स्थानीय तह उपनिर्वाचन : ३१ जनाले उम्मेदवारी फिर्ता लिए, तीन पदमा निर्विरोध निर्वाचित
काठमाडौं : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।
जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयन पत्र दर्ता भएको थियो।
तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भए।
यस्तै, रूकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भए।
उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाली कांग्रेस (बीपी), नेपाली जनता दल र आम जनता पार्टीले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर ६ देखि १३ को राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न सक्नेछन्। मङ्सिर १३ को राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ।
मङ्सिर १६ को बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ।
मंसिर ५, २०८१ बुधबार २१:४५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।