महेन्द्र नारायण निधिको जीवनी ‘नेपालका निधी’ सार्वजनिक
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनका हस्तीमध्येका एक महेन्द्रनारायण निधिको जीवनी ‘नेपालका निधि’ लोकार्पण गरेका छन्। बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उनले पुस्तक लोकार्पण गरेका हुन्।
वरिष्ठ पत्रकार किशोर नेपाल लेखेको पुस्तक लोकार्पण गर्दै पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पुस्तक सङग्रहणीय हुने बताएका थिए।
उनले महेन्द्रनारायण निधि बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएका निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताएका थिए।
‘जहानियाँ राणाशासन र एकदलीय पञ्चायत मात्र होइन रुढीवादी, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिजीले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ। राजनीतिक जीवनका अनेकौँ उतारचढावका दिनमा मैले निधिजीलाई अत्यन्त, धैर्यवान्, सरल, सादगी नेताका रूपमा चिन्ने र बुझ्ने मौका पाएको छु’ उनले भने।
पुस्तक लोकार्पण कार्यक्रममा लेखक नेपालसँगै महेन्द्रनारायणका छोरा विमलेन्द्र निधी लगायतकाहरु उपस्थित थिए।
मंसिर ५, २०८१ बुधबार १५:५७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।