वैद्यखानाका निर्देशक डा. केसीलाई टोयोटाको हाइलक्स गाडी मन परेन, नियम मिचेर लगे विभागको स्करपियो जिप

वैद्यखानाका निर्देशक डा. केसीलाई टोयोटाको हाइलक्स गाडी मन परेन, नियम मिचेर लगे विभागको स्करपियो जिप
डा केसीले कानुन अनुसार पाउने हाइलक्स गाडीको नमनुना अनि उनले अहिले अबैध रुपमा प्रयोग गरिरहेको जिप।

काठमाडौँ : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकबाट हटाएको १२ दिन बितिसक्दा समेत डा. प्रदीप केसीले विभागको गाडी बुझाएका छैनन्।

मन्त्रीस्तरिय निर्णयबाट उनलाई विभागको नेतृत्वबाट वैद्यखानामाको मात्र जिम्मा दिइयो। विभागको महानिर्देश भएपछि उनले सुविधामा उनले ‘बागमती–बी एए ७५८७’ नम्बर प्लेटको स्करपियो जिप पाएका थिए।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उनलाई विभागको महानिर्देशकबाट हटाएर वैद्यखानाको कार्यकारी निर्देशकको जिम्मेवारी दिएपछि डा. केसी विभागमा बरबुझारथ गरी  वैद्यखानाको कार्यकारी निर्देशकको रूपमा काममा खटिनुपर्ने हो। डा. केसीले विभागको अन्य सामान बरबुझारथ गरेर विभागबाट रमाना लिइसकेका छन्। तर गाडी भने छाडेका छैनन्।

वैद्यखानामा गाडी नभएको हैन। वैद्यखानामा ‘बा १ झ ८२५०’ नम्बर प्लेटको गाडी छँदै छ। उनले पाएको जिम्मेवारी अनुसार सुविधा अनुसार प्रयोग गर्नुपर्ने यही गाडी हो। तर,  डा. केसीले वैद्यखानाको गाडी प्रयोग नगरी विभगको प्रयोग गरिरहेका छन्।

विभागको महानिर्देशकबाट हटाउनुअघि डा. केसी विभागको महानिर्देशक र वैद्यखानाको कार्यकारी निर्देशक गरेर दुवै जिम्मेवारीमा थिए।

स्वास्थ्य मन्त्री  पौडेलले कात्तिक २३ मा मन्त्रीस्तरिय निर्णय गर्दै. केसीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारीबाट हटाएर सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी मात्रै दिए।

कात्तिक २५ गते डा. श्यामबाबु यादवले विभागको निमित्त महानिर्देशकको जिम्मेवारी पाए। मन्त्रालयले कात्तिक २५ गते नै डा. केसीलाई पत्र दियो। पत्रमा २०७१ कात्तिक २३ को मन्त्रीस्तरिय निर्णय अनुसार खटिएकै निकायबाट तलब भत्ता भुक्तानी हुनेगरी सिंहदरबार वैद्यखाना विकास समिति, अनामनगरको कार्यकारी निर्देशक पदमा कामकाजमा खटाइएको उल्लेख छ।

विभागको गाडी किन नबुझाएको भन्ने जिज्ञासामा डा. केसीले नियम अनुसार नै गाडी लिएको हुनाले गाडी फिर्ता गर्नु नपर्ने तर्क गर्छन्।

उकेराकर्मीसँगको कुराकानीको सुरुवातमा उनले वैद्यखानामा गाडी नभएकाले वैद्यखानाको कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि पनि विभागकै गाडी लिएको दाबी गरेका थिए।

 ‘वैद्यखानामा एउटा १८-१९ वर्ष पुरानो गाडी छ। त्यो आफूले चलाउन मिल्नेजस्तो छैन। पछाडि खालि भएकोवाला छ, त्यो सामान बोक्ने’ उनले भने।

तर, वैद्यखानाका अनुसार सो गाडी कन्डिसनमै छ। तर उनले त्यसको प्रयोग गर्न मानेका छैनन्। उनले पछाडि सामान हालेर हिँड्ने गाडी हाकिमहरूले नचढ्ने तर्क समेत गरे।

‘पछाडि खाली भएको सामान बोक्ने गाडी हो, त्यो लिएर त हाकिमहरू हिँड्दैनन् नि,’डा. केसीले भने,‘भ्यान हो भ्यान।’ उनको तर्कबाटै उनले वैद्यखानाको गाडी मन नपरेपछि नियम विपरीत विभागको गाडी चढिरहेको पुष्टि हुन्छ।

डा केसीका कुतर्क

डा. केसीले सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ अनुसार आफूले विभागबाट वैद्यखानाको मात्रै जिम्मेवारी पाएपछि पनि विभागको गाडी प्रयोग गरेको तर्क गरे। तर, नियममा बैद्यखाना गएकाले विभागको गाडी प्रयोग गर्न मिल्ने व्यवस्था देखिएन। 

सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ को बुँदा नम्बर–३ मा सवारी साधन उपलब्ध गराउने सम्बन्धि व्यवस्था छ। निर्देशिकाको दफा–३ को उपदफा (१) मा ‘सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनहरू उपलब्ध गराउँदा नयाँ वा चालु अवस्थामा रहेको सवारी साधन उपलब्ध गराइने’ उल्लेख छ। नियम अनुसार दिन वैद्यखानामा गाडी छ।

तर डा. केसी निर्देशिकामा जिप वा कार दिनुपर्छ भन्ने उल्लेख भएकाले आफूले विभागमा निवेदन दिएरै स्करपियो जिप लिएको तर्क गरे।

‘वैद्यखानामा जिप पनि छैन। कार पनि छैन,’डा. केसीले भने,‘त्यसकारणले मेरो रमानामा लेख्न लगाएको छु। जो जति गरे पनि एउटा सुविधा लिने हो। मैले वैद्यखानाको केही सुविधा लिएको छैन।’

तर, निर्देशिका हेर्दा डा. केसीको भनाई तर्कसङ्गत देखिँदैन। निर्देशिकाको दफा–३ को उपदफा (२) मा ‘उपदफा (१) बमोजिम नयाँ सवारी साधनहरू उपलब्ध गराउँदा विशिष्ट श्रेणीका पदाधिकारीलाई कार भए कम्तीमा १३ सय सिसी वा जिप भए कम्तीमा दुई हजार सिसी र राप्र प्रथम श्रेणीका पदाधिकारीलाई कार भए कम्तीमा दुई हजार सिसी क्षमताको सवारी साधन उपलब्ध गराउने’ नियम छ।

उनले यही नियम अनुसार नै विभागको गाडी चढेको तर्क गरे। तर, यो नियम अनुसार विभागबाट वैद्यखानाको कार्यकारी निर्देशकको मात्रै जिम्मेवारी पाएका उनले विभागबाट हटिसकेपछि पनि विभागकै गाडी प्रयोग गर्छु भन्नु नियमसंगत देखिँदैन।

वैद्यखानाका कर्मचारीले वैद्यखानामा भएको ‘बा १ झ ८२५०’ नम्बर प्लेटको गाडी पनि टोयोटा कम्पनीको २६ सिसिको हाइलक्स गाडी भएको जानकारी दिए।

निर्देशिकाको दफा–३ को उपदफा (३) मा ‘सवारी साधनको सुविधा पाएका पदाधिकारीले आफूले प्रयोग गरी आएको सवारी साधन अन्यत्र सरुवा भई जाँदा लिएर जानुपर्ने’ व्यवस्था छ। तर, ‘केन्द्रीयस्तरका निकायबाट क्षेत्रीय वा स्थानीय स्तरका क्षेत्र वा स्थानीय निकायबाट केन्द्रीय निकायमा सरुवा हुँदा यो व्यवस्था अनिवार्य रूपमा लागू’ नहुने निर्देशिकामा उल्लेख छ।

निर्देशिकाको दफा–३ को उपदफा (३) मा भएको व्यवस्था हेर्दा डा. केसी विभाग अन्तर्गतका संस्थामा सरुवा भएका हुन्थे भने विभागमा गाडी  उपलब्ध भएको खण्डमा उनले गाडी सुविधा लिन सक्थे।

डा. केसी विभाग अन्तर्गतको कुनै कार्यालयमा जिम्मेवारी पाएर गएका हैनन्। उनलाई त स्वास्थ्य मन्त्रालय अन्तर्गतको अर्को सरकारी संस्था (वैद्यखाना)मा जिम्मेवारी दिएर मन्त्रालयले पठाएको हो।

त्यसैले यो नियम अनुसार विभागबाट वैद्यखानामा कामकाजका लागि पठाइएका डा. केसीले विभागको गाडी प्रयोग गर्न मिल्ने देखिँदैन। विभागबाट हटेपछि डा. केसीले विभागको गाडी बुझाएर वैद्यखाना जानुपर्ने देखिन्छ। तर, उनी त अझै विभागको गाडी बुझाउने पक्षमा नै छैनन्।

निर्देशिकाको दफा–३ को उपदफा (४) मा ‘सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको आवश्यक प्रबन्ध सम्बन्धित निकायले मिलाउनुपर्ने’ व्यवस्था छ। यो नियम हेर्दा समेत वैद्यखानाले नै डा. केसीका लागि गाडी सुविधा मिलाउनुपर्ने देखिन्छ। वैद्यखानाका यस अघिका कार्यकारी निर्देशकले त्यही ‘बा १ झ ८२५०’ नम्बर प्लेटको गाडी प्रयोग गर्ने गरेका थिए।

यसअघि अटेरी गर्दै प्रयोग गरेका थिएतीन वटा गाडी

एक ठाउँबाट अर्को ठाउँमा जिम्मेवारी दिएर पठाएपछि पनि गाडी फिर्ता नगर्ने डा. केसीको बानी नयाँ भने हैन। विवाद नै विवादको भुमरीमा मुछिएका उनले यसअघि पनि लामो समय तीन वटा सरकारी गाडी प्रयोग गरेका थिए।

