गृहमन्त्री लेखकलाई प्रश्न ‘मन्त्री हेरफेर गर्ने कुरा छ नि?’
धनगढी : गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्। आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको उनको दाबी छ।
बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जबाफमा गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए।
उनले भने, ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर, अहिलेसम्म त्यस्तो छलफल भएको छैन।’
उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ बर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए।
‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौं, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौं,’ उनले भने।
नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने बिषय सामान्य रहेको उल्लेख गरे।
उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ।’
मंसिर ६, २०८१ बिहीबार १४:२४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।