नेपाली व्यवसायीलाई धम्की 'म विश्नोई ग्याङबाट हुँ, हिन्दु धर्म जोगाउन दुर्गा प्रसाईंलाई आर्थिक सहयोग गर्नुस्'
काठमाडौं : भारतका गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको प्रहरीले जनाएको छ। बैंकर र अन्य व्यवसाय गर्नेहरुमध्येका ४ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी गरेका छन्।
भारत र दुबईबाट त्यस्तो फोन आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सीआईबीका एआईजी दीपक थापाले बताए। उनका अनुसार नेपाली व्यवसायीलाई धम्की दिनेहरूबारे अनुसन्धान भइरहेको छ।
सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ।
त्यसरी धम्की दिनेहरूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समेत नाम लिएका छन्। उनीहरूले व्यवसायी प्रसाईंले हिन्दू धर्म जोगाउन लागेको हुनाले आर्थिक सहयोग गर्न भनेका छन्।
‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईंले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस्,’ फोन गर्नेहरूले भनेका छन्।
प्रसाईंमाथि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व भ्रम फैल्याएको आरोपमा साइबर क्राइम मुद्दामा अनुसन्धान जारी छ।
गुन्डा नाइके विश्नोइ अहिले भारतको सबैभन्दा कडा सुरक्षा रहने तिहाड जेलमा छन्। उनीमाथि असुली र हत्याको आरोप छ।
तर, जेलभित्रैबाट उनले आफ्नो समूह परिचालन गर्दै आएका छन्। उनको समूहमा ७ सयभन्दा धेरै जना मानिस रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
उनले पटक पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका छन्।
मंसिर ५, २०८१ बुधबार १७:०७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।