इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी : अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले नेतन्याहुलाई गाजामा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप लगाएको छ।

आईसीसीले हमासलाई नष्ट गर्ने आडमा इजरायली सेनाले निर्दोषहरूलाई मारेर मर्न छोडेको विषयमा सहमत जनाउँदै पक्राउ पुर्जी जारी गरेको हो।

यसै मुद्दामा इजरायलका पूर्व रक्षामन्त्री योभ गालान्ट र हमासका पूर्व कमाण्डर मोहम्मद डेफविरुद्ध पनि वारेन्ट जारी गरिएको छ।

यद्यपि इजरायलले भने आईसीसीको आरोपलाई अस्वीकार गर्दै यस्तो निर्णय आईसीसीको क्षेत्राधिकारमा नआउने बताएको छ।

इजरायलका प्रमुख विपक्षी नेता यायर लिपिडले पनि आदेशको निन्दा गर्दै यसलाई आतंकवादको प्रतिफल भनेका छन्। वारेन्टमा नेतान्याहू र गेलान्टबाट हाल कुनै प्रतिक्रिया आएको छैन।

गाजामा इजरायली हमलामा हालसम्म ४४ हजार मानिसको मृत्यु भइसकेको छ।

वारेन्टमा मोहम्मद डेफलाई इजरायलमा अक्टोबर ७ मा सामूहिक हत्या, बलात्कार र मानिसहरूलाई बन्धक बनाएको आरोप लगाइएको छ। तर, इजरायलले जुलाईमा मोहम्मद डेफलाई हमलामा मारेको दाबी गरेको थियो।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी अहिलेसम्म पक्राउ परेका छैनन्।

आईसीसीले पक्राउ पुर्जी जारी गरे पनि उसँग आरोपीहरूलाई पक्राउ गर्ने अधिकार भने छैन। यो अदालत स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका देशहरूमा मात्र उसले आफ्नो अधिकार प्रयोग गर्न सक्छ।

मंसिर ७, २०८१ शुक्रबार ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।