चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मङ्सिर २८ देखि
काठमाडौं : नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी मङ्सिर २८ र २९ मा हुने भएको छ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै वार्षिक कार्यक्रम अन्तर्गत ‘हेल्थ बियोन्ड हेल्थ’ नामक मुख्य सन्देशसहित सम्मेलन गरिने संघका महासचिव डा.सन्जिव तिवारीले जानकारी दिए।
उनका अनुसार सम्मेलनमा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्शमार्फत सैद्धान्तिक बहस हुनेछ।
यस स्वास्थ्य सम्मेलनका लागि सात विषय तय गरिएका छन्। सम्मेलनमा छलफल हुने विषयहरूमा ‘प्रतिबद्धताबाट कार्यान्वयनसम्मः तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन घोषणापत्रका प्रगति, चुनौती र अनुभवहरू, परिवर्तनकारी स्वास्थ्य प्रणाली र युनिभर्सल हेल्थ कभरेज, अनुसन्धान, अध्ययन र सहकार्यको क्षमता निर्माण, स्वास्थ्य संकट र महामारीका लागि पूर्वतयारी, चिकित्सा शिक्षा सुधार र नवप्रवर्तन, स्वास्थ्यमा सञ्चार माध्यम, जनचेतना र उत्तरदायी पत्रकारिता र संक्रामक रोग, व्यावसायिक र वातावरणीय स्वास्थ्यमा पानी, सरसफाइ र पोषणको प्रभाव रहेका छन्।
सम्मेलनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अन्य मन्त्रालयलगायत विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुन एकीकृत रणनीति बनाउने तयारी गरेको आयोजकले जनाएको छ।
मंसिर ३, २०८१ मंगलबार २१:१०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।