दरबारमार्गमा ढलेको एमाले साख
काठमाडौँ : सरकारको नेतृत्व गरिरहेको दल विभिन्न बहानामा सडकमा उत्रिनु आफैँमा कमजोर मुद्दा थियो। आफ्नै दलको प्रधानमन्त्री रहेको एमालेले यही कमजोर मुद्दामा टेकेर जागरण सभा भन्दै शक्ति देखाउन हठ गर्दै काठमाडौँको दरबारमार्गमा सभा गरिछाड्यो।
एक लाख पार्टी कार्यकर्ता सडकमा उतारेर शक्ति देखाउन कस्सिएको एमालेले सडक कब्जा गर्दा उसको शक्ति आवागमन अवरुद्ध गराउन बलियो देखियो। तर शक्ति देखाएर जुन पक्षलाई तर्साउन खोजेको थियो त्यो पक्षमा भने निकै कमजोर देखियो।
सरकारले गर्न खोजेको काम, सरकारको भविष्य, गठबन्धनको आयु अनि मुखैमा आएको चिन भ्रमणको औचित्यबारे जागरण जगाउन सभाको आयोजना गरेको भए भिन्न सन्देश जान सक्थ्यो। तर एमालेले जागरण सभा नाम राखेर व्यवहार भने खण्डन सभाको देखायो।
चीन भ्रमणको मिति नजिकिएसँगै सरकारको भविष्यबारेको मन्थन चिया पसलसम्म पुगिसकेको छ। त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओली जानकार नहुने कुरै भएन।
उनले सभामा कसैले हल्लाउन नसक्ने भन्दै गठबन्धनको आयुबारे त बोले तर शङ्का निवारण हुने तहसम्म पुग्न सकेनन्। केवल ३२ को जादुई अङ्क बोकेर बसेको प्रमुख प्रतिपक्षी दल माओवादीलाई तर्साउने मनसाय मात्र देखियो।
चीन भ्रमणमा जाँदा बिआरआइ कार्यान्वयनबारे सहमतिमा हस्ताक्षर हुन्छ या हुन्न भन्ने बौद्धिकतहमा चर्को बहस भइरहेको छ। यसबारे पनि प्रधानमन्त्रीले प्रस्ट धारणा राखेर बिआरआइबारे चासो राख्नेहरूमा जागरण ल्याउने प्रयास गर्न सक्थे। तर त्यतातिर पनि उनी लागेनन्। उनले छुस्स ऋण लिने अवस्था नभएको भन्दै चीनसँग ऋण लिने सम्झौता नहुने सङ्केत मात्र गरे।
उनी हुन् या एमाले महासचिव शङ्कर पोखरेल, दुवै पात हल्लिएको हावाले हो या अन्य केहीले हो भन्ने मसिना कुरामा केन्द्रित हुँदै सरकारी कर्मचारीदेखि अराजक दुर्गा प्रसाईँतिर बढी नै केन्द्रित भए।
पहिलो त कार्यक्रममा सहभागीको सङ्ख्यामै मार खायो। पार्टीले एक लाख सहभागी हुने दाबी गरेर सभा आयोजना गर्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई प्रमुख वक्ता बनायो। तर सभामा सहभागीको सङ्ख्या १० हजार पनि पुगेन।
नारायणहिटीलाई शिर बनाएर मञ्च बनाइएको थियो। एक लाख सहभागी भएको खण्डमा कमसेकम घण्टाघर समेत पार हुनुपर्ने हो सहभागीले। तर महेन्द्रको सालिक त परको कुरा, दरबारमार्गको आधा सडक पनि भरिएको थिएन। जुन शक्ति देखाउने भनेर कार्यक्रम गरेको थियो त्यसमा उसको कमजोरी मात्र देखियो।
जागरण र सभाको अजेण्डामा पनि पार्टी निकै कमजोर देखियो। पार्टी महासचिवदेखि अध्यक्षसम्मले सभामा जे विषयको उठान गरे ती सरकार सञ्चालकलाई सुहाउँदो थिएन।
सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउलाई रास्वपाले राजनीतिक प्रतिशोधको रूपमा आम नागरिकमाझ स्थापित गर्ने असफल प्रयास गरिरहेको छ।
