एनपीएल टिम परिचय : प्रचारप्रसारमा ढिला निस्किएको सन्दीपको विराटनगर
काठमाडौं : मंसिर १५ गतेदेखि काठमाडौंमा शुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो कम मूल्यमा बिक्री भएको टिम हो विराटनगर किंग्स।
लामो समयदेखि नेपाली खेल क्षेत्रमा सक्रिय पारस लुनियाको नेतृत्वमा रहेको एमडी ड्रिम स्पोर्ट्सले विराटनगरको टिमलाई एक करोड ५१ लाख रूपैयाँमा खरिद गरेको हो। कर्णाली याक्स सबैभन्दा कम एक करोड ११ लाख ७० हजार रुपैयाँमा बिक्री भएको टोली हो।
टिमले मार्की खेलाडीको रूपमा सन्दीप लामिछानेलाई पाउँदा अन्य खेलाडीहरू भने अक्सनबाट किनेको थियो।अक्सनमा लोकेश बम र प्रतिशत जीसी समान १५-१५ लाख रूपैयाँमा विराटनगरले किनेको थियो।
यसका अलावा बसीर अहमदलाई अक्सनबाट नै १० लाखमा खरिद गरेको विराटनगरले राजेश पुलामी मगर, जितेन्द्र कुमार मुखिया, अनिल खरेल र दिपक बोहरालाई समाना पाँच-पाँच लाख रूपैयाँमा खरिद गर्यो।
साथै अक्सनबाटै सुवास भण्डारीलाई दुई लाख ५० हजार तथा नरेन भट्ट र म्रिनल गुरुङलाई समान दुई-दुई लाख रूपैयाँमा टिममा अनुबन्ध गरेको थियो।
डेढ महिना अघि नै आयरल्यान्डका पूर्व खेलाडी केभिन ओब्रियनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको विराटनगरले विदेशी खेलाडीको रूपमा ओमानका आकिब इलियास, न्यूजिल्यान्डका मार्टिन गुप्टिल, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलमलाई अनुबन्ध गरेको छ।
प्रचारप्रसारमा निकै ढिला गरी मात्र शुरु गरेको टिमले मंसिर ४ गते मात्रै एन्थेम गीत रिलिज गर्यो। गीत अहिलेका स्टार गायक कुशल पोखरेलले गाएका छन्। गीतको मुख्य थीम ‘लागला लागला ला’ रहेको छ।
गुडविल एम्बासडरको रूपमा दयाहाङ राईलाई अनुबन्ध गरेको विराटनगरले ‘फेस अफ विराटनगर किंग्स’ भन्दै गायिका रचना रिमाललाई नियुक्त गरेको छ। एनपीएलमा विराटनगरको खेल भएको दिन उनी विराटनगरको जर्सी लगाएर मैदानमा उपस्थित हुनेछिन्।
विराटनगरले पहेँलो र हल्का निलो रङमा एनपीएलको जर्सी छ। टिम विराटनगरको मुख्य प्रायोजन एभरेष्ट बैंककले प्रायोजन गरेको छ। मंसिर ४ गते मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विराटनगरको जर्सी सार्वजनिक गरेका थिए।
‘कोशीको सान, हाम्रो पहिचान’ नाराका साथ टिमले आफ्नो प्रचारलाई तीव्र पारेको छ। साथै कोशीले आफ्नो ह्यासट्याग ‘लेट्सगोकिंग्स’ तय गरेको छ। सामाजिक सञ्जालमा फलोअर्सको कुरा गर्ने हो भने विराटनगर एभरेज स्थानमा छ।
फेसबुकमा विराटनगरलाई ३५ हजारले फलो गरेका छन् भने इन्स्टाग्राममा छ हजारभन्दा बढी समर्थक छन्। टिमको एक्स ह्यान्डल र टिकटकमा भने आधिकारिक खाता हामीले भेट्टाउन सकेनौँ।
एनपीएलका लागि नेपाल क्रिकेट संघ(क्यान)ले सिद्धार्थ बैंकलाई मुख्य प्रायोजकको रूपमा अनुबन्ध गरिसकेको छ भने एनसेल यसको ‘पावर्ड बाइ’ साझेदारको रूपमा अगाडि आइसकेको छ। साथै यसको टिकेटिङ पार्टनरको रूपमा खल्तीसँग क्यानले सम्झौता गरेको छ।
प्रतियोगिताकै लागि भनेर त्रिवि क्रिकेट मैदानलाई स्तरोन्नति गरिएको छ। यसको बाउन्ड्री बढाइएको छ भने दर्शकलाई जोन अनुसार बस्ने व्यवस्था मिलाएर अस्थायी रूपमा खानेपानी र शौचालयको व्यवस्था मिलाएको छ।
यसको अलावा क्यानले बढी मूल्य तिरेर राम्रैसँग खेल हेर्छु भन्ने दर्शकका लागि भीआईपी र भीभीआईपी सिटको समेत व्यवस्था गरेको छ। जसका लागि त्रिवि क्रिकेट मैदानमा अस्थायी प्याराफिट बनाएर त्यहाँ कुर्सीहरू राख्ने क्रम जारी छ।
प्रतियोगिताका सबै खेलहरू भारतीय चर्चित च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने क्यानले जनाएको छ।
एनपीएल टिम परिचय:-
मंसिर ५, २०८१ बुधबार १०:०१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।