फ्राइडे रिलिज : ‘तेल भिसा’ र ‘अग्निदहन’ हलमा, दोस्रो साता ‘ह्रस्व दीर्घ’को ५७ शो घट्यो

फ्राइडे रिलिज : ‘तेल भिसा’ र ‘अग्निदहन’ हलमा, दोस्रो साता ‘ह्रस्व दीर्घ’को ५७ शो घट्यो

काठमाडौं : शुक्रबारबाट नेपाली बजारमा दुई नेपाली सहित तीन चलचित्र प्रदर्शनमा आएका छन्।

शुक्रबार नयाँ फिल्म रिलिज हुने परम्परालाई निरन्तरता दिँदै आजबाट दुई नेपाली फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ तथा एक अंग्रेजी फिल्म ‘ग्लाडिएटर २’ प्रर्दशनमा आएका हुन्।

नयाँ प्रदर्शनमा आएको दुई नेपाली फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’लाई हलहरुले क्रमशः १२८ र ४१ शो दिएका छन्। त्यसैगरी अंग्रेजी फिल्म ‘ग्लाडिएटर २’ले देशभरबाट ३९ शो पाएको छ।

नयाँ फिल्मले खासै शो नपाउँदा गत हप्ताबाट रिलिज भएको हरिहर अधिकारी र नीता ढुंगाना अभिनित फिल्म ‘ह्रस्व दीर्घ’ पनि ७१ शोमा खुम्चियो। रिलिजको पहिलो दिन यो फिल्मले १२८ शो पाएको थियो।

दोस्रो सातामा आउँदा फिल्मले ५७ शो घटेको छ। यसले फिल्मलाई दर्शकले नरुचाएको पुष्टि हुन्छ नै। हलमा दर्शकको संख्या बढ्दा हल सञ्चालकले शो संख्या आफैँ बढाउने गर्छन्।

त्यसैगरी तिहारको लक्ष्मीपूजादेखि प्रदर्शनमा रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले आज २२१ शो पाएको छ। आजको मितिमा देशका सबैभन्दा धेरै पर्दामा रिलिज भइरहेको फिल्म हो यो।

रिलिजको शुरुका दुई दिन खासै शो नपाएको यो फिल्म हेर्ने दर्शकको ओहिरो लागेपछि चौथो सातामा समेत यसले सबैभन्दा बढी शो पाएको छ।

त्यसैगरी भारतीय चलचित्र ‘भुलभुलैया ३’ले मात्र चार शो पाउँदा फूलपातीदेखि प्रदर्शनमा आएको फिल्म ‘बाह्र गाउँ’ले एक शो मात्र पाएको छ। फूलपातीमै प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ भने हलबाट उत्रिसक्यो।

मंसिर ७, २०८१ शुक्रबार १३:०८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।