डा. केसीले यस अघि विभागको महानिर्देशक हुँदा नरदेवी, वैद्यखाना र विभाग गरी तीन वटा गाडी  प्रयोग गर्थे। डा. केसीले पारिवारिक तथा घरायसी प्रयोजनका लागि समेत विशेष गरी नरदेवी र वैद्यखानाको गाडी प्रयोग गरेको विषयमा उकेराले समाचार समेत सम्प्रेषण गरेको थियो।

तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले २०८० कात्तिक दुईमा डा. केसीलाई नरदेवीमा नै दरबन्दी रहने गरी नरदेवी आयुर्वेद चिकित्सालय (नरदेवी आयुर्वेद अस्पताल) को निर्देशकबाट सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकका रूपमा काजमा खटाएपछि पनि उनले नरदेवीको गाडी छोडेका थिएनन्।

डा. केसीलाई वैद्यखाना पठाएपछि मन्त्रालयले टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. श्यामबाबु यादवलाई नरदेवी आयुर्वेद चिकित्सालय (नरदेवी आयुर्वेद अस्पताल) मा निमित्त निर्देशकको रूपमा कामकाज गर्न खटाएको थियो।

त्यो बेला पनि उनले नरदेवीको गाडी फिर्ता नगरी नरदेवी र वैद्यखाना दुवै ठाउँको गाडी प्रयोग गरेका थिए। बस्नेतपछि उपेन्द्र यादव स्वास्थ्य मन्त्री बने। उपेन्द्र यादवपछि स्वास्थ्य मन्त्री बनेर आए, प्रदीप यादव।

नरदेवी आयुर्वेद चिकित्सालयबाट सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको रूपमा कामकाजमा खटिएका डा. केसीलाई गत जेठ २३ गते निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप यादवले वैद्यखानाको समेत कामकाज गर्ने गरी विभागको महानिर्देशक बनाएका थिए।

डा. केसी त्यो बेला नरदेवी हुँदै वैद्यखानाको कामकाजको जिम्मेवारी समेत पाउँदै विभाग पुगे पनि उनलाई गाडी मोह भने कम थिएन।

डा. केसीले नरदेवीबाट हटाइएको सात महिना बितिसक्दा समेत नरदेवी आयुर्वेद चिकित्सालयको ‘बा २ झ ३५१०’, वैद्यखानाको ‘बा १ झ ८२५०’ र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको ‘बागमती बी एए ७५८७’ नम्बर प्लेटका गाडी प्रयोग गरेका थिए।

निक्कै ताकेता गरेपछि मात्रै डा. केसीले नरदेवीबाट हटेको सात महिनापछि गाडी फिर्ता गरेका थिए। त्यो बेला डा. केसीले विद्यालयमा बालबच्चा पुर्याउन र ल्याउनेजस्ता पारिवारिक तथा घरायसी काममा गाडीको प्रयोग गरेको विषयमा उकेराले समाचार सम्प्रेषण गरेको थियो।

डा. केसीको त्यही पुरानो अटेरी बानी अझै गएको देखिएन। अहिले पनि स्वास्थ्य मन्त्री पौडेलले डा. केसीलाई जिम्मेवारीबाट हटाएको १२ दिन बितिसक्दा समेत उनले विभागको गाडी फिर्ता गरेका छैनन्। र, उनी फिर्ता गर्ने पक्षमा पनि देखिएनन्।

सिटी खरिदमा विवादमा विवादित केसी

डा. केसी नरदेवीमा सिटी खरिद लगायत विवादमा मुछिएका चिकित्सक हुन्। सिटी खरिदको विषय अख्तियारको तामेलिमा छ।

उनले निश्चित कम्पनीसँग मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गर्न लगाएर चाहेकै सप्लायर्स कम्पनी (हिमालयन मेडिकल टेक्नोलोजिज प्रालि)लाई कमिसनको खेलमा सिटीको टेन्डर दिएको आरोपको विषयमा यसअघि नै उकेराले समाचार सम्प्रेषण गरिसकेको छ।

नरदेवी अस्पतालले २०८० असार १८ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै दुई लाख ८५ हजार (मूल्य अभिवृद्धि कर बाहेक) अमेरिकी डलर (यूएसडी)मा सिटी स्क्यान मेसिन खरिद गर्ने गरी निओसफ्टको नेपाली सप्लायर्स (हिमालय मेडिकल टेक्नोलोजीज प्रालि)लाई टेन्डर दिएको थियो।

नरदेवी अस्पतालका तत्कालीन निर्देशक डा. केसीले सिटीको सो टेन्डर दिएका थिए। नरदेवीमा ६४ स्लाइसको सिटी स्क्यान मेसिन खरिद भएको थियो।

मंसिर ६, २०८१ बिहीबार २१:३७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।