उपन्यासकार राधा भण्डारीका हिजोको कुरा : आन्दोलनमा प्रहरीले भाटैभाटाले तिघ्रामा हान्यो, गिरिजाले सोध्दा लाजले भन्नै सकिनँ

उपन्यासकार राधा भण्डारीका हिजोको कुरा : आन्दोलनमा प्रहरीले भाटैभाटाले तिघ्रामा हान्यो, गिरिजाले सोध्दा लाजले भन्नै सकिनँ

‘धमिलो प्रकाश’, ‘खुला कैदी’ जस्ता उपन्यासकार हुन् राधादेवी पराजुली भण्डारी। सिन्धुपाल्चोकको बलेफी जन्मिएकी भण्डारीको बाल्यकाल गाउँमै बित्यो। यद्यपि सहज भने भएन। १४ वर्षसम्म अस्वस्थ्य भइरहिन् उनी। बुवाले पढाइमा केन्द्रीत गर्न खोज्थे भने आमा धर्मकर्ममा बढी लगाउन खोज्थिन्।

हजुरबुवाको संघर्ष र सफलताको कथाले उनलाई साहित्य लेखनमा आकर्षित गरेको रहेछ। १९ वर्षमा विवाह गरेकी उनी श्रीमान् सँगै नेपाली कांग्रेसको विभिन्न विभागका रहेर काम गरिन्।

२०४६ र ०६२/६३ को आन्दोलनमा गिरिजा प्रसाद कोइराला सँगसँगै गणतन्त्रका लागि सहभागी भइन् राधादेवी। त्यसयता भने उनी राजनीतिमा सक्रिय भएर लागेकी रहेनछिन्।

पछिल्लो १४ वर्षैदेखि साहित्यलाई नै आफ्नो मुल बाटो बनाएकी उनले उकेराको नियमित स्तम्भ ‘हिजोको कुरा’मा आफ्ना विगतका अनुभव यसरी सुनाइन्।

आमाको छोरीलाई स्कुल पढाउने खासै चाहना थिएन
मेरो जन्म २०२४ मा सिन्धुपाल्चोकको माङ्खा गाविस अहिले बलेफी गाउँपालिकाको चिम्लिङ बेशीमा भयो। बुवाआमाका चार सन्तामध्ये म जेठी छोरी। अरु मेरा भाइहरू हुन्।

घरकी एउटी छोरी भएकोले अनि अस्वस्थ्य भएर पनि होला, बाल्यकालमा घरबाहिरको माहोल मैले देख्नै पाइन। १४ वर्षको हुँदासम्म अस्वस्थ थिएँ म। कुन ज्योतिषीले त ११ वर्षको उमेर कट्दिन भन्नुभएको थियो रे। उमेर बढ्दै जाँदा म निको हुँदै गयो।

स्वास्थ्य समस्याका कारण मैले नियमित पढ्न पाइनँ। स्कुल सरेर पढ्दा मेरो विद्यालय जीवन नै फिरन्तेको जस्तो भयो। बुवाले विद्यालयमा भर्ना गरे पनि जानै सक्दिनथेँ। दुई/चार महिना घर बसेपछि बल्ल स्वस्थ्य हुन्थेँ अनि मात्र जानुपर्थ्यो। त्यसो हुँदा पनि मेरो पढाइ छुट्थ्यो।

त्यतिबेला अहिलेजस्तो नियमित पढ्नुपर्छ भन्ने थिएन। चार कक्षासम्म पढेपछि बिरामी भएको म चार वर्ष त घरमै थलिएँ। एकैपटक आठ कक्षमा भर्ना भएँ। तर फेरि बिरामी भएर छोड्नुपर्यो अनि नौ कक्षमा भर्ना भएँ। पढाइ नियमित र राम्रो नभएपछि एसएलसीमा ब्याक लाग्यो।

उमेर बढ्दै जाँदा स्वास्थ्य पनि सुधार भएकाले मैले पढाइमा बढी ध्यान दिन पाएँ। पढाइको महत्व बुझेँ अनि शिक्षक पनि राम्रो पाएँ। उहाँले मलाई घोकाएर पढाउनुहुन्थ्यो। राम्रोसँग पढाइमा ध्यान दिँदा १९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेँ।

