जातका कुरा : आजको पुस्ताले आफूलाई 'दलित' भन्नै नरुचाएको देख्दा दिक्क लाग्छ एचबीलाई
निरंकुश पञ्चायतकाल ढालेपछि आएको बहुदलीय व्यवस्थाको रमझम भर्खर-भर्खर सुरु भएको थियो। पञ्चायतले खोसेको अधिकार बहुदलले दिन्छ भन्ने आसमा रुपन्देहीसहित देशभरका दलितहरू मक्खै थिए। त्यसैले त पञ्चायत ढाल्न ज्यानको आहुती दिएर आन्दोलनमा लागेका थिए दलितहरू पनि। तर, उनीहरूले पाए के?
०४८ सालको निर्वाचनले रुपन्देहीलाई झपक्कै छोपेको थियो। नेपाली कांग्रेसका प्रत्याशी बालकृष्ण खाँण चुनावको चर्को तयारीमा थिए। नभन्दै उनले चुनाव जिते पनि। भव्य विजयी र्याली निकालियो। त्यहाँ सहभागीमध्येका एक थिए, सिंहवीर दमाई। उनी बाजा बजाउन गएका थिए।
विजयी र्याली सकियो। त्यसपछि सिंहवीर विजयी र्याली मनाउँदा आफूले बाजा बजाए बापतको ज्याला माग्न गए। तर, उनलाई कुटीकुटी मारिएको बुटवलका एचबी (हर्कबहादुर) रम्तेल सुनाउँछन्। ज्याला माग्न जाँदा सिंहवीरले के भने, थाहा छैन। तर, उनलाई मारियो।
त्यो घटनाले रुपन्देहीका दलितलाई एक ठाउँ ल्यायो। लामो विरोध प्रदर्शन भयो। तीन जना पक्राउ परे। तर, एचबीकाअनुसार पछि कुट्नेहरू भागे वा भनौँ भगाइयो। जातीय उत्थान समितिमा बसेर काम गरिरहेका एचबीलगायतले पटक-पटक विरोध प्रदर्शन गरिरहे।
फेरि पनि केही पार लागेन। परिवारलाई क्षतिपूर्ति दिएर मिलाइयो घटना। कांग्रेसकै सरकार थियो। घटना सामसुम बनाइयो।
अनि एचबीलाई लाग्यो, 'दलितहरूले कुटाई खाएरै मारिनुपर्ने रहेछ, त्यसमा पनि आँखाकै अगाडि दाइ-भाइ मारिरहेकै छन् भने यस विरुद्ध किन नलड्ने! अब निरन्तर दलित मुक्ति आन्दोलनमा लाग्नेछु।'
OOO
मलेसियामा सन् १९६० मा जन्मिएका हुन् एचबी रम्तेल। उनका बुवा ब्रिटिस आर्मी भएकाले उनको जन्म मलेसियामै भयो। एचबीले त्यहीँको निलाबु भन्ने स्कुलमा ४ कक्षासम्म पढे। र, २०२८ मा नेपाल फर्किए। नेपाल फर्किँदा पुर्ख्यौली रुपन्देहीको टिक्लिगढमा आए।
३१ सालतिर, थारु समुदायकी एक महिलाले कुवामा पानी भर्ने बेलामा त्यहीँ छेउमा बसेका एचबीका बुवालाई 'लौ, छोइयो, अलि पर गइदिनुस्' भनेर दुर्व्यवहार गरिन्। त्यो सुनेपछि बुवाले ती महिलालाई कुवामै हुल्न खोजेको तर, गाउँलेले रोकेको एचबिले सम्झिए।
नेपाल फर्किएपछि स्थानीय टिक्लिगढ माविमा भन्ने एकदेखि ७ सम्म पढे। उनको औपचारिक पढाइमा त्यही पूर्णविराम लाग्यो।
अनि पढाइ छाडेर १७ वर्षको उमेरदेखि चित्रकला सिक्न थाले उनले। केही समय रुपन्देहीमा अक्षर लेख्न सिकेपछि त्यतिले पनि नपुगेर उनी भागेर भारतको आसाम गए।
त्यहाँ छँदा उनले विभिन्न व्यक्तिहरूको चित्र बनाउन सिके। त्यसक्रममा उनले ताजमहल, महात्मा गान्धी, जहरलाल नेहरु, बाबा साहेबलगायतका चित्र बनाएर एउटा छुट्टै नाम कमाइसकेका थिए।
