मंसिर ७ मा प्रदर्शन गर्ने योजनामा थिए दुर्गा प्रसाईंका समर्थक, प्रहरीले पक्राउ गरेर ९ जनालाई मुद्दा लगायो
काठमाडौं : मंगलबार भक्तपुरस्थित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट पक्राउ गरिएका ९ जनालाई प्रहरीले मुद्दा चलाउने भएको छ। प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध ९ जनालाई मुद्दा चलाउने निर्णय गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए।
पक्राउ पर्नेमा देवी सङ्ग्रौला, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदिप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली र रमेश ठकुरी छन्।
उनीहरूलाई दुर्गा प्रसाईंलाई पक्राउ गर्न जाँदा अबरोध पुर्याएको प्रहरीको ठहर छ। त्यसरी अवरोध पुर्याउने २५ जनालाई प्रहरीले त्यसैदिन नियन्त्रणमा लिएको थियो। त्यसमध्ये अरूलाई छाडेर सोधपुछ गरिएका ९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्ने भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनीहरूलाई मुलुकी अपराध संहिता-२०७४ अन्तर्गत अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने छ।
मंसिर ७ मा प्रसाईं नेतृत्वको समूहले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ। सत्तारुढ दल एमालेले पनि मंसिर ७ मै प्रदर्शन गर्न लागेको छ। यसैबीच प्रसाईं पक्षले भने आफूहरूको आन्दोलनलाई प्रभाव पार्न प्रसाईंसहितका समर्थकलाई पक्राउ गरिएको बताएको छ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ अर्ब लगानी गरेको आरोप लगाएपछि मेडिकल व्यवसायी प्रसाईं ४ मा पक्राउ परेका थिए। त्यसपछि प्रसाईंलाई हिरासतमा राखेर साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
मंसिर ५, २०८१ बुधबार २०:४६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।