नाउपाले उम्मेदवारी फिर्ता लिएपछि जिसस कैलालीको प्रमुखमा कांग्रेसकी भुल निर्विरोध निर्वाचित

नाउपाले उम्मेदवारी फिर्ता लिएपछि जिसस कैलालीको प्रमुखमा कांग्रेसकी भुल निर्विरोध निर्वाचित

सुदूरपश्चिम : जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीका चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्। 

 जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारूले आज उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए। 

जिसस प्रमुखमा निर्वाचित भुल कैलाली गाउँपालिकाको वडा सदस्यमा निर्वाचित हुन्। जिसस प्रमुखका लागि एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले प्रत्यासी उठाएको थिएन।

जिसस प्रमुखको निर्वाचनमा कैलाली जिल्लाका १३ स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख गरी २६ मतदाता रहेका थिए। 

दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित पदमबहादुर कलेलको निधनपछि पद रिक्त थियो। 

सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको बाजुरा जिल्ला स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कञ्चनपुर, भीमदत्त नगरपालिका-६, डोटी पूर्वीचौकी गाउँपालिका-६, दार्चुला दुहुँ गाउँपालिका-५ र बझाङ सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ मा उपनिर्वाचन हुँदैछ।  

मंसिर ४, २०८१ बुधबार १८:५३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।