प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेक-लिम्पियाधुराको विषय उठान गर्न नेकपा बहुमतको माग

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेक-लिम्पियाधुराको विषय उठान गर्न नेकपा बहुमतको माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ देखि नवौं महाधिवेशन गर्ने भएको छ। 

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो। 

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिक स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने जानकारी दिए। 

उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तिय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेकोसमेत बास्तोलाले जानकारी दिए। 

अर्को प्रसंगमा महासचिव बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधीन संयुक्त सरकार विकल्प भएको बताए। उनले अहिले देश पराधीन अवस्थामा पुगेको समेत बताए। 

‘देश अहिले पराधीन अवस्थामा गुज्रिरहेको छ, अहिलेको व्यवस्था असफल भइसकेको छ, संविधानले पनि जनताको अधिकारको रक्षा गर्न नसक्ने ठाउँमा पुगेकोले यसलाई भंग गरेर देशलाई स्वाधीन बनाउन सबै राजनीतिक दलको सहभागितामा स्वाधीन संयुक्त सरकार गठन गरिनुपर्छ,’ बास्तोलाले भने। 

यही मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सन् २०१५ मे मा चीन र भारतबीच भएको समझदारीको २८ औं बुँदाबारे कुरा उठाउन बास्तोलाले सुझाव पनि दिए। उक्त बुँदामा चीन र भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो भूमिझैं गरी भएकोले उक्त समझदारीलाई खारेजीको लागि पहल गर्न प्रधानमन्त्रीको बास्तोलाले ध्यानाकर्षणसमेत गराए। 

त्यस्तै, कालापानी, लिम्पियाधुरा-लिपुलेकलगायत नेपाली भूमि तत्काल छोड्नसमेत नेकपा बहुमतले पार्टीले माग गरेको छ। उसले सन् १९५० लगायत सबै असमान सन्धि तथा सम्झौता खारेज गर्न माग गरेको छ।  

मंसिर ६, २०८१ बिहीबार २२:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।