रूसले पहिलोपटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रहार गर्यो

एजेन्सी : रूसले पहिलोपटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) आक्रमण गरेको छ। आईसीबीएमले पाँच हजार ५०० किलोमिटरभन्दा बढीको दायरामा आक्रमण गर्न सक्छ। यो विशेष गरी आणविक हतियार प्रक्षेपण गर्न प्रयोग गरिन्छ।
युक्रेनको वायुसेनाले बिहीबार आक्रमणको पुष्टि गरेको छ। युक्रेनले रूसमा बेलायती र अमेरिकी मिसाइल आक्रमण गरेपछि रूसले जवाफी आक्रमण गरेको हो।
बुधबार युक्रेनले रुसमाथि बेलायती मिसाइल स्टर्म शैडो क्रुजबाट आक्रमण गरेको थियो। त्यसअघि, मंगलबार युक्रेनले रुसमाथि अमेरिकी लामो दुरीको एटीएसीएमएस ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो।
रूसले गत महिना आफ्नो भूमिमा नेटो देशका हतियार प्रयोग भए तेस्रो विश्वयुद्धको सुरुवात मानिने बताएको थियो।
रूस-युक्रेनमा तनाव बढ्दै गएपछि तीन नर्डिक देशले युद्धको चेतावनी दिएका छन्। नर्वे, फिनल्यान्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई युद्धका लागि तयार गर्न निर्देशन दिएका छन्। -बिबिसी
मंसिर ६, २०८१ बिहीबार २१:०१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।