त्यतिबेला आफ्ना आफन्तसँग बोल्ने चलन थिएन
अहिले भन्दा हाँसो लाग्छ, त्यतिबेला आफन्तहरुसँग पनि छोरी मान्छे बोल्दैनथे। त्यतिबेला अहिलेको जस्तो बोल्ने चलन पनि थिएन। साहित्य लेख्ने त परको कुरा। एसएलसीपछि पद्मकन्या क्याम्पसमा आईए पढ्न भर्ना भएँ। तर, बीचमै विवाह भएपछि मेरो पढाइ पुनः रोकियो।

मैले एसएलसी दिने बेलामा हाम्रो आफन्तकै नातेदारले मलाई देख्नुभएको रहेछ। मैले एसएलसी पास नगरुन्जेलसम्म उहाँ बुबा-आमाको घरमा आउने जाने गर्न थाल्नुभो। उहाँ करिब एक वर्षजस्तो हाम्रो घरमा आउने जाने गर्न थाल्नुभयो। मैले एसएलसी दिने बेलामा उहाँको बैनी पनि मेरो साथी हुनुभयो।

घरमा आउ-जाउ गर्न थालेपछि छरछिमेकी, आफन्तले कुरा काट्न थाले। ‘केटो आएर त्यो घरमा बस्छ रे’ भन्ने हल्ला गाउँभरि फैलिन थाल्यो। मेरो बुवा सोझो हुनुहुन्थ्यो।

काठमाडौंमा बसोबास गर्दै आएको केटो। घरमा आउँछ। एउटी छोरी, नजानेको मान्छे भए पनि के-हो के-हो भन्ने हुन्थ्यो। चिनेजानेकै मान्छे। बुबाआमाले मलाई आँखा चिम्लेर बिहे गर्दिनुभएको थियो, त्यो पनि पञ्चेबाजा बजाएर।

४४ सालको भूकम्पले घर पनि भत्कायो, मेरो बिहे पनि त्यतिबेला नै गर्नुपर्ने भयो। कति गाह्रो भयो होला। अहिलेको सम्झँदा अत्यास लाग्छ। त्यतिबेलाको समय निकै कठिन थियो।

घरधन्दाले फुर्सद भए पो लेख्नू!
काठमाडौं आएपछि अंग्रेजी साहित्यका किताबहरू पढ्न थालेँ। अंग्रेजी साहित्यलाई नेपालीमा उल्था गर्दै पढियो त्यसबेला। विशेष गरि जीवनलाई कसरी सहज बनाएर अगाडि लैजान सकिन्छ भन्ने किसिमका पुस्तकहरू अलिक बढी पढियो।

त्यस्ता कितावले मेरो जीवनमा पनि धेरै सहज भयो। त्यो बाहेक मैले साहित्यका कुनै पनि कोर्स अध्ययन गरेको छैन। यो साहित्यका कितावहरूका बारेमा जानकारी भने लिन्थेँ। बिहेपछि मैले पढ्ने वातावरण पनि मिलाउन सकिनँ। दुई छोराछोरी जन्मेपछि गृहस्थीमै बित्यो भन्दा पनि हुन्छ।

तर साहित्य लेखनमा चासो भने थियो। कहिलेकाँही लेखिन्थ्यो। पूर्ण रुपमै साहित्यमै लागेर लेख्न थालेको भने १४ वर्षजति भयो। त्यसअघि मैले किताब निकाल्छु भन्ने सोचले लेखिनँ। हामी महिलालाई घरधन्दाकै कामले फुर्सद नहुने, लेख्ने पढ्ने अलिक परकै कुरा भयो।

हजुरबुवाको गाथाले फुरेको साहित्य
मेरो हजुरबुवा विसं. १९१३ सालको हुनुहुन्थ्यो। हजुरबुबा हजुरआमा भन्दा ५० वर्ष जेठो। ५० वर्षमा पनि बिहे गरेर ११/१२ जना सन्तान जन्माउनुभयो। त्यहि सन्तानको नातिनी म। उहाँको ८४ वर्षको उमेरमा बित्नुभयो। हजुरबुवा बित्दा म तीन वर्षको थिएँ रे।