झन्डै दुई वर्ष काम गरेपछि उनी फेरि नेपाल फर्किए। ०३८ सालमा रुपन्देही फर्किएर तत्कालीन राजा वीरेन्द्रको तस्बिर बनाउँदा उनको चिनारी झन् उचाइमा पुग्यो।
२०४२ मा बनाएको त्यो नै सबैभन्दा बढीमा बिकेको उनले सम्झिए। त्यसको १५ हजार पाएका थिए। त्यो तस्बिर उनले बुटवल नगर पञ्चायतको अर्डरमा बनाइदिएका थिए।
४० को दशकसम्म हातले चित्र बनाउने काठमाडौँपछि बुटवल नै रहेको एचबी सम्झिन्छन्। अझ त्यो बेला त प्रविधि पनि नभएकाले हातले कोरेर बनाउने चित्रको लागि आफूले मागेजति पारिश्रमिक पाउँथे। तर, क्यामेरा, मोबाइलको विकास भएपछि उचित पारिश्रमिक पाउन छाडेको उनको गुनासो छ।
एचबीले २०६० देखि ७२ सम्म आर्टिस्ट एसोसिएसन रुपन्देहीको अध्यक्ष भएर काम गरे। त्यस अवधिमा पटक पटक उनले अधिकांश दलितहरूलाई कार्यशाला दिए। त्यसक्रममा दलित समुदायको पेसा, भेषभुषा झल्किने थुप्रै चित्रकलाहरू बनाए। आफैँले पनि भगत सर्वजित् विश्वकर्माको तस्बिर बनाएको उनले सम्झिए।
आफ्नो आर्ट यात्राका क्रममा ०४१ तिर, बुटवल ब्लड बैङ्क बनाइदिने दाताको चित्र बनाएको उनको सम्झना छ। त्यो चित्र ब्लड बैङ्क बुटवलमा अझै पनि टाँसिएको छ।
लामो कला जीवनको क्रममा के अनुभूति गरे त एचबिले? 'कला स्वीकार्य छ, जात स्वीकार्य छैन। त्यो भने बाहिरी रूपमा दलित भने पनि भित्री रूपमा चैँ यिनीहरू नभई हुँदैन, भन्ने छ गैर दलितलाई, उनले भने।
OOO
नवलपरासीभित्र अलि भित्र पट्टि दोबिल्ला गाउँ छ। त्यहीँ छेउमा एउटा मन्दिर गाउँ छ। ०४६ आसपासको कुरा हो। स्थानीय चन्द्रबहादुर विश्वकर्मा आफूले बनाएको मूर्ति लिएर त्यो मन्दिर पुगे। सबै काम सकिएपछि जब उनले पूजा गर्न खोजे, उनलाई त्यहीँ बाँधेर मरणासन्न हुनेगरी कुटियो।
त्यो हल्ला चारैतिर फैलियो। एचबीलगायतका दलित अगुवाहरू रुपन्देहीबाट बस नै रिजर्भ गरेर गए। धर्ना दिए। नवलपरासीको सिडिओ कार्यालय घेरिसकेपछि मन्दिरका पुजारी पक्षधरले माफी माग्यो। अनि ती विश्वकर्मालाई छाडिदियो।
त्यसबेला रुपन्देहीमा दलित आन्दोलनको स्वर्णिम समय थियो। दलितहरू एकीकृत थिए। कहिँकतै दलितहरूलाई समस्या पर्दा झुरुप्प भइहाल्थे। मिलेर आन्दोलन अघि बढाएका थिए।
यही मेसोमा एचबी पनि आफ्नो पेसासँगै स्याङ्जाको दूध काण्ड, जगत्रदेवी मन्दिरको प्रवेश अभियानलगायतका दलित आन्दोलनमा सहभागी भए।
OOO
०४२ सालमा पाल्पा विवाह गरेपछि उनी कम्युनिस्ट पार्टीमा लागे। कारण थियो, उनकी श्रीमती कम्युनिस्ट हुनु। ०५९ मा भएको स्थानीय तह निर्वाचनमा उनी एमालेबाट तत्कालीन टिक्लिगढ गाविस ८ नम्बर वडा अध्यक्ष नै निर्वाचित भए। त्यसपछि वडाको तर्फबाट जिविसको सदस्यसमेत रहेर पाँच वर्ष काम गरे।
