पाकिस्तानमा साम्प्रदायिक हिंसा, ४३ जनाको मृत्यु

पाकिस्तानमा साम्प्रदायिक हिंसा, ४३ जनाको मृत्यु

एजेन्सी : उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हिंसामा सात महिला र तीन बालबालिकासहित ४३ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्।

घटनापछि प्रभावित जिल्लामा कर्फ्यू लगाएर मोबाइल सेवासमेत बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए।

लामो समयदेखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरूबीच झडप भइरहेको छ।

एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने सर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउदै मुख्य शहर पाराचिनारमा स्थानीयले धरना तथा प्रदर्शन गर्दा स्थिति तनावपूर्ण भएको बताए।

माथिल्लो र तल्लो कुर्रम जोड्ने मुख्य सडकमा कर्फ्यू लगाइएको तथा बजार र यातायात बन्द गरिएको अधिकारीले बताए। हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहहरूले निन्दा गरेका छन्।

पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग (एचआरसीपी)ले विज्ञप्ति मार्फत  घटनाले सरकारले नागरिकको सुरक्षा गर्न असफल भएको पुष्टि गरेको छ। यसैगरी हिंसाको चक्रलाई तत्काल रोकी निर्णायक कदम चाल्न माग गरिएको छ।

मंसिर ७, २०८१ शुक्रबार १३:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।