एमालेको जागरण सभाका कमाण्डर नै बुधबार कम्बोडिया उडेपछि...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब रुपैयाँ लगानी भएको चर्चाका बीचमा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई बुधबार साँझ कम्बोडिया उडेका छन्।
निराशा चिर्ने र उत्साह जगाउने भन्दै एमालेले मंसिर ७ गते काठमाडौंमा गर्ने जागरण सभाका कमाण्डर समेत रहेका उनी कार्यक्रमको दुई दिन अघि बुधबार साँझ कम्बोडिया उडेका हुन्।
एमालेले मंसिर ७ गतेको जागरण सभाको संयोजकका रूपमा बागमती प्रदेश कमिटीका इन्चार्ज समेत रहेका नेता भट्टराईलाई तोकेको थियो। बुधबार साँझ भट्टराई आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कम्बोडिया प्रस्थान गर्न लागेको बताएका हुन्।
‘क्याम्बोडियामा भोलिदेखि हुने आइसीएपीपीको १२औं अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागि हुनपर्ने भएकोले अहिले साँझ त्यसतर्फ प्रस्थान गर्दैछु’, भट्टराईले भनेका छन्, ‘मेरो मंसिर ७ कार्यक्रमको जिम्मेवारी अनुपस्थितिमा क. कैलाश ढुङ्गेलले सम्हाल्नुहुने जानकारी गराउन चाहन्छु।’
यसैबीच उनले कम्बोडिया आफू मात्र नभएर नेपालका पाँच भन्दा बढी दलका १३ जना प्रतिनिधि गएको बताएका छन्।
उनले थपे, ‘भ्रमको खेतीमा रमाउनेहरूलाई जानकारी होस्। कम्बोडियामा हुने आइक्यापको १२औं महाधिवेशनमा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन्। थप केही भन्नुपर्छ?’
उनी कम्बोडिया जाने भनेपछि सामाजिक सञ्जालमा ओलीको कम्बोडिया टेलिकममा भएको लगानी सेटल गर्न गएको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लगाउँदै आएका थिए।
कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब रुपैयाँ लगानी भएको आरोप लगाएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
अदालतले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। साइबर क्राइमसँगै उनीमाथि संगठित अपराध र अन्य मुद्दा पनि चलाउने प्रहरी तयारी छ।
मंसिर ६, २०८१ बिहीबार ०७:१९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।