यसक्रममा उनको आर्ट पेसा अघि बढिरहेकै थियो। पार्टीले गरेको निरन्तर आग्रहपछि उनले ५४ को निर्वाचन पनि लडे। त्यसपटक पनि अत्यधिक मत ल्याएर त्यही वडाको अध्यक्षमा निर्वाचित भएको एचबी सम्झिन्छन्।
पार्टीको राजनीति ०४९ मा गाउँ कमिटीबाट सुरु भएर इलाका कमिटी, जिल्ला कमिटीहुँदै प्रदेश कमिटी सल्लाहकारसम्म आइपुगेको छ।
OOO
'४८ र ५४ सालमा मैले अत्यधिक मत ल्याएर चुनाव जितेँ। तर, ऐले फेरि उठे भने म जित्दिनँ। किनभने त्यो बेला म कम्युनिस्ट भनेर चुनाव जितेको थिएँ, रम्तेल भएर हैन। अहिले कम्युनिस्टहरू स्खलित भइसके अनि जातीय राजनीति पनि यतिसम्म बढ्यो कि दलितलाई कसैले भोट हाल्दैन, अब दलितले कसरी जित्नु चुनाव?', एचबीले अनुमान गरे।
कम्युनिस्टहरू स्खलित भए भन्नू त ठिकै होला, तर जातीय राजनीति बढ्यो भन्नुको मतलब के हो? एचबीको बुझाई छुट्टै छ। अहिले उत्पीडित समुदायले अधिकार माग्न थालेका छन्, त्यो ठिकै छ, सकारात्मक पनि छ।
तर, समस्या कहाँ भने सबैले आ-आफ्नै लागि मागिरहेका छन्। एकरूपता पटक्कै छैन। एकले अर्कालाई विश्वास गर्नै छाडे। त्यो भनेको, एउटा दलितलाई अर्को जनजातिले मत हाल्ने स्थिति छैन, एचबीलाई यस्तै लाग्छ।
एचबीकै शब्दमा, 'सत्तामा जानेहरू, जो गए आफ्नो जातको हितमा काम गर्छन्। ब्राह्मणहरू उहिल्यैदेखि सत्तामा छन्। पछिल्लो समय जनजातिसम्म पनि पुग्न थाले। तर, दलितहरू पुगेकै छैनन्। दलितहरू आज चुनाव जित्न नसकेका अनि जनजातिहरू चुनाव जित्न सक्ने भएका कारण यही हो।'
OOO
०७४ सालको निर्वाचनपछि एचबी तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य भएर काम गरे। त्यसअघि नगरपालिकाले दलितका लागि एक रुपैयाँ बजेट नछुट्याइरहेको अवस्थामा ७४ पछि प्रत्येक वर्ष पाँच लाख बढी बजेट विनियोजन गराए।
त्यो पैसाले विश्वकर्मा समुदायको आरन पेसा, परियारहरूको सिलाइकटाईलगायतका दलित सीपहरूलाई आधुनिकीकरण गराए। प्रत्येक सार्वजनिक स्थलहरूमा विभेद विरुद्धका होर्डिङ बोर्डहरू टाँसेको उनले सुनाए।
दलित भवन बनाइयो। पञ्चेबाजाको संरक्षण गर्ने पनि उनकै मागमा अघि बढेको योजना थियो। त्यो भन्दा पनि महत्त्वपूर्ण, दलित ऐन जस्तो कार्यविधि बनाएर छाडेको एचबीले बताए।
OOO
'आजको पुस्ताले दलित मुभ्मेन्टलाई यहाँसम्म ल्याइपुर्यायो। केही हदसम्म अधिकार दिलायो। संविधान लेख्यो। अब यसलाई कार्यान्वयन नयाँ पुस्ताले गर्नुपर्यो, एचबीले भने।
तर, आजको नयाँ पुस्ता 'कोठा र कोटा'मै अल्झिएकोमा चिन्तित छन् एचबी। त्यति मात्र हैन, नयाँ पुस्ताले आफूलाई दलित भन्नै हच्किच्याएकोमा अझ बढी चिन्तित देखिए उनी। त्यसका लागि नयाँ पुस्तालाई थप प्रशिक्षित गर्नुपर्ने आवश्यकता देखेका छन् उनले।
मंसिर ७, २०८१ शुक्रबार २१:०६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।