समीर भट्टको दोस्रो फिल्म बलिदानको सुटिङ बिचैमा रोकियो, पैसा नपाएको भन्दै प्राविधिकले रोके काम
काठमाडौँ : फिल्म ‘बलिदान’को पहिलो सेड्युलमा काम गरेको झन्डै २ महिना बितिसक्दा पनि पैसा नपाएपछि प्राविधिकहरूले सुटिङ नै रोकिदिएका छन्। निर्माण टिमले बुधवार काठमाडौँबाट सुटिङका सामानहरू पूर्वतिर लैजान खोजेका थिए। तर प्राविधिक सङ्घले रोकिदियो।
प्राविधिकहरूले पारिश्रमिक नपाएको गुनासो गरेपछि प्राविधिक सङ्घले निर्माण पक्षसँग छलफल गरेको थियो। दुवै पक्षको छलफलपछि प्राविधिकहरुको पारिश्रमिक स्वरुपको सन्तोष सेनले चेक दिएका थिए।
तर चेक साटिनेमा प्राविधिक ढुक्क देखिएनन्। निर्माण टिमका एक सदस्यका अनुसार क्यामेरामेनदेखि लाइटमेनसम्मले पारिश्रमिक पाएका छैनन्।
फिल्म निर्माणको पहिलो सेड्युलमा मेकअपमेनदेखि किचनसम्मको पारिश्रमिक दिएको देखिएन। टेक्निसियन र इकुप्मेन्ट समेत गरेर २० लाख हाराहारी पारिश्रमिक दिन बाँकी रहेको खुलेको छ।
फिल्म निर्माण देखि नै सन्तोष लफडामा परिरहेका छन्। फिल्मको छायाङ्कनमा पनि फरक फरक क्यामेरामेनले काम गरेका छन्। सुरुवातमा पुरुषोत्तम प्रधानले फिल्म खिचेका थिए। उनैको समयमा फिल्मको टिजर खिचिएको थियो।
सेनले फिल्मलाई अब्बल बनाउने भन्दै दक्षिण भारतीय क्यामेरामेन सहितको टिम भित्राएर इटहरीमा रहेको फिल्म सेटमा खिच्न लगाए।
‘बलिदान’लाई दक्षिण भारतका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायांकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टोलीले निर्माण गर्ने भनिएको थियो।
भारतीय क्यामेरामेनको टिमसँग करिब २० दिन हारहारीको खिच्ने सेड्युल थियो। तर उनीहरुबीच एकाएक मनमुटाब भएपछि क्यामेरा लगायतका इकुमेन्ट छाडेर टिम भारत फर्कियो।
उनीहरू इकुमेन्ट छाडेर ३ दिनमा नै भारत फर्किएको थिए। पुरुषोत्तम आफ्नै फिल्म‘पिताम्बार’मा जुटेपछि फिल्म खिच्न सञ्जय लामा पुगे।
उनले १९–२० दिन खिचेपछि सुटिङ सेटका फेरि लफडा पर्यो। सेटमा नै लफडा परेपछि त्यहाँको ठाउँ बलिदान टिमले छोड्नुपर्ने अवस्था सिर्जना भएको थियो। लामो समयसम्म फिल्मको छायाङ्कन हुन नसकेपछि अहिलेसम्म रोकिएको छ।
भदौमा हरितालिका तीजको अवसर पारेर मोरङबाट फिल्मको निर्माण सुरु भएको थियो। छायाङ्कन लगायतको काम आधा मात्र भएको निर्माण टिमका एक सदस्यले उकेरालाई बताए।
फिल्मका प्राविधिकहरूले पैसा नपाउन्जेल फिल्म खिच्न नदिने अड्डी कसेकाले रोकिएको काम कहिले सुरु हुन्छ एकिन देखिँदैन। फिल्म निर्माणबारे कुरा गर्न निर्माता सन्तोष सेनसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन।
सुनसरीको इटहरी, मोरङको कानेपोखरीमा भव्य सेट निर्माण गरेको यो फिल्ममा अभिनेत्री ऋचा शर्मादेखि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, र दिव्य देवलगायतका कलाकारहरू अनुबन्ध भएका छन्। समिर पहिला बलिदानबाटै डेब्यु हुने तयारीमा थिए। पछि उनका बाबु बिराजले १२ गाउँ निर्माण गरेर पहिला सो फिल्म रिलिज गरे।
कथा अनि पटकथा लगायतका पक्षमा फिल्म कमजोर भए पनि एक्सनका कारण दर्शकले रुचाउँदा व्यापारिक रुपमा सफल भयो। फिल्मले २५ करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ।
सन्तोषले यस अगाडि दक्षिण भारतीय फिल्मको शैलीमा प्रेमगीत ३ बनाएका थिए। नेपाल र भारतमा एकै पटक रिलिज भएको फिल्म प्राविधिक रुपमा निकै कमजोर थियो।
आसुसेन फिल्मस् प्रा.ली. र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन्।
मंसिर ६, २०८१ बिहीबार १७:५४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।