'खेलकुदको ख नबुझ्नेहरू खेलकुदमन्त्री बनेजस्तै, म पनि सञ्चार नबुझी सञ्चारमन्त्री भएँ'

'खेलकुदको ख नबुझ्नेहरू खेलकुदमन्त्री बनेजस्तै, म पनि सञ्चार नबुझी सञ्चारमन्त्री भएँ'

काठमाडौं  : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेपछि र नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा रहेको बताएका छन्। 

बुधबार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले सही पात्र नपाउँदा देश विकास हुन नसकेको भन्दै विषय विज्ञहरूलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताए। 

उनले भने, ‘मन्त्रालय चलाउन यति अनुभव र योग्यता चाहिन्छ भन्ने केही पनि छैन। चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो। खेलकुदको ख नबुझ्नेहरू जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु। वन नबुझेको मान्छेहरू वनमन्त्री भइरहेको हुन्छ। त्यस्तै म पनि त्यहीभित्र पर्छु जस्तो लाग्छ मलाई। म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन। म जे गर्छु, जनताका लागि गर्छु।’

मन्त्री गुरुङले नेपाली समाज नै ढोगी बनिरहेको भन्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताए। 

त्यस्तै, उनले अहिलेसम्म बनेका नीतिहरू सबै परिवर्तन गरेर समाजलाई अगाडि लैजानुपर्ने बताए।

उनले भने, ‘हाम्रो मन्त्रालय अहिलेसम्म राजा महेन्द्रको कानूनमा चलिरहेको रहेछ। १४ सालको ऐन छ, १५ सालको ऐनले चलिरहेको छ, १९ सालको १८ सालको ऐन छ। हुलाक ऐन पनि उहीँ छ। अहिले प्रेस काउन्सिल विधेयक मात्र आएको रहेछ। हामीले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून  र ऐन परिवर्तन गर्नुपर्ने देखिन्छ।’

मन्त्री गुरुङ नयाँ चलचित्र ऐन, २०८१/०८२ भित्र ल्याइसक्ने प्रतिबद्धता जनाए।  

मंसिर ५, २०८१ बुधबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।