प्रहरी अनुसन्धानमै छ। कास्की बुटवलपछि काठमाडौँ र चितवनमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएका छन्। प्रहरी अनुसन्धानमा जुट्ने प्रमाणको अदालतमा हुने परीक्षणको आधारमा उनी संलग्न हुन् या हैनन् त्यतातिर केन्द्रित हुनुपर्ने सरकार प्रमुख बिच सडकमा मञ्च बनाएर आवागमन अवरुद्ध गराउँदै रविलाई पक्राउ गर्नुको औचित्य पुष्टिको असफल प्रयासमा लागे।
प्रारम्भमा मित्रवत् सम्बन्ध रहेको रास्वपा रविको पक्राउसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट छ। उसले सरकार मरेको घोषणा गर्दै ओलीको पुतला समेत जलाएको थियो। यसले ओलीको चित्त दुखेको उनले बारम्बार प्रकट गरिसकेका छन्।
रास्वपाका नेताहरूले जे दाबी गरे पनि सहकारीमा रहेका बचतकर्ताहरूको रकम अपचलनको अनुसन्धान राजनीतिक प्रतिशोधको रूपमा सुरु भएको हैन भन्नेमा आम नागरिक विश्वस्त छन् भन्ने रास्वपाले जति बल लगाउँदा पनि प्रभावकारी हुन नसकेको आन्दोलनले नै देखाउँछ।
सत्ता सहयोगी दल कांग्रेसको दबाबमा रवि पक्राउ परेको संकेत गर्न खोजेको हो भने अलग, नत्र अब त्यसमा प्रधानमन्त्री ओलीको थप जोडबल आवश्यक थिएन। तर उनले बेकारमा बुढेसकालको शक्ति खर्चिदै ‘ सहकारी ठगी गर्ने आफू अनि मलाई गाली गर्ने’ भन्दै थप चित्त मात्र दुखाए।
बैंकको ऋण नतिर्ने आव्हानदेखि फलानो बैंक डुब्दै छ भनेर सामाजिक सञ्जालमा लेखेर त्रास फैलाउनेसम्ममा संलग्न दुर्गा प्रसाईँ खराब पात्र हुन् भन्ने स्थापित गर्न प्रधानमन्त्री तहबाट यति धेरै मिहेनत गर्नुपर्ने विषय रहेन।
हिजोका दिनबाटै बदनाम रहेका उनलाई पार्टीको केन्द्रीय सदस्य बनाउँदै राजनीतिक स्पेस निर्माण गर्ने व्यक्ति उनै ओली नै हुन्। हिजो ओलीले केन्द्रीय सदस्य बनाउँदा होस् या अहिले अनुसन्धानमूलक भन्दै कच्चा विवरण सार्वजनिक गर्दा होस् आम नागरिकले प्रसाईँलाई पत्याएका छैनन्।
तर कतै ‘मेरो ३२ अर्ब लगानी रहेको दाबी नागरिकले पत्याए कि!’ भनेर ओली अनि एमालेजन आफैँ तर्सिएको देखायो शुक्रवारको जागरण सभाका सम्बोधनका विषयले।
नेपाली नेताहरू आर्थिक मामिलामा शङ्का रहनु सामान्य नै हो। तर प्रसाईँले जे दाबी सार्वजनिक गरे त्यसको प्रभाव परेको छैन समाजमा। त्यसको प्रमाण हजारबाट सयमा झरेका उनको समर्थकहरूको शुक्रवारकै प्रदर्शनले समेत देखायो।
तर प्रधानमन्त्री ओलीले दुर्गाको दाबीको खण्डनमा लगाएको जोडबलले कतै दालमा केही कालो त छैन भनेर शङ्का गर्नुपर्ने अवस्था भने निर्माण गर्ने देखिन्छ।
