सरकारले गरेका कामको परिणाम एकै महिनामा आउँदैन, समय लाग्छ : गृहमन्त्री
महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै अगाडि बढ्नु पर्ने बताएका छन्।
बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अहिलेको शासन व्यवस्थामा जनताको विश्वास र भरोसा जगाउनु पर्ने भन्दै त्यसका लागि पनि स्थानीय सरकारको महत्वपूर्ण भुमिका हुने बताए।
उनले भने, ‘चुनाव लड्दा हामी आ-आफ्नो पार्टीको झण्डा लिएर जान्छौं। चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ। अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ, त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भुमिका महत्वपूर्ण छ।’
उनले सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुपर्ने भन्दै देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताए।
जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको उनको भनाई छ।
उनले भने, ‘एकै महिनामा परिणाम आउँदैन, सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ। हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौं।’
मंसिर ५, २०८१ बुधबार १७:२६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।