रास्वपा बैठक : एमालेको प्रदर्शनप्रति असन्तुष्टि, कम्बोडिया प्रकरणमा प्रधानमन्त्री ओलीमाथि छानबिन गर्न माग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको पछिल्लो विवादास्पद विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि बोल्दै कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्री ओलीको कम्बोडिया प्रकरणमा केही व्यक्तिसमेत पक्राउ गरेको भन्दै यसमाथि छानबिन गर्न माग गरे।
गत सोमबार प्रधानमन्त्री ओलीको कम्बोडियास्थित टेलिकममा ३२ अर्ब लगानी रहेको आरोप लगाएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका थिए। त्यसपछि प्रसाईंलाई हिरासतमा राखेर साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
झाले एमालेको मंसिर ७ मा हुने प्रदर्शनप्रति पनि असन्तुष्टि जनाएका छन्।
मंसिर ७ को प्रदर्शनलाई एमालेले आफ्नै पार्टी अध्यक्ष ओलीविरूद्ध प्रदर्शन गर्न लागेको होकी भन्दै कार्यवाहक प्रवक्ता झाले प्रश्न गरे।
उनले भने, ‘सत्ता पक्षले डेलिभर गर्ने काम हो। तर, के भइरहेको छ, उहाँहरूले सडकमा आएर जनप्रदर्शन गर्ने रे प्रधानमन्त्रीको पार्टीले!’
नागरिकको दैनिकी नै प्रभावित हुने गरी सरकारमा रहेको दलले प्रदर्शन गर्नु अनुपयुक्त हुने झाको तर्क छ।
बैठकले दोस्रो चरणको आन्दोलनलाई उपनिर्वाचनको कार्यक्रमसँग जोड्ने निर्णय गरेको छ। त्यसका लागि मंसिर ८ र ९ मा उपनिर्वाचन हुने ठाउँमा कार्यक्रम गरिने र त्यस क्रममा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विषय उठाउने निर्णय भएको छ।
मंसिर ५, २०८१ बुधबार २०:१७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।