हजुरआमा, आमा बुबा र छरछिमेकीहरूले हजुरबुवाको गाथा मलाई सुनाउनुहुन्थ्यो। छ जना मेरा हजुरबुवाहरू सबै जना पण्डित हुनुहुन्थ्यो रे। जेठो हजुरबुवा दरबारकै पण्डित भएर बस्नुभएको रहेछ। उहाँहरूकै इतिहास सुनेपछि म साहित्यमा होमिएको हो।

मेरो हजुरबुवाले गाउँमै कोटी होम लगाउनु भएको रहेछ। कसैले पनि त्यतिबेला कोटीहोम लगाउने आँट गर्दैन थिए रे। त्यो कोटीहोम गाउँमा लगाउँदा आफ्नै दाजुभाइले राजा त्रिभुवनलाई कुरा लगाएका थिए रे। राजाले गाली गर्छन् भन्ने सोचमा रहेका उनलाई राजाले स्याबास दिएपछि म झन् हौसिए।

मेरो हजुरबुवाको त्यो काम गराइ, आँट र जोस ममा पनि प्रवेश गर्यो। ती कुराहरूले मलाई छोएपछि मैले उपन्यासतिर कलम चलाउने मार्गदिशा बन्यो। हाम्रा हजुरबुवाहरू त यतिको आँटिलो हुनुहुँदो रहेछ भनेर म पनि के कम भन्ने भयो। त्यसैले मैले विगतका कुराहरूलाई महिला केन्द्रीत गरेर उपन्यास लेखेको हो। अहिले थप ऊर्जा मिलिरहेको छ।

गिरिजा आन्दोलनमा कुटाइ खाँदा कार्यकर्ताको ख्याल गर्थे
एसएलसी र विवाहपछि म कांग्रेसको विद्यार्थी संगठनमा लागेँ। त्यतिबेला काठमाडौंको कोटेश्वर, नयाँ बानेश्वर, थापा गाउँ लगायत चोक-चोकमा पञ्चायतविरुद्धको आन्दोलन चर्किएको थियो। मेरो पेटमा बज्जा हुर्कँदै थियो। त्यही समयमा म आन्दोलनमा होमिएको थियो।

त्यतिबेलादेखि ठूला राजनीतिक दलका नेताहरूसँग मेरो चिनजान अलिक बाक्लिएको थियो। कति आन्दोलनकारीलाई मैले मेरो घरमा नै लुकाएर बचाएको छु। मेरो श्रीमान् पनि सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको नेतृत्वकर्ताको रूपमा हुनुहुन्थ्यो। त्यसले गर्दा पनि मलाई कांग्रेसप्रति झुकाव भयो।

वि.सं.२०६२/६३ सालको आन्दोलनमा गिरिजा प्रसाद कोइराला लगायत अधिकांशसँगै आँधीबेहरी भएर आन्दोलनमा होमिएको थिए। यतिबेलासम्म मेरा छोराछोरी हुर्किसकेका थिए। सरकारको दमनविरुद्ध सडकमा उत्रियौँ। सुशिल कोइराला दाइ, गिरिजा बाबु आफ्नो कार्यकर्ताको निकै ख्याल गरेको देख्थेँ।

त्यतिबेला गिरिजा प्रसादले आफ्नो कार्यकर्ताको असाध्यै ख्याल गरेको पाएँ। प्रहरीले भाटैभाटाले हानेर महेन्द्र पुलिस क्लबमा प्रहरीले लगेको थियो। मेरो तिघ्रामा प्रहरीको लाठीले नराम्ररी लागेको थियो। त्यतिबेला गिरिजा प्रसादले क-कसलाई के भाको छ भनेर सोध्नुभयो। मैले त लाजले भन्नै सकिनँ।

दुखाइको पीडा सहेरै बसेँ। त्यो मेरो जीवनको कहिल्यै विर्सन नसक्ने क्षण बन्यो। त्यतिबेला बेला हो मैले कुन नेता कस्ता रैछन् भनेर चिन्ने मौका पाएको। अहिले म राजनीतिबाट अलग भएको लामै समय भयो। यत्तिकै ठिक छु।

मंसिर ६, २०८१ बिहीबार १२:५५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।