टोरन्टोको घुम्ती शिविरमा ४०० नेपालीले लिए राहदानी

टोरन्टोको घुम्ती शिविरमा ४०० नेपालीले लिए राहदानी

काठमाडौं : क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट ४०० नेपालीले  राहदानी लिएका छन्।

दुई दिने शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो।

राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली संगठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य सङ्ख्यामा टोरन्टोमा रहेका नेपाली प्रवासीलाई लक्ष्य गरी शिविर सञ्चालन गरेको हो।

उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिअनुसार विगत एक वर्षमा ‘ग्रेटर टोरन्टो एरिया’मा यस्ता दुईवटा शिविर सञ्चालन गरेर प्रवासी नेपालीलाई सेवा दिएको थियो।

ग्रेटर टोरन्टो एरियामा प्रवासी नेपालीका सङ्ख्या अधिक छ। त्यहाँ सञ्चालन भएको यो तेस्रो शिविर हो।

यसअघि दूतावासले एडमन्टन, भ्यानकुभर, ह्यालिफ्याक्स र क्यालगरी शहरमा पनि यस्तै शिविरमार्फत सेवा प्रवाह गरेको थियो।

मंसिर ६, २०८१ बिहीबार ०८:३६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।