एमालेले शक्ति देखाएको चार व्यक्ति : प्रचण्ड, दुर्गा प्रसाईँ, रवि अनि कुलमान
काठमाडौँ : सरकार सत्ताधारीको अनि सडक प्रतिपक्षीको भन्ने मान्यता तोड्दै सरकारको नेतृत्व गरिरहेको एमाले शुक्रवार आफैँ सडकमा शक्ति प्रदर्शनमा उत्रियो।
अराजकता फैलिएको हो भने कानुन र व्यवहार सुधार गरी नियन्त्रण गर्ने जिम्मेवारीमा रहेको दलकै नेताहरू शक्ति प्रदर्शन भन्दै काठमाडौँको दरबारमार्गमा शक्ति प्रदर्शन सभामा सहभागी भए।
एमालेसँगै शुक्रवार दुर्गा प्रसाईँ अनि सहकारी पीडितको समेत विरोध प्रदर्शन भयो। तीनतिर भएको विरोध प्रदर्शनले काठमाडौँको सवारी आवागमन अस्तव्यस्त भएको थियो।
प्रतिपक्षीमा रहेको दलले सडकमा शक्ति प्रदर्शन गर्दा सरकारविरुद्ध भन्ने देखिन्छ नै। तर सत्ताको नेतृत्व गरेकै दलले सडकमा गरेको शक्ति प्रदर्शन को विरुद्ध त्यो प्रारम्भमा अन्योलमा थियो। तर शुक्रवारको सभामा एमालेका नेताहरूले गरेको सम्बोधनबाट सभा कसलाई शक्ति देखाउन आयोजना गरेको हो भन्ने देखियो।
दुर्गा प्रसाईँ
एमालेले शक्ति देखाउन खोजेको पहिलो व्यक्ति देखिए दुर्गा प्रसाईँ। कुनै समय एमाले अध्यक्ष केपी ओलीका प्रिय पात्र रहेका प्रसाईँ अहिले उनै ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रहरी हिरासतमा छन्।
ओलीले अवैधरुपमा कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी गरेको भन्दै उनले केही कागजपत्र सार्वजनिक गरेका थिए। त्यसको विरुद्धमा तत्काल सुरक्षा संगठन परिचालित भएर उनलाई सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
शुक्रवारको सभामा प्रधानमन्त्री समेत रहेका ओलीले प्रसाईँ लक्षित अभिव्यक्ति दिए। कम्बोडिया केही घण्टामै पुगिने देश रहेको र त्यहाँ कसैले लगानी गरेको हो भने त्यो लुकाउन नसकिने भन्दै आरोपको खण्डन गरे।
प्रसाईँले पक्राउ पर्नु अगाडि नै प्रमाण दिने व्यक्ति पक्राउ परिसकेको र अब मार्न सक्ने दाबी गरेका थिए।
सभामा उनले प्रश्न गरे ‘ कहाँबाट आयो प्रमाण? प्रमाण दिने पक्राउ परिसक्यो रे। को पक्राउ पर्यो। अब मार्छन् रे। कसलाई मार्छन्।’
उनले प्रसाईँलाई लक्षित गर्दै बैंकबाट ऋण लिएपछि तिर्नु पर्दैन भन्दै हिँडेको, अर्थतन्त्र ध्वस्त बनाउन खोजेको र ब्यवसायीहरुलाई लखेट्ने काम भएको बताएका थिए।
प्रसाईँविरुद्ध अभिव्यक्ति दिएको भन्दै पुण्य प्रसाईँमाथि साङ्घातिक आक्रमण भएको थियो। सभामा ओलीले यो प्रसङ्ग पनि छाडेनन्।
गाली गलौच गर्ने, मुख छाड्ने अनि अराजकता फैलाउने भन्दै उनले भने ‘कसैले आफ्ना विरुद्ध बोलेको छ भने राती आक्रमण गरेर हत्या प्रयास गर्ने काम भएको, ट्रकभित्र मान्छे राखेर बाहिरबाट आगो लगाउने काम भएको छ।’
माओवादी केन्द्र
एमालेले आफ्नो शक्ति देखाउन खोजेको दोस्रो पक्ष देखियो प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र। पाँच महिना अगाडिसम्म एमाले र माओवादी सहकार्यमा थिए।
एकाएक एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएपछि माओवादी सत्ताधारीबाट प्रमुख प्रतिपक्षी दलमा ओर्लियो। लगत्तै माओवादीका नेताहरूले सरकार अझ विशेष एमालेका नेताहरू लक्षित गरेर यो सरकार भ्रष्टहरूको रहेको, कमिसनखोरहरुको रहेको र भ्रष्टाचार गर्न नयाँ गठबन्धन बनेको भन्दै आक्षेपहरू लगाइरहेको छ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शुक्रवारको सभामा कुनै कमिशनखोर गर्न, भ्रष्टाचार गर्न सरकारमा नगएको भन्दै सरकारी निकायमा आफ्नालाई भर्ना गरेर अकुत सम्पत्ति कमाउनेहरूले नै यस्तो दाबी गरिरहेको तर्क गरेका थिए।
