कांग्रेसको मेयर र एमालेको उपमेयरको विवादले नगरसभा भएन, शिक्षक र कर्मचारीले तलबहीन
जनकपुर : धनुषाको नगराइन नगरपालिकामा मेयर र उपमेयरको विवादले नगर सभा नहुँदा शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन्। स्थानीय तहको निर्वाचनमा नगरपालिकामा मेयरमा कांग्रेसका विजय यादव र उपमेयरमा एमालेकी राधा देवीले जितेकी थिइन्।
मेयर नगरसभा गर्न चाहने तर उपमेयर नमान्ने गर्दा नगरपालिकाको सबै आर्थिक कारोबार ठप्प भएको छ। विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी र शिक्षकले चार महिनादेखि तलब पाएका छैनन्। शिक्षकहरू तलब माग्दै आन्दोलनमा उत्रिएका छन्। तर समस्या समाधान गर्न कसैले पहल गरेको छैन।
विवादका कारण २०८१-८२ को नगरसभासमेत हुन सकेको छैन। नगरप्रमुख यादवले नगरसभाबाट नीति, कार्यक्रम र बजेट नै पारित नभएकाले तलब खुवाउन नसकिएको बताए।
उपप्रमुख राधादेवीले स्थानीय सरकार ऐन सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय सरकार २०७४ लागू नभएसम्म नगरसभा हुन नदिने भन्दै विरोध जनाएपछि सभा बस्न सकेको छैन।
उनले आफ्नो माग सम्बोधन हुने अवस्थामा मात्रै नगरसभालगायतका काम अगाडि बढ्ने अडान दोहोर्याइन्।आन्दोलनका कारण अहिले नगरपालिकाको मुख्यद्वारमा ताला लगाइएको छ। शिक्षकहरू आन्दोलित छन्।
पटकपटक ताकेता गर्दा पनि तलब सुविधा नपाएपछि बाध्य भएर दैनिक कामकाज छाडेर आन्दोलनमा उत्रिनुपरेको राजेश्वर निधि माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमकुमार निधिले बताए।
उनका अनुसार साउनदेखि नै त्यहाँका १६ वटा विद्यालयका शिक्षक तथा कर्मचारी, कार्यालय सहयोगी, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्यकर्मी, विभिन्न वडाका कर्मचारीले तलब पाएका छैनन् ।
दशैँ, तिहार तथा छठ पर्वजस्ता महत्त्वपूर्ण पर्वमा समेत तलब नदिएको र हाल दैनिक गुजारा चलाउन पनि समस्या भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको प्रधानाध्यापक निधिले बताए।
‘भदौमा तलब सुविधाको माग गर्दै त्यहाँका कर्मचारी तथा शिक्षकले नगरप्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रसमेत बुझाएका थियौँ तर हालसम्म पनि त्यसको सुनुवाइ भएन।
पछिल्लो समय दैनिक जीवनयापनका लागि अत्यावश्यक वस्तुको जोहो गर्न पनि समस्या भयो, त्यसैले आन्दोलन गर्नुपरेको छ’, उनले भने।
मंसिर ७, २०८१ शुक्रबार २१:३४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।