स्वीडेन युईएफए नेसन्स लिगको शीर्ष श्रेणीमा प्रमोसन

स्वीडेन युईएफए नेसन्स लिगको शीर्ष श्रेणीमा प्रमोसन

काठमाडौं : स्वीडेन युईएफए नेसन्स लिगको शीर्ष श्रेणीमा प्रमोसन भएको छ।

समूह सीको लिग १ अन्तर्गत मंगलबार राति भएको खेलमा अजरबैजानमाथि ६-० को फराकिलो जीत दर्ता गर्दै १३ अंकका साथ प्रमोसन भएको हो।

स्वीडेनको जितमा डेजान कुलुसेभ्स्की र विक्टर ग्योकरेसको प्रदर्शन उत्कृष्ट रह्यो।

१०औं मिनेटमै डेजान कुलुसेभ्स्कीले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। त्यसपछि, २६औं मिनेटमा विक्टर ग्योकरेसले दोस्रो गोल थपेका थिए।

खेलको ३७औं मिनेटमा ग्योकरेसले व्यक्तिगत दोस्रो गोल गर्दा स्वीडेन ३-० को अग्रतामा पुगेको थियो। पहिलो हाफमा ३ गोल गरेको स्वीडेनले दोस्रो हाफमा अरु ३ गोल थपेको थियो।

५७औं मिनेटमा कुलुसेभ्स्कीले आफ्नो दोस्रो गोल गरे भने लगत्तै १ मिनेटभित्र ग्योकरेसले ह्याट्रिक पूरा गरे। अन्ततः  ७०औं मिनेटमा ग्योकरेसले चौथो गोल थप्दै स्वीडेनको जितलाई शानदार बनाए।

यही समूहमा रहेको स्लोभाकियाले इस्टोनियालाई १-० गोल अन्तरले पराजित गरेको छ। यो नतिजासँगै स्लोभाकिया प्रमोसन प्लेअफमा पुगेको छ भने स्वीडेनसँग पराजित भएको अजरबैजान रेलिगेशन जोनमा पुगेको छ।
 

मंसिर ५, २०८१ बुधबार ०८:०८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।