भोलि काठमाडौंमा एमाले र दुर्गा प्रसाईं पक्षको शक्ति प्रदर्शन : को भन्दा को कम !
काठमाडौं : निराशा चिर्ने र उत्साह जगाउने भन्दै सत्तारुढ दल एमालेले भोलि काठमाडौंमा जागरण सभा गर्दैछ। काठमाडौं, ललितपुर, भक्तपुर, विशेष जिल्ला कमिटी, सम्पर्क समन्वय कमिटीको आयोजनामा हुने एमालेको सभा करिब १ लाख कार्यकर्ता, पार्टी समर्थक, शुभेच्छुक उतार्ने लक्ष्य राखिएको छ।
एमालेले आफ्नो बचाउ गर्दै यसलाई जागरण सभा भनेपनि अन्तर्य भने पार्टीको शक्ति प्रदर्शन गर्न लागिएको रूपमा धेरैले अर्थ्याएका छन्। पछिल्लो समय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गौरा पर्व, दशरथ रंगशाला अनि संयुक्त राष्ट्रसंघको ७९औँ अधिवेशनमा भाग लिनजाँदा अमेरिकामासमेत पनि पटक-पटक नाराबाजी भएपछि त्यसको जबाफमा एमालेले भोलिको प्रदर्शन गर्न लागेको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीकाअनुसार भोलिको प्रदर्शन प्रतिपक्ष दल माओवादी, रास्वपा र राप्रपालाई जबाफ दिनको लागि पनि हो। प्रतिपक्षी दलका पछिल्ला गतिविधिले अराजकता र अस्थिरता निम्त्याउन खोजेको भन्दै उनले माओवादी, रास्वपादेखि राजावादीहरूसम्म अराजकतालाई समाजमा प्रश्रय दिन लागि परेकोले ज्ञवालीको तर्क छ।
समग्रमा एमालेले भने मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ काठमाडौंको दरबारमार्गमा सभा गर्न लागेको भनेको छ।
उता, मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले पनि भोलि नै काठमाडौं प्रदर्शन गर्दैछ। प्रसाईंका पक्षधरलाई प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वरमा अनुमति दिएको छ।
त्यसो त प्रसाईं पक्षधरले पहिल्यै घोषणा गरेको कार्यक्रम हो यो। तर, प्रसाईं भने अहिले हिरासतमा छन्। प्रधानमन्त्री ओलीले कम्बोडियामा ३२ अर्ब लगानी गरेको आरोप लगाएपछि साइबर क्राइम मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ।
त्यसअघि प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध ९ जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउने निर्णय गरेको छ। उनीहरूमाथिको आरोप हो, प्रसाईंलाई पक्राउ गर्न जाँदा अवरोध गर्नु। फेरिपनि प्रसाईं पक्षधरले आन्दोलन नरोक्ने जनाएको छ।
प्रसाईं पक्षले भने आफूहरूको आन्दोलनलाई प्रभाव पार्न प्रसाईंसहितका समर्थकलाई पक्राउ गरिएको बताएको छ।
अघिल्लो वर्षको मङ्सिर ७ मा पनि एकातिर एमालेको युवा संगठनको नेतृत्वमा एकातिर आन्दोलन भएको थियो भने अर्कातिर प्रसाईं पक्षधरको आन्दोलन भएको थियो। त्यसबेला युवा संघका नेता महेश बस्नेत र प्रसाईंबीचको टसल सँगै शक्ति प्रदर्शन मुख्य उद्देश्य थियो भने यसपटक हिरासतमै भएपनि प्रसाईंले सिधा एमालेसँग शक्ति प्रदर्शन गर्न खोजेका छन्।
यसैबीच विभिन्न पक्षले शुक्रबार एकैसाथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यसअनुसार सुरक्षाको योजना पनि बनाएको छ।
मंसिर ६, २०८१ बिहीबार १८:५५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।