आज काठमाडौंको तीन ठाउँमा प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने
काठमाडौं : शुक्रबार काठमाडौंमा सत्तारुढ दल एमालेसहित अन्य विभिन्न पक्षले प्रदर्शन गर्दैछन्।
सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ। काठमाडाैंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान शुरू हुने जुलुस दरबारमार्ग पुग्नेछ।
दरबारमार्गमा हुने कार्यक्रमलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।
यसका अलावा यही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरूको प्रदर्शन पनि जारी रहनेछ। उनीहरूले माइतीघरमा केन्द्रीत भई प्रदर्शन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
त्यसैगरी दुर्गा प्रसाई समर्थकहरूले पनि शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दैछन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर उनका समर्थकहरुले प्रदर्शन गर्न लागेका हुन्।
काठमाडौं तीन स्थानमा जुलुस र विभिन्न कार्यक्रम हुने भएकाले आज काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनेछ। अत्यावश्यक नपरी सवारी साधन लिएर घरबाहिर ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ।
मंसिर ७, २०८१ शुक्रबार ०७:३८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।