‘पैसा छुँदा पाप लाग्छ’ भन्ने राउटे समुदाय, जब बजारको रक्सी खान थाले अनि निरन्तर घट्न थाल्यो जनसंख्या

‘पैसा छुँदा पाप लाग्छ’ भन्ने राउटे समुदाय, जब बजारको रक्सी खान थाले अनि निरन्तर घट्न थाल्यो जनसंख्या

सुर्खेत : आफूलाई जंगलको राजा भनेर चिनाउने राउटे समुदाय जनसंख्या हरेक वर्ष घटिरहेको छ। अहिले राउटे समुदायमा देशभर ४१ घरधुरी छन्। १ सय ३४ जना मात्र छन् उनीहरू। राउटेसँग काम गरिरहेको गैरसरकारी संस्था सोसेक नेपालका अनुसार २०७५ असारदेखि हालसम्म यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ। मृत्यु हुनेमा अधिकांश वृद्ध र बालबालिका छन्। उनीहरू अहिले सुर्खेतको बराहताल गाउँपालिका-२ गिरीघाटमा बसिरहेका छन्। 

पछिल्लो १० वर्षमा यो समुदायको जनसंख्या २६ प्रतिशतले घटेको छ। २०७१ सालमा तत्कालीन स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति सुर्खेतमार्फत् राउटेहरूको जनगणना गरेको थियो। त्यसबेला सुर्खेतमा बसोबास गरेका राउटेको संख्या १८२ जना थियो। 

राउटेको जनसंख्या निरन्तर घट्नुमा मुख्यगरी उनीहरूका परम्परागत मान्यता र मदिरा सेवन हो। पहिला पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसा भनेपछि मरिहत्ते गर्छन्। महिला, बालबालिकादेखि जेष्ठनागरिकसम्मले बजारको रक्सी खान थालेपछि थप समस्या परेको राउटे मुखिया सुर्यनारायण शाहीले बताए। 

‘बाहिरको लिच्ची भन्ने रक्सी खान थालेपछि धेरै जनाको मृत्यु भयो। टिभि, क्यान्सर र अन्य रोगहरूलेसमेत च्याप्न थाल्यो,’ मुखिया शाहीले भने, ‘त्यसकारण अहिले समुदायका कसैलाई पनि बाहिरको रक्सी खान दिएका छैनौं। जथाभावी बजारमा घुमफिर पनि गर्न दिदैनौं। बरू घरमै बनाएको जाँड साँझमा मात्रै खान्छौं।’ 

आफ्नो समुदायको जनसंख्या घटेकोप्रति उनी निकै चिन्तित छन्। समुदाय जोगाउनका लागि हानिकारक वस्तुको प्रयोगमा बन्देज लगाउन थालिएको उनले बताए। 

अहिलेपनि चिसोमा ओढ्ने, ओछ्याउने लुगा र खाद्यान्नको अभाव रहेको मुखिया शाहीले गुनासो गरे।

पछिल्लो आधुनिकीकरणले राउटेको अस्तित्व नै संकटमा परेको लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले बताइन्।

‘पहिला आफूले बनाएका काठका भाँडाकुँडाहरू अन्नसँग साट्ने उनीहरू अहिले पैसामा बेच्छन्। त्यसले उनीहरू मदिरा र बजारका चिजहरू किन्छन्,’ अध्यक्ष खड्काले भनिन्, ‘महिलाहरूमा पोषण अभाव, रक्सी सेवन र स्वास्थ्य सेवाको पहुँच नहुनाले प्रजनन क्षमतामा असर परेको छ।’

जंगल क्षेत्र घट्दै जाँदा बाँदरलगायतका जनावरहरू नभएपछि उनीहरूको जीवनयापन गर्ने परम्परागत स्रोतहरूमाथि प्रत्यक्ष असर परेको उनले बताइन्। स्वास्थ्य सेवा र पोषण सुधार र उनीहरूको जीवनशैलीसँग मेल खाने दीर्घकालीन संरक्षण कार्यक्रमको व्यवस्था गर्नुपर्ने अध्यक्ष खड्काको भनाई छ।

जंगलमा फिरन्ते जीवन बिताइरहेको राउटे समुदायले पढलेख गर्नु, सिलाएका कपडा लगाउनु, अस्पतालमा उपचार गर्नु जस्ता विषयहरू आफ्नो परम्पराविपरीत मान्छन्। राउटे समुदायमा तीन वटा समूह छन्। जसमा रास्कोटी, कल्याल र शोवंशी छन्। कल्याल र शोवंशीभन्दा रास्कोटी समूहको जनसंख्या झण्डै दोब्बरले बढी भएको अर्का मुखिया दिलबहादुर शाही बताउँछन्। 

उनका अनुसार तीन समूहले आफ्नै समूहभित्र विवाह गर्न मिल्दैन। यी तीनवटै समूहका आ-आफ्ना मुखिया हुन्छन्। 

दैलेखको गुराँस गाउँपालिकाले राउटेको अपनत्व लिएको छ। राउटे परिचयपत्र बनाएर गाउँपालिकामार्फत यो समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ। उनीहरूको मुख्य बसोबास दैलेख, अछाम, जाजरकोट, सुर्खेत र सल्यानमा छ। यी ठाउँहरूमा उनीहरू सिजनअनुसार बस्ती सार्ने गर्छन्।

२०८१ जेठमा राष्ट्रिय मानव अधिकार आयोगले राउटे समुदायको संरक्षण, सुरक्षा र उनीहरूको प्रथासँग सम्बन्धित अभ्यासको निरन्तरताका लागि विशेष कानुनी व्यवस्था गर्न तीन तहका सरकारलाई निर्देशन दिएको थियो। आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई यस्तो निर्देशन पठाएको थियो। 

निर्देशनमा आयोगले राउटे बस्ती स्थानान्तरण सँगसँगै स्थानान्तरण हुने गरी घुम्ती प्रहरी चौकी स्थापना गर्न, राउटे समुदायको सामाजिक, सांस्कृतिक संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा गर्न, राउटे बस्ती स्थानान्तरणसँगै प्रशासन, पञ्जीकरण, खाद्यान्न, राहत, पोषण, स्वास्थ्य लगायतका सेवाहरूका लागि घुम्ती एकीकृत सेवा केन्द्र स्थापना गर्न, राउटे बस्तीमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री-वितरण बन्द गर्न, राउटे, खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न भनेको थियो।

 

मंसिर ५, २०८१ बुधबार २१:२८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।