पर्यटनमन्त्री पाण्डेको २४ घण्टे अल्टिमेटमपछि नेपाल एयरलाइन्सले अन्तराष्ट्रिय हवाई भाडा घटायो
काठमाडौं : हवाई भाडा अत्यधिक बढेको गुनासो आएपछि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ। निगमले न्यूनतम् २ हजार ५ सयदेखि अधिकतम ५ हजार रूपैयाँसम्म छुट दिन थालेको हो।
निगमले बिहीबार विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो।
त्यसअघि बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडा दर उपलब्ध गराउन निर्देशन दिएका थिए।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रूपैयाँसम्म छुट दिइएको छ।
उक्त छुट जहाजको सिट उपलब्धता अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध हुनेछ। त्यसको लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ।
नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्द भइरहेको छ। जसका कारण तत्कालीन अवस्थामा विभिन्न वायुसेवाहरूको हवाई उडानहरू कटौती भएको र त्यहीबेला चाडपर्वसमेत परेकाले हवाई यात्रुको सङ्ख्या वृद्धि भएसँगै उडानहरूको माग बमोजिम आपूर्ति हुन सकेको छैन। त्यसपछि पनि हवाई भाडा अत्यधिक बढेको गुनासोपछि भाडामा छुट दिइएको प्रवक्ता पौडेलले बताए।
पौडेलले भने, ‘निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए कडा कारबाहीका लागि सप्रमाण जानकारी गराउन आग्रह गर्छौं।’
निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ। २१ जना सरकारी कर्मचारीहरूलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको प्रवक्ता पौडेलले बताए।
मंसिर ६, २०८१ बिहीबार १७:५०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।