गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान

गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान

तम्घास : गुल्मीको धुर्कोट गाउँपालिका-६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन्। स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउएका हुन्। 

एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन्। हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ।

‘हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु। अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ’, अर्यालले भने।

उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका थिए। भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको अर्यालले बताए।

यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उनको योजना छ।

‘पहाडमा सधैँ तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ’, उनले भने, ‘मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो।’

धान खेतीका साथै उहाँले व्यावसायिक भैँसीपालन पनि गरेका छन्। उनीसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन्।

उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरी बिक्री गर्ने र भुस भैँसीको आहारका रूपमा प्रयोग गर्ने योजना बनाइरहेको अर्यालले बताए। धान काटेलगत्तै उनले उक्त जग्गामा मकैखेती, घाँस वा अन्य तरकारी लगाउँछन्।

मंसिर ५, २०८१ बुधबार १२:४३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।