प्रहरीले अनुसन्धान सुरु गरिसक्यो। अब प्रधानमन्त्रीको जोडबल प्रहरीलाई गहिराइमा पुगेर र आम नागरिकले शङ्का गर्ने अवस्था नरहने गरी यो प्रकरणको अनुसन्धान गराउनमा बल खर्चिनुपर्ने हो। तर उनी प्रसाईँको खण्डनमा पो जोडबल लगाउन पुगे।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलाई घोचपेच गर्नु राजनीतिक रूपमा सामान्य नै विषय हुन्। सत्तापक्षले प्रमुख प्रतिपक्षी दलको आलोचना गर्नु अनि प्रमुख प्रतिपक्षीले सत्ताधारी दलको आलोचना गर्नु सामान्य नै हो।
शुक्रवारको सभाबाट आफूमाथि माओवादी केन्द्रका नेताहरूले लगाएको आरोपको प्रतिवादमा उनले जे जति शब्द खर्चिए ठिकै सुनियो।
सबैभन्दा छक्क पार्ने विषय भनेको उनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि लगाएको आरोपहरू थियो।
डेडिकेटेड अनि ट्रङ्क लाइनको बक्यौता रकम उठाउने सवालमा सरकार अनि घिसिङबिचको टकराब सार्वजनिक भइरहेकै छन्।
माओवादी केन्द्रको पक्षमा लागेर कुलमानले काम गरिरहेको प्रधानमन्त्रीको शङ्का यस अगाडि नै देखिएको हो नै। यो बाहेक बक्यौता उठाउन कुलमानले जे जति प्रयास गरेका छन् अहिले जनमत उनको पक्षमा देखिएको छ।
प्रधानमन्त्री अनि जलस्रोत मन्त्रीले उद्योगीहरूको पक्षमा लागेर राज्य कोषमा घाटा लगाउन खोजेको मत तल्लो तहसम्म निर्माण भइसकेको छ।
सरकारले यो समस्याको दीर्घकालीन समाधानको प्रयास गर्नुको साटो कुलमानले काटेको लाइन जोडाउन मात्रै करबल गर्दा माहौल कुलमानकै पक्षमा गइरहेको छ।
विद्युत् बक्यौता विवाद ओलीको प्रधानमन्त्रीकालमा मात्र आएको हैन। यो पुष्पकमल दाहाल प्रचण्डकै पालामा समेत जटिल बनेको विषय हो। प्रधानमन्त्री ओलीले भन्ने लाल आयोग उनै प्रचण्डको प्रधानमन्त्रीकालमा बनेको हो। अहिले कुलमानले त्यो आयोगको निष्कर्षलाई समेत चुनौती दिइरहेका छन्।
यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले कुलमानको नाम नलिई उनलाई चलिरहेका उद्योगहरू पनि बन्द गराउने षड्यन्त्रमा लागेको अनि औद्योगिक वातावरण बिगार्नतिर लागेको भन्दै सहानुभूति आफ्नो पक्षमा ल्याउने प्रयास त गरे तर असफल भयो त्यो।
उनले तर्कसङ्गत रूपमा आफूमाथि बढिरहेको शंकाविरुद्ध जागरण ल्याउने तहमा आफ्ना धारणा राख्न सकेनन्। कुलमानलाई पनि विपक्षीको कित्तामा राखेर गाली मात्र गरे।
यस्तो गालीले न उनको पक्षमा तल्लो तहसम्म जागरण ल्याउन सघाउँछ न त प्राधिकरण नेतृत्वसँग बढ्दो दुरी र विवादकै समाधान गर्न सहयोग पूर्याउँछ। यसले पनि एमालेको जागरण सभा अनि प्रधानमन्त्री ओलीलाई निकै कमजोर देखायो शुक्रवारको सभाले।
एमालेले यसलाई शक्ति प्रदर्शन सभाको रूपमा लिएको थियो। पार्टीका नेताहरूले त्यही रूपमा तयारी अनि प्रचार प्रसार पनि गरेका थिए।
तर दरबारमार्गमा देखिएको शक्ती निरन्तर रहने हो भने आगामी निर्वाचनमा पार्टीको पक्षमा बहुमत आउँछ कि जमानत जोगाउन मुस्किल पर्छ ? एमालेका नेताहरूले पक्कै निष्कर्ष निकाले होलान्।
मंसिर ७, २०८१ शुक्रबार २३:३०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।