कांग्रेस-एमालेसहितका नेताहरूको जम्बो टोली किन उड्यो कम्बोडिया?
काठमाडौं : नेपालमा विभिन्न राजनीतिक दलका नेताहरूको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ। नेपाली कांग्रेस, एमाले, राप्रपासहितका दलका नेताहरु बुधबार राति कम्बोडिया गए। नेताहरू कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ।
सामाजिक सञ्जालहरूमा एमाले नेता डा.राजन भट्टराईसहित केही नेता एकाएक कम्बोडियातर्फ लागेको भन्दै धेरैले चासो राखेका छन्। त्यस्तो चासोहरूमा दुर्गा प्रसाईंले उठाएको विषय पनि जोडिएको छ। तर, कम्बोडियामा कार्यक्रम भने अर्कै छ।
चासोपछि एमाले नेता भट्टराईले सामाजिक संजालमार्फत कम्बोडिया यात्राबारे बताएका छन्। उनले आफू पार्टीको स्थायी समितिको सदस्यको हैसियतले कम्बोडियामा हुने आइक्यापको १२ औं अधिवेशनमा भाग लिन त्यसतर्फ गएको लेखेका छन्। उनले कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएकोसमेत उल्लेख गरेका छन्।
‘भ्रमको खेतीमा रमाउनेहरूलाई जानकारी होस्। कम्बोडियामा हुने आइक्यापको १२ औं महाधिवेशनमा भाग लिन नेपालका पाँच भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन्। थप केही भन्नुपर्छ?,’ उनले लेखेका छन्।
एमालेबाट पूर्वमन्त्री रघुबीर महासेठ पनि कम्बोडिया पुगेका छन्। कम्बोडियाबाट कांग्रेस नेतृ सुजाता कोइरालाले आफूसहित एमाले नेता भट्टराई र महासेठ कम्बोडिया पुगेको जानकारी दिइन्। उनले फेसबुकमार्फत अन्य केही राजनीतिक दलका नेताहरु पनि कम्बोडिया आउने जानकारी भएको बताइन्।
एसियाका राजनीतिक दलहरूको १२औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आफू कम्बोडिया गएको उनले फेसबुक भिडियोमा भनेकी छन्। कम्बोडियामा हुने कार्यक्रममा संस्कृति, विविधता र शान्तिको विषयमा छलफल हुने तथा सामाजिक संजालका राम्रा र नराम्रा दुबै पक्षमा छलफल हुने उनको भनाई छ।
‘म मेरो मातृभूमिलाई संसारसित जोडेर त्यहाँ मेरा कुरा राख्ने छु’ उनले आफ्नो भिडियो सन्देशमा भनेकी छन्।
कार्यक्रममा सहभागी हुन राप्रपाका नेता उद्दब पौडेलसहित नेता केदारबहादुर अधिकारी कम्बोडिया गएका छन्। यसैगरी कांग्रेस नेता दिब्यमणिराज भण्डारी पनि कम्बोडिया उडे। अन्य नेताहरू आज साँझसम्म कम्बोडिया पुग्ने बताइएको छ।
एमाले नेता भट्टराईका अनुसार माओवादी केन्द्रबाट पूर्वसभामुखसमेत रहेका नेता अग्निप्रसाद सापकोटाको नाम कम्बोडिया कार्यक्रमको विवरणमा छ। माओवादीबाटै गोकर्णप्रसाद भट्ट पनि आगन्तुकको सूचीमा छन्।
यसैगरी एकीकृत समाजवादीबाट डा.शंकरप्रसाद खतिवडा र वीरबहादुर तामाङको नाम छ। जनमत पार्टीका अध्यक्ष सीके राउत र परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम समेत सहभागीको सूचीमा छ। यस्तै, जसपाबाट भरत गुरुङको नाम समावेश छ। उनीहरू केही आज कम्बोडिया पुग्दै छन्।
कम्बोडियामा हुने कार्यक्रमको बिहीबार साँझ उद्घाटन हुने कार्यतालिका छ। उद्घाटनपछि डिनर आयोजना गरिएको छ भने शुक्रबार विभिन्न चार सत्रमा मुख्य छलफल हुनेछ।
कार्यक्रममा भोलिबाट चार वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ। मिडिया फोरममा विश्वमा शान्तिका लागि भएका काम र प्रयासबारे एउटा सत्रमा छलफल हुनेछ।
यस्तै, संस्कृति र विविधताका विषयमा अर्को छलफल हुनेछ भने नेतृत्वका सम्बन्धमा फरक छलफल हुनेछ। फेक न्युज तथा सामाजिक संजालका सकारात्मक र नकारात्मक पक्षका विषयमा अर्को छुट्टै समूहगत छलफल हुनेछ।
कार्यक्रममा भारत र चीनबाट समेत राजनीतिक दलका नेताहरु सहभागी छन्। प्राप्त सूचना अनुसार भारतबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबाट कोही पनि सहभागी भएका छैनन्। अन्य दलबाट भने सहभागी छन्।
एसियाका अन्य मुलुक तथा ल्याटिन अमेरिकाबाटसमेत विभिन्न राजनीतिक दलका नेताहरु कार्यक्रममा सहभागी हुन पुगेका छन्। कांग्रेस नेतृ कोइरालाले कार्यक्रम सकेर २४ नोभेम्बरमा स्वदेश फर्किने तालिका छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरूले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने भ्रमपूर्ण हल्ला फिँजाएका थिए। त्यसपछि लगत्तै नेताहरूको कम्बोडिया भ्रमण हुँदा सामाजिक संजालमा चासो देखिएको थियो। प्रसाईं भने साइबर क्राइम मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। -नेपाल न्यूज बैंक
मंसिर ६, २०८१ बिहीबार १५:००:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।