टेनिस खेलाडी राफेल नाडालले लिए सन्यास
एजेन्सी : स्पेनका चर्चित टेनिस खेलाडी राफेल नाडालले सन्यास लिएका छन्। उनलाई क्ले कोर्टको राजाजस्तै मानिन्थ्यो।
२२ ग्रान्डस्लाम विजेता नाडालले मंगलबार डेभिस कपमा आफ्नो अन्तिम खेल खेलेका थिए।
खेलमा ३८ वर्षीय नाडाल नेदरल्याण्ड्सका बोटिक भानसँग लगातार दुई सेटमा ६-४, ६-४ को सेटमा पराजित भएका थिए।
टेनिसबाट सन्यासको घोषणा गर्दै राफेल नाडालले आफ्ना समर्थकहरूलाई भने, ‘मेरो २० वर्षको व्यावसायिक करियरमा तपाईंले मलाई राम्रो समयमा साथ दिनुभयो र खराब समयमा खेलिरहन प्रोत्साहन दिनुभयो।’
नाडालले १४ पटक फ्रेन्च ओपन सिंगल्सको उपाधि जितेका छन्। उनले रोल्यान्ड ग्यारोसमा खेलेका ११६ महत्वपूर्ण खेलमध्ये ११२ जितेका छन्।
आफ्नो सन्यासपछि उनले अगाडि भने, ‘म यस अवसरमा नेदरल्याण्ड्सलाई बधाई दिन चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण स्पेन टोलीलाई धन्यवाद दिन चाहन्छु।’
यति बोल्दै गर्दा उनी निकै भावुक भएका थिए। उनको आँखामा आँशु छचल्किरहेका थिए।
मंसिर ५, २०८१ बुधबार ११:४४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।