उनले तथ्य र प्रमाणका आधारमा एमालेसँग बहस गर्न आउनु भन्दै उनले आफन्तको नाममा समेत सम्पत्ति राखेर करोडपति कसले बनाएको भन्दै माओवादी केन्द्रका नेता लक्षित गरे।
विद्ध्युतको बक्यौता नउठाउने तर उद्ध्योगीको उद्ध्योगको लाइन काटेर अराजकता बढाएको उनले दाबी गरे। विद्युत् लाइन काटेर देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको र उद्योग बन्द गराउने षड्यन्त्र भइरहेको उनले दाबी गरे।
मंसिर १७ बाट ओली प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जाँदैछन्। पहिलो भ्रमणमा भारत नगएर उनी चीन भ्रमणमा जाँदा सरकार ढल्ने आसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुन ३२ नम्बरको जादुई अङ्कको चर्चामा केन्द्रित हुन थालेका छन्।
सभामा उनले देश अधोगतितिर लागेकाले विकासका खातिर प्रतिस्पर्धा त्यागेर कांग्रेस र एमालेको नेतृत्वमा सरकार बनेको भन्दै यो सरकार अनि एमालेलाई कसैले हल्लाउन नसक्ने दाबी समेत गरेका थिए।
रवि लामिछाने र रास्वपा
उनको सम्बोधनको तारोमा परे रवि लामिछाने अनि उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी। दुई पटक ओलीकै आग्रहमा रास्वपा सरकारमा सहभागी भएको थियो।
रविलाई पहिलो पटक नै उपप्रधान तथा गृहमन्त्री बनाउन ओलीले नै पहल गरेका थिए। दोस्रो पटक एमालेसहितको सरकार बन्दा पनि सहकारीको रकम अपचलनमा रविको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन नदिन ओली निकै सक्रिय भए।
सत्ताधारी दल बदलियो। काङ्ग्रेस-एमाले मिलेर सरकार बन्यो। विभिन्न सहकारीमा रहेको बचतकर्ताहरूको रकम दुरुपयोगको आरोपमा रवि पक्राउ परेपछि रास्वपाका नेताहरू ओलीप्रति आक्रामक भए।
उनीहरूले राजनीतिक प्रतिशोधको आधारमा रविलाई पक्राउ गरेको दाबी गर्न छाडेका छैनन्।
सभामा ओलीले भने ‘आफैँ सहकारी ठग्ने अनि अर्कालाई गाली गर्ने?’
उनले कसैको अनुहार हेरेर सरकारले व्यवहार नगर्ने भन्दै कानुनविपरित काम गर्ने कसैलाई पनि एमाले अनि वर्तमान सरकारले नछाड्ने दाबी गरे।
अहिले रास्वपा लगायतका दलको गतिविधिलाई लोकप्रियतावाद भनेर चर्चा र विश्लेषण हुने गरेको छ। ओलीले भने यसलाई लोकप्रियतावाद नभई ढाँटवाद चलिरहेको बताए।
‘मान्छेलाई गाली गरेर, हाहा गरेर हाँस्ने काम लोकप्रियतावाद हैन ढाँटवाद हो’ उनले भने।
उनले सरकार आफैँ पनि कानुनमा बसेर चल्ने र अरू पनि कानुनमा बसेर चल्नुपर्ने भन्दै सरकारले कसैसँग सेटिङ नगर्ने र कुनै पनि निर्दोष नफस्ने तथा कुनै पनि दोषी नउम्कने दाबी गरे।
कुलमान घिसिङ
ओलीको सम्बोधनको आधारमा एमालेले आफ्नो शक्ति देखाउन चाहेको चौथो व्यक्ति देखिए नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ।
डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादमा सरकार र प्राधिकरण पटक-पटक आमनेसामने भएका छन्। बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काट्ने अनि सरकार जोड्न लगाउने क्रम चली नै रहेको छ।
विद्युत् उपभोग गरेर पनि पैसा नतिरेका उद्योगीको पक्षमा सरकार लागेको भनेर आलोचना भइरहेको छ।
सभामा ओलीले धेरै उद्योगहरू बन्द भएर अहिले केही सीमित चलिरहेको तर तिनीहरूको लाइन पनि काटेर बन्द गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका थिए।
लाल आयोगदेखिका प्रतिवेदनहरू रहेको भन्दै उनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादलाई कुलमानले माओवादीसँग मिलेर सरकारलाई असफल बनाउन चाहेको सङ्केत गरेका थिए।
मंसिर ७, २०८१ शुक्रबार १६:०९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।