अबको आन्दोलनमा पार्टीको झण्डा र चुनाव चिह्न नबोकी उपस्थित हुन कार्यकर्तालाई रास्वपाको सर्कुलर
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बसेको केन्द्रीय समिति बैठकबाट दोस्रो चरणको आन्दोलनको मोडालिटी तय गरेको छ ।
उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले आकस्मिक बैठक बोलाएपछि पार्टी केन्द्रीय कार्यालय च:मतिमामा बसेको केन्द्रीय समितिको बैठकले अबको आन्दोलनको प्रकृतिबारे छलफल गरेको कार्यवाहक सहमहामन्त्रीले कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा आन्दोलन मूल समितिको तर्फबाट प्रस्ताव राखिएको थियो। त्यसमा केन्द्रीय सदस्यले धारणा राखेपछि रास्वपाले आन्दोलनका क्रममा नागरिक समाजसहित राष्ट्रियतासँग सरोकार राख्ने व्यक्तिहरूसँग संवाद गर्ने निर्णय गरेको छ।
रास्वपाले आन्दोलनको क्रममा दलको झण्डा, चुनाव चिह्न नबोकेर उपस्थित हुन पनि सर्कुलर जारी पनि गरेको छ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले बुधबार गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा रास्वपाको ऐक्यबद्धता जनाउने निर्णयसमेत गरेको छ।
सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर हिरासतको बसाइ लम्ब्याएको भन्दै रास्वपाले सडक आन्दोलन गरिरहेको छ। आइतबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ।
केन्द्रीय समितिको बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने तय भएको छ।
मंसिर ४, २०८१ मंगलबार २२:०१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।