सहारा सहकारी पीडितले रविसहित १० जनाविरूद्ध चितवनमा पनि जाहेरी दिए, प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ। सहारा चितवन बचत बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा उनीविरूद्ध जाहेरी परेको हो।
रवि र पूर्वडीआईजी छविलाल जोशीसहितका १० जनाविरूद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले पूरक जाहेरी दिएको चितवनका एसपी गौतम मिश्रले बताए। उनका अनुसार जाहेरी परेसँगै प्रहरीले अनुसन्धानसमेत थालेको छ।
गत असोज ८ मा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै प्रहरीले सहारा चितवन बचत बहुउद्देश्यीय सहकारी ठगीको मुद्दा अदालतमा दर्ता गरेको थियो। अब भने पूरक जाहेरीको आधारमा थप अनुसन्धान गरिने एसपी मिश्रले बताए।
सहारा चितवन बचत बहुउद्देश्यीय सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि र संचालक छविलाई सूर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
राज्यले प्रतिशोध साँधेर सभापति रविलाई पक्राउ गरेको भन्दै रास्वपाले भने आन्दोलन गरिरहेको छ।
मंसिर ५, २०८१ बुधबार १८:३५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।