्याय उम्मेदवार छन्।

जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवार छन्। एमालेबाट डम्बरबहादुर घर्ती, नेपाली कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबहादुर खत्री र स्वतन्त्र पार्टीबाट कमान सार्की उम्मेदवार छन्।

त्यस्तै रूकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष पदका लागि चार जना उम्मेदवार छन्। माओवादी केन्द्रबाट जसीराम बस्नेत, नेपाली कांग्रेसबाट मोतीराम खत्री, एमालेबाट हंशराज पुरी र स्वतन्त्र रुपमा वीरबहादुर बस्नेत उम्मेदवार छन्।

मंसिर ८, २०८१ शनिबार ०८:२०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।