‘पूर्ण बहादुरको सारङ्गी’ : २१ दिनमा झन्डै ४० करोडको व्यापार

‘पूर्ण बहादुरको सारङ्गी’ : २१ दिनमा झन्डै ४० करोडको व्यापार

काठमाडौं : चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनको २१ दिनमा झन्डै ४० करोड रूपैयाँ नेपाली बक्सअफिसबाट ग्रसकलेक्सन गरेको छ।

वितरण कम्पनी ब्यांकेस इन्टरटेनमेन्टका अनुसार चलचित्रले तीन सातासम्म ३९ करोड ७४ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ। चलचित्रले पछिल्लो सोमबार एक करोड ५० लाख, मंगलबार एक करोड १६ लाख र बुधबार एक करोड १२ लाख रूपैयाँ ग्रस कमाइ गरेको हो।

एकैदिनमा सर्वाधिक कमाउने नेपाली सिनेमासमेत बन्न सफल भएको ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन, सर्वाधिक शो पाउने फिल्मको रेकर्डसमेत राख्यो। 

‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ-नयाँ रेकर्ड बनाएको छ। विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ। साथै, ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ।

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन्। प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन्।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन्। सेभेन सिस सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्।  

मंसिर ६, २०८१ बिहीबार २१:३२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।