कोरोनाले गाउँ लखेटिएपछि कृषिमा होमिएका मेघनाथ
बुटवल : गुल्मीको धुर्कोट गाउँपालिका-६ का स्थानीय हुन् मेघनाथ अर्याल। कुनै बेला रोजगारीका नेपाल छाडेर कोरिया पुगेका उनी नेपाल फर्केपछि बुटवलमै बस्न थाले।
तीन वर्ष कोरिया बसेर बुटवल आएका उनले बुटवलमा २७ वर्ष बिताए। यही बीचमा नेपालमा कोभिड शुरू भयो। धेरै शहरमा बसेका नेपालीहरू गाउँ फर्किए। उनी पनि ०७६ चैत ६ गते गाउँ फर्किए।
लकडाउन खुल्यो। गाउँ फर्किएकाहरू शहरमा झरे। तर, मेघनाथलाई शहरले फेरि कहिल्यै तानेन। परिवारलाई कुरा बुझाएर उनी गाउँमे रहने प्रण गरे।
मिहिनेत, संघर्ष र अठोटलाई आत्मसाथ गरे सफलता नजिक छ भन्ने सोचेका अर्यालले त्यहाँ व्यावसायिक भैँसी पालनमा सम्भावना देखे। गाउँमै फर्म स्थापना गरेर भैँसी पालनमा होमिएका उनले छोटो समयमै आफ्नो पहिचान बदले र सफल कृषकको रूपमा आफूलाई स्थापित गरे।
०७७ सालमा ‘अर्याल पशुपंक्षी फर्म’ शुरू गरेका उनी त्यसपछि गाउँमै बसे। अहिले पनि उनको फर्ममा ३७ भन्दा बढि भैँसी र पाडापाडी छन्। माउ भैँसी मात्र २१ वटा छन्।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास-सिमलटारी सडक खण्डको चौरासी बाट नजिकै उनले गाउँमा पक्की आर्कषक घर बनाएका छन्।
लामो बगालमा पालेका भैँसी धेरैका लागि अध्ययन अवलोकन गर्ने थलो समेत बनेको छ। जिल्ला भित्रका कृषकहरू उनको फर्म हेर्न पुगिरहेका हुन्छन्। अर्याल, भैँसी र पाडापाडीको स्याहार सुसारमा दिन बिताउँछन्। मही पनि आफैँ मोत्छन्।
‘मदानीले मही धुर्काउँदाको त्यो आनन्द शहरमा कहाँ पाउनु। गाउँमै रमाएको छु। यही कर्मले खुसी छु’ उनी भन्छन्।
अहिले उनको फर्मबाट दैनिक ८० लिटर दूध बिक्री गर्छन् उनी। गाउँमै सात जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। उत्पादित दूध तम्घासमा बिक्री गर्छन्।
उनले भैँसी पालक किसान मात्र होइनन्, धान खेती समेत व्यावसायिक रुपमा नै गरेका छन्। यस वर्षको केही धान भित्र्याएका उनले जिल्लामै चार सय मुरी धान उत्पादन गर्ने दाबी गर्छन्।
‘अहिले तीन सय मुरी भित्र्याइसकेँ। अझै एक सय मुरी भित्र्याउन बाँकी छ। एउटै व्यक्तिले यति धेरै धान खेती गरेको जिल्लामै म हुँ जस्तो लाग्छ’, उनले भने।
वार्षिक १८ लाख रुपैयाँमा जग्गा लिजमा लिएर व्यावसायिक कृषि र पशुपालनमा लागेका अर्याल पौरख गरे नेपालमै सम्भावना भएको बताउँछन्।
दक्षिण कोरियाको वैदेशिक रोजगारपछि ३७ वर्षसम्म स-परिवार बुटवलको शहरमा बस्दै आएका उनी गाउँमा आएर व्यावसायिक कृषि र पशुपालनमा लागेपछि गाउँपालिका समेत उनलाई सहयोग गर्दै आएको छ।
गाउँपालिका अध्यक्ष भुपाल पोखरेल पालिकाको तर्फबाट सक्दो सहयोग भइरहेको दाबी गर्छन्। गाउँपालिकाले ५० मुरी भन्दा बढी धान उत्पादन गर्ने कृषकलाई ६७ हजार पुरस्कार दिने घोषणा समेत गरेको छ। यसको हकदार उनै अर्याल भएका छन्।
कृषक अर्याल गाउँमा सम्भावना भए पनि काम गर्ने इच्छाशक्ति नहुँदा धेरै पलायन हुने गरेको बताउँछन्।
‘राज्य नै कमजोर भएपछि पालिकाले केही गर्न सक्दैन। गर्ने आफैँ हो। तर हिम्मत, आँट गर्नुपर्छ। स-साना अप्ठयारोमा पर्दैमा आत्तिनु हुँदैन। यहाँ सफलता नै सफलता छ’, उनी थप्छन्।
पालिकाबाट सक्दो सहयोग भएको भन्दै उनले पालिकाले महिनाको १० हजार दिएर गोठ हेरालु राखिदिने कुरा समेत भएको पालिका अध्यक्षकै अगाडि स्मरण गराए।
शिक्षाका कारण छोराछोरी घरबाट टाढा भए पनि आफ्नो कर्ममा श्रीमतीको ठूलो साथ र सहयोग मिलेको उनी बताउँछन्।
‘गाउँ फर्केपछि बालबच्चाको पढाइमा केही असर पर्यो। बाबु बुटवलमै पढ्छ। छोरी गैँडाकोट बसेर पढ्छिन्। यो कर्ममा सँगै साथमा श्रीमती छिन्’, उनी भन्छन्।
मंसिर ५, २०८१ बुधबार